+
+
विचार :

युवा ऊर्जा पलायनको डरलाग्दो दृश्य

आफ्नै भविष्य बनाउन यहीं रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा नै ‘कर्मसँगै बर्मा’ जाने बाटो किन रोज्दैछ ? यिनलाई आश जगाउनुपर्ने नेपाली समाजको अगुवा वर्ग कहाँ बरालिएको छ ? यी र यस्ता पेचिला प्रश्न छन् जसको समय छँदै जवाफ नखोज्ने हो भने नेपाली समाजले युवा पलायनको बाटो हुँदै निकट भविष्यमा समाजकै विघटनको यात्रा तय गर्न सक्छ ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८० वैशाख २१ गते १०:०४

ऊर्जाशील युवा शक्तिको विदेश पलायन अहिले नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ । भरपर्दो तथ्याङ्कसहित यकिनै गर्न नसकिए पनि २ करोड ९१ लाख जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी नेपाली युवा श्रमिक देश बाहिर पूर्ण तथा आंशिक रोजगारीमा छन् । त्यसो त सुदूर गाउँघरका विपन्न र सीमान्तकृत समुदायका ऊर्जाशील युवा काम र मामको खोजीमा नेपाल तथा भारतका शहरमा मौसमी बसाइँसराइ गर्ने, पहाडी जनजाति लाहुर जाने र अन्य समुदायका युवाहरू पढाइका साथै रोजगारी र आम्दानीको खोजीमा छिमेकी र नेपालका ठूला शहर पस्ने चलन पुरानै हो । यो चलन अहिलेसम्म चलेकै छ ।

तर श्रम बजारमा हरेक वर्ष आउने ५ लाख हाराहारीका नयाँ ऊर्जाशील श्रमिकले जीवन धान्ने उपाय नेपाली श्रम बजारले दिन नसकेसँगै यस्तो बसाइँसराइ खाडी मुलुक हुँदै विश्वभरि नै फैलिएको छ । पलायनको यस्तो यात्रा सुरु भएको पनि अहिले दुई दशक भन्दा बढी भइसकेको छ ।

पछिल्लो पटक माओवादी युद्धले निकास नदिएसँगै गाउँघरबाट युवाको शहर पलायन सुरु भएको हो । यो यात्रा रोजगारी र आम्दानीको अभावमा घरबार नचलेसँगै थप फस्टाएको छ । सुरु–सुरुमा शहर तथा विदेश पलायन गाउँघर, परिवार र समुदायमा प्रतिष्ठा र गर्वको विषय थियो । तर अहिले यो बहुसंख्यक घरपरिवारको आम्दानीको स्रोत र राज्यका लागि विदेशी मुद्राको मुख्य स्रोत समेत बनेको छ । अहिले यसले नै हाम्रो खानेकुरा र अन्य उपभोग्य वस्तुको आयात थामेको छ ।

यसको परिणाम सकारात्मक मात्र छैन । यो स्वयं परदेशिने युवा र घरपरिवारको दुःख र पीडाको कारक बनेको छ । दुर्घटनामा परेर मरेका लास र ठगीमा परेर फर्केका जिउँदै मरेजस्तो बनेका युवाको कथा बेग्लै छ । ऋणको मिटरब्याजदेखि परदेशिने दिदीबहिनीका कथा–व्यथा झनै कहालीलाग्दा छन् । ‘४० कटेपछि रमाउँला’ भित्र लुकेको सामाजिक मनोविज्ञान झनै पीडादायी छ ।

एक दुई आफ्नै विवेकले, केही बा–आमा र आफन्तको जालझेलको बिंडो थाम्न रमाएका र थप केही करकापमा बा–आमाको बुढेसकालको सहारा बन्न बाध्य भएका तन्नेरी बाहेक सबै पलायनको यात्रामा लामबद्ध छन् । यी केही अपवाद बाहेक हिजोआज नेपाल बस्न चाहने विरलै भेटिन्छन् । घरै छोड्न नसक्ने अशक्त र मौका नपाउनेको कुरा बेग्लै भयो, नत्र कुनै युवाले नेपालमै बसेर केही गर्छु भनेको कमै सुन्न पाइन्छ ।

