कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजगारीसँगै सिँचाइ सुविधा

मनोज पौडेल

कपिलवस्तु — शारीरिक अपांगता भएका शुद्धोधन गाउँपालिका–३, पिपरहवाका श्रीपति पासी अहिले खुसी छन् । फरक क्षमताका हुँदाहुँदै पनि अहिले ज्याकेट, गम्बुट र पन्जा लगाएर चलनचल्तीभन्दा धेरै ज्याला पाएर रोजगारी पाउँदा घरमा चुलो बल्न सहयोग पुगेको उनले बताए । ‘तीन कट्ठा खेतमा सिँचाइ गर्न पनि पाएको छु,’ उनले भने, ‘अहिले गहुँका बाला झुलेको देख्दा आनन्द मिलेको छ ।’

शुद्धोधन–३ असुरैनाकी नैनमती पासी पनि हेलमेट, ज्याकेट, पन्जा र गम्बुट लगाएर नहर सरसफाइ र मर्मतमा खटिएकी छन् । काममा खटिँदा राम्रो ज्याला पाएको उल्लेख गर्दै भनिन्, ‘सुरक्षित तरिकाले काम गर्न पाउँदा आनन्दित बनेकी छु ।’ आफ्नै खेतमा सिँचाइ पुगेर गहुँबाली सप्रिँदा निकै खुसी मिलेको उनले सुनाइन् । गाउँपालिकाको प्राण मानिने भुतहा बाँधको नहर सरसफाइ र मर्मतसम्भार गरी पानी बग्न थालेपछि कृषक खुसी बनेका हुन् । एकातिर नहर सरसफाइ गर्न रोजगारी र अर्कोतर्फ सिँचाइ सुविधा पाएपछि कृषक दंग छन् । नहरमा बालुवा, प्लास्टिक, फोहोरको थुप्रो, टुटफुट भएर पानी बग्न छाडेको थियो ।

गाउँपालिकाका १ सय कोभिड संक्रमण प्रभावित श्रमिक र मजदुरलाई कोभिड जीविकोपार्जन पुनर्लाभ सहयोग परियोजनामा कामका लागि नगद कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति २० श्रम दिन बराबरको रोजगारी दिइएको हो । भुतहा बाँधदेखि भारतको सीमा जोडिएको हथिहवासम्मको ७ किमि मूल नहर सरसफाइ गरिएको छ । उक्त नहर दुईदेखि तीन मिटर चौडा छ । नन्दनगरदेखि सिसहनियासम्म ३ किमि सहायक नहर पनि सरसफाइ गरिएको छ । मर्मतपछि नहरमा एकनासले पानी बग्न थालेपछि खुसी लागेको कर्महवाका कृषक विश्वम्भर चाईले बताए । ‘१९ बिघा खेतमा गहुँ लगाएको थिएँ,’ उनले भने, ‘सिँचाइ अभावमा बाली सप्रिन सकेको थिएन । अहिले नहरमा पानी बगेको देख्दा सपनाजस्तो लागेको छ ।’

पञ्चालयकालदेखि नै नन्दनगर नजिक शुद्धोधन–१ मा बन्न थालेको भुतहा बाँध भत्किँदै बन्दै झन्डै दुई दशकपछि २०७४ मा आएर सम्पन्न भएको हो । १० करोड रुपैयाँ लागतमा ७ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन बनाइएको बाँध चार वर्ष नपुग्दै जीर्ण बनेको र नहरमा पानी बग्न छाडेको थियो । लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालका अध्यक्ष अतहर कमालले स्थानीयको दैनिकी सहज बन्ने र मर्मत सम्भार दिगो हुने गरी उपभोक्ताबाटै मर्मत सम्भार र व्यवस्थापन गराइएको बताए । कामदारलाई दैनिक ७ सयका दरले ज्याला दिइएको र बैंकमार्फत् भुक्तानी दिइएको जनाए । मजदुरको कामलाई व्यवस्थित गर्न हँसिया, कोदालो र बेल्चा पनि दिइएको थियो । ती सबै सामग्री उनीहरूलाई निःशुल्क प्रदान गरिएको हो । एक अपांगता भएका, ६ महिला र ९४ पुरुष श्रमिक काममा खटिएका थिए ।

प्रकाशित : चैत्र २, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?