२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्।

प्रहरीले राईसँग सोधपुछ सुरु गरेको छ। ‘गिरोहका सदस्यसँग उहाँ (राई) को मिलेमतो देखिएपछि पक्राउ पुर्जी लिइएको थियो। उहाँलाई मंगलबार बिहान नियन्त्रणमा लिएका छौं,’अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘सोधपुछ र बयान लिने काम सुरु भइसकेको छ।’  

उक्त गिरोहमा संलग्न भएको आरोप लागेका इन्द्रजितका छोरा निरजलाई पनि प्रहरीले खोजी गरिरहेको छ। निरजविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। नेपालमा लामो समयदेखि आश्रय लिएर बसिरहेका धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वासमा पठाइएको थियो। छुटपुट शरणार्थी नेपालमै छन्। उनीहरूका समस्या समाधानका लागि २०७६ असार २९ गते केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।  

सो कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। तर ठगीमा संलग्न गिरोहले त्यो प्रतिवेदन हात पारी त्यसमा उपसूची थपेर छुटेका र तेस्रो मुलुक जान चाहने शरणार्थी भन्दै नक्कली सूची तयार पारेको थियो। उक्त सूचीमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची, दाङलगायत जिल्लाका ८ सय ७५ जना नेपाली नागरिक राखिएको पाइएको प्रहरी स्रोत बताउँछ।  

गिरोहले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सूचीमा राखेका व्यक्तिबाट जनही १० देखि ५० लाख रूपैयाँसम्म उठाएको र कयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको अनुसन्धानबाट खुलेको छ। पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने कार्यमा सहजीकरण गरेको प्रमाण अनुसन्धानमा भेटिएको दाबी प्रहरीको छ। यस्तै उनका छोरा निरज पैसा उठाउने कार्यमा संलग्न रहेको प्रमाण फेलापरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्। प्रहरीले ठगी गिरोहको नाइकेको भूमिका निर्वाह गरेको आरोपमा केशव दुलालसहित सानु भण्डारी, अशोक पोखरेल, टंक गुरुङ, सन्देश शर्मा र सागर राईलाई यसअघि नै पक्राउ गरिसकेको छ।

दुलाल नेपाली कांग्रेसकी सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए। उनैले गृह मन्त्रालयदेखि राजनीतिक नेतृत्वसम्म मिलाउने र नक्कली सूची तयार पारी रकम असुल्न बाँकीलाई परिचालन गरेको पाइएको प्रहरी स्रोत बताउँछ। दुलालले एमाले सचिव टोपबहादुर रायमाझीसँग पनि समन्वय गरेर सहयोग लिएको पाइएको स्रोतको दाबी छ। गिरोहका सदस्यले रायमाझीका छोरा सन्दीपको नाममा काटेको चेकको प्रतिलिपि पनि प्रहरीले फेलापारेको छ। पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले गृह मन्त्रालयबाट आवश्यक कुरा मिलाउने गरेका थिए। त्यसवापत उनी एक्लैले ५ करोड रूपैयाँभन्दा बढी लिएको प्रहरी अनुन्धानमा खुलेको छ।  

सुरुमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको ब्यहोराको जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। सोही उजुरीमाथि छानबिन गर्ने क्रममा प्रहरीले राजनीतिक नेतृत्वको संरक्षणमै ठगी भएको पाइएको दाबी गरेको छ। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि उजुरी परेको बताइएको छ।

अनुसन्धानकै क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले गृह मन्त्रालयसँग प्रतिवेदन मागेको थियो। मन्त्रालयले उक्त प्रतिवेदन गत चैत २८ गते परिसरलाई उपलब्ध गराइसकेको छ। जसमा ८ सय ७५ नक्कली भुटानी शरणार्थीका रूपमा नेपाली नागरिकको नाम राखिएको भेटिएको प्रहरी स्रोतले बतायो। प्रहरी परिसरले गिरोहका सदस्यमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: २० वैशाख २०८० ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App