आफ्नै भविष्य बनाउन यहीं रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा नै ‘कर्मसँगै बर्मा’ जाने बाटो किन रोज्दैछ ? उनीहरूलाई के कुराले तानेको छ या के कुराले धकेल्दैछ  ? यिनले नेपालमा भविष्य किन देख्न सकेका छैनन् ? यिनलाई आश जगाउनुपर्ने नेपाली समाजको अगुवा वर्ग कहाँ बरालिएको छ ? यी र यस्ता पेचिला प्रश्न छन् जसको समय छँदै जवाफ नखोज्ने हो भने नेपाली समाजले युवा पलायनको बाटो हुँदै निकट भविष्यमा समाजकै विघटनको यात्रा तय गर्नेछ भन्न हिच्किचाउनुपर्दैन ।

आम अभिभावकको त कुरै छोडौं, धेरैजसो समाजमा कहलिएका नेता, कर्मचारी, सामाजिक अभियन्ता र उद्यमी अभिभावक समेतले आफ्ना सन्तानलाई मुग्लान पठाएका छन् । अधिकांश यसमा गर्व गर्छन् । सार्वजनिक खपतका लागि वा चुनावमा भोट पाउन आश्वासन र अर्ति दिने कुरा बेग्लै भयो, नत्र कसैले पनि युवालाई ‘नेपालमै बस, तिम्रो र यो समाजको भविष्य राम्रो हुन्छ’ भन्ने आँट अझै गर्न सकेका छैनन् ।

यसरी विदेशिने ऊर्जावान् श्रमशक्तिमा सबै वर्ग, जात लिङ्ग र भूगोलका बासिन्दा छन् । यिनमा लालाबालाका आमा–बादेखि सामाजिक जीवनको पूर्वाद्र्धमा पाइला टेक्दै गरेका पाका मानिससँगै जुँगाको रेखी समेत बसिनसकेका कलिला युवासम्म छन् । यीमध्ये धेरै ग्रामीण युवा किसान नेपालको हराभरा खेतबारी छोडेर रोजगारीका लागि भारत र खाडी मुलुकमा छन् । केही घरानियाँ, पढेलेखेका, अब्बल र सचेत बा–आमाका उत्कृष्ट भनिएका सन्तति भने अध्ययनका लागि भन्दै विकसित भनिने युरोप, अष्ट्रेलिया र अमेरिका पुगेका छन् । यीमध्ये अधिकांश अध्ययनपछि उतैको समृद्धिमा जुटेका छन् । यसरी बाहिरिनेमध्ये, बहुसंख्यक युवा आफ्नै पेट पाल्न र घरपरिवारका लागि बिहान–साँझको चुलो बाल्न घर छोडेका हुन् भन्ने कुरा बिर्सनुहुँदैन ।

बहुसङ्ख्यक किसानीमा रमाएका अधिकांश युवाले नेपालमै कृषि कर्म गर्न छोडेर किन यो पलायनको बाटो रोजे होलान् ? यो प्रश्न जति पेचिलो छ उत्तर भने उत्तिकै सरल । अहिलेको अधिकांश युवा पुस्ताले आफ्ना आमाबाले गरेजस्तो खेतीपाती गरेर आफ्नो भविष्य राम्रो हुने छाँट देखेका छैनन् । एकातिर उसलाई आजको समाज, राजनीति र शिक्षाले कृषि कर्म गरेर रोजगारी र आम्दानीको भरोसा दिलाउन सकेकै छैन भने अर्कोतिर, नेपालमा अन्य भरपर्दो रोजगारी र आम्दानीको क्षेत्रहरू विकसित भएका छैनन् । साथै अहिलेकै अवस्थामा तत्कालै रोजगारी र आम्दानीका क्षेत्र विस्तार हुने आश गर्ने कुनै आधार समेत छैन ।

यसो हुनुमा, खासगरी राजनीतिलाई सुधार्न आफ्नो विवेक र बर्कत लगाउने भन्दा भाडा असुल्ने र कुत खाने बिचौलिया पेशा बनाउने अक्षम जमात जिम्मेवार छ । यो सब देखेका आजका युवाले अहिलेको फोहोरी राजनीतिको विरासत बोक्ने चाहना र आँट दुवै गरेको देखिंदैन । उनीहरूलाई दिशानिर्देश गर्ने राजनीतिक चेत भएका कार्यकर्ता र अभियन्ता पनि पाँच दशकको राजनीतिक स्वतन्त्रताको आन्दोलनका क्रममा देखे–भोगेका मनोमानी र उत्पीडनबाट थकित देखिन्छन् ।

उदाहरणका लागि, राजनीतिको बूढो पुस्ताले नेतृत्व ओगटेको छ । समाज अगुवाइको क्षेत्रमा ऊर्जाशील युवा र विवेकशील महिलाहरूको प्रवेश नै निषेधित गरेको अवस्था छ । अरूको त के कुरा, युवा अधिकारका लागि बनेका संस्थामा समेत बूढो पुस्ताकै वर्चस्व छ । विडम्बना, पुराना तथा नयाँ पार्टीको राजनीतिक नेतृत्व आफूलाई युवाकै दर्जामा राख्ने तर जोशजाँगर, ऊर्जा र होश समेत गुमाएका वृद्धहरूको काँधमा सर्दै कालान्तरसम्म यो ऊर्जावान् युवा पुस्तामा सर्दै नसर्ने जोखिममै छ ।

यसले नेपालको भविष्य सम्हाल्ने बागडोर वास्तविक ऊर्जाशील युवामा आउने छाँट अझै देखिएको छैन । यसो भनिरहँदा, युवालाई उमेर समूहको मात्र अर्थमा हैन, वास्तविक युवा ऊर्जा र परिपक्व जीवन र जगतको चेतको जगमा बुझिनुपर्छ भन्ने यो पंक्तिकारको मान्यता छ ।

हाम्रो समाजमा जसरी अहिले लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ, यसलाई स्वीकार्न युवा पुस्तालाई सकस परेको छ । यिनले गाउँघरदेखि शहरसम्म, कार्यालयदेखि पसलसम्म ठूलाबडाको हैकम र मनोमानीको पीडा भोगेका छन् । हाम्रो जस्तो सामन्ती समाजमा युवाहरू अपहेलित, तिरस्कृत, उपेक्षित र असुरक्षित भएको महसुस गर्छन् । युवतीको अवस्था झनै दयनीय छ ।

यसरी राजनीति र समाजमा देखिएको गतिछाडा व्यवहार र लुटतन्त्रले दिक्क भएका युवाले पलायनको बाटो रोजेका हुन् । यो उनीहरूको रहर हैन बाध्यता हो । यो बाध्यतासँगै उनीहरू थप असुरक्षित र निरीह देखिएका छन् । युवाहरू सामान्यतया स्वभावैले ऊर्जावान्, लचिला र सजिलै घुलमिल हुनसक्ने हुन्छन् । तर कलिलै उमेरमा पलायन हुन बाध्य युवा जमात धेरै दृढ, आशावादी र सुरक्षित भने छैन । मुख्यतः उनीहरूको पारिवारिक र पारस्परिक सम्बन्धको जालो भत्किएको छ । उनीहरू आफ्नै परिस्थितिको दास भएका छन् ।

यो सबै पलायनलाई मलजल गर्न अहिले विश्वव्यापी प्रकृति तथा वातावरणीय र खानेकुराको संकट नै पर्याप्त छ । यसले धेरै मानिसलाई निकट भविष्यमै वातावरणीय तथा खाद्य शरणार्थी बनाउँदैछ । यो सम्भावित दुर्घटनाको सामना गर्न युवा पुस्ताको अहिलेको सोच र व्यवहारमा परिवर्तन आवश्यक छ ।

अर्को कुरा, रुसोले भनेझैं मानिस स्वतन्त्र जन्मिन्छ र सामाजिक जञ्जालले बाधिंदै जान्छ । घरपरिवारमा विताएको बाल्यकालबाट भर्खर समाजमा प्रवेश गरेको युवा मन र मस्तिष्क अन्य उमेर समूहको भन्दा स्वतन्त्र हुन्छ । यसको सबैभन्दा बलियो पक्ष भनेको यो आफ्नै अनुभवको पर्खालको जडताले घेरिएको हुँदैन र सबैखाले सामाजिक जञ्जालले बाँधिइसकेको हुँदैन । तर आफ्नै जिन्दगीलाई फर्केर हेर्न बिर्सेको आडम्बरी बूढो पुस्ताको छत्रछायाँमा जिउन बाध्य युवा सामन्ती समाजमा कहिल्यै सम्मानित भएर बाँच्न पाउँदैन । उसले उल्टै थेच्चिनु, होचिनु र हेपिनुपर्छ । अहिले भइरहेको बसाइँसराइ यिनै अन्तरविरोधको जगमा भएको विद्रोहको परिणाम समेत हो ।

अहिलेसम्म नेपालको जनसांख्यिक विभाजनमा ऊर्जाशील जनशक्तिको बाहुल्य छ । तर यी सबै देश बाहिर छन् । अर्थतन्त्र यिनै युवाको रगत–पसिनाले पठाएको विप्रेषणले धानेको छ । कुनै पनि कारणले अहिलेकै अवस्था रहिरह्यो र अहिलेको युवा पुस्ताले आउने दशकमा उन्नति र प्रगतिको फड्को नमारी पाको उमेरमा पाइला राख्ने परिस्थिति बन्यो भने, नेपाली समाजको दुर्दिनको गन्ती त्यहींबाट सुरु हुन्छ । किनकि अहिलेको एक चौथाइ जनसंख्याले त्यतिबेला आफ्नै ज्यान पाल्ने र स्याहार गर्ने जोहो गर्न समेत श्रम गर्ने हैसियत गुमाइसकेको हुनेछ । यस्तो अवस्थामा हाम्रो समाजको भविष्य अझ कस्तो होला ?

अर्को कुरा, यो सबै पलायनलाई मलजल गर्न अहिले विश्वव्यापी प्रकृति तथा वातावरणीय र खानेकुराको संकट नै पर्याप्त छ । यसले धेरै मानिसलाई निकट भविष्यमै वातावरणीय तथा खाद्य शरणार्थी बनाउँदैछ । यो सम्भावित दुर्घटनाको सामना गर्न युवा पुस्ताको अहिलेको सोच र व्यवहारमा परिवर्तन आवश्यक छ । उनीहरूको आश नजगाए यो कुरा सम्भव छैन । अर्को अर्थमा हाम्रो सोच र व्यवहार जस्तो हुन्छ, समाजको भविष्यको नियति पनि त्यस्तै हुने हो ।

हामी सबैलाई थाहा छ, समाज प्रकृति जस्तै गतिशील छ । गतिका वरिपरि भएका आविष्कार, अन्तरजाल (इन्टरनेट), ताररहित ध्वनि तरंग (वाईफाई), कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)र सूक्ष्म तथा जैविक (न्यानो एण्ड बायो) प्रविधिको विकासले मानवीय समाज र प्रकृतिबीचको अन्तरसम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न र सोही आधारमा यसको व्यवस्थापन गर्न नयाँ चेतनाको माग निरन्तर बढिरहेको छ ।

उदाहरणका लागि, केही वर्षसम्म पत्यार गर्न गाह्रो परेको अन्तरजालको अब चर्चा समेत हराउँदैछ । किनकि यो हाम्रो जीवनमा दाल–भात जस्तै भइसकेको छ, हामीले यसलाई प्रविधिभन्दा पनि दैनिकी बनाइसकेका छौं ।

यो सबै कुरालाई आत्मसात् गर्दै अब युवा आफ्नै भविष्य सम्हाल्न ब्युँझिनुको विकल्प छैन । अरूले त