कोरियामा कामदारलाई वैकल्पिक बिदा

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका ४० हजारभन्दा बढी नेपालीहरू नयाँ सार्वजानिक बिदाको नियमबाट लाभान्वित हुनेछन्
गोकुल थोकर

सोल, दक्षिण कोरिया — कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ ।

कोरियामा कामदारलाई वैकल्पिक बिदा

यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय गरिसकेको कोरियाली सरकारले यस वर्ष बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार परेमा सोमबार बिदा हुने गरी नियम संशोधन गरेको हो ।

कोरियामा बुद्धजयन्ती अप्रिल वा मे महिनामा पर्छ । संसारभर डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमस पनि कोरियालीहरुको लागि मुख्य चाडको रुपमा रहँदै आएको छ । यस वर्ष बुद्धजयन्ती मे २७ शनिबारमा पर्छ । संशोधित कानुन अनुसार कोरियाली कामदारहरूले मे २९ सोमबार वैकल्पिक बिदा पाउने छन् ।

कोरियाली सरकारले कामदारहरूको लागि पर्याप्त आरामको अधिकार सुनिश्चित गर्न, दैनिक उपभोग बढाउन र घरेलु अर्थतन्त्रमा सुधार गर्न पनि नियम शंसोधन गरिएको जनाएको छ । बुद्धजयन्ती र क्रिसमस कोरियाली कानुन अनुसार नै पर्ने १५ सार्वजनिक बिदाहरूमध्ये पर्छ । अन्य बिदाहरुमा नयाँ वर्षको दिन, सलनाल (कोरियाली नयाँ वर्ष ३ दिन बिदा), मार्च १ आन्दोलन दिवस, बाल दिवस, मेमोरियल डे, छुसक (३ दिन), राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस समावेश छन् ।

यहाँको सरकारले सन् २०१३ मा कोरियाली नयाँ वर्ष सलनाल, छुसक, वा वाल दिवस शनिबार वा आइतबार परे कामदारलाई वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो । त्यस्तै २०२१ मा मार्च १ आन्दोलन दिवस, राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस पनि शनिबार आइतबार परे वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो ।

कोरियाली श्रम कानुन अनुसार कामदारलाई सुविधा र कोरियाली श्रम कानुन भने पाँच जनाभन्दा बढी कामदार भएका कम्पनीमा मात्रै लागू हुन्छ । सार्वजानिक बिदाको नियम पनि मझौला तथा ठूला कम्पनीमा मात्रै लागू हुन्छ । कृषि र पाँच जनाभन्दा थोरै कामदार भएका कम्पनीका कामदारले भने रोजगारदाताले दिएको सुविधा अनुसार बस्नुपर्ने नियम छ ।

सार्वजानिक बिदाको दिन कामदारले काम गरे कोरियाली श्रम नियम अनुसार थप भत्ता सुविधा पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका ४० हजारभन्दा बढी नेपालीहरू नयाँ सार्वजानिक बिदाको नियमबाट लाभान्वित हुनेछन् ।

प्रकाशित : चैत्र १, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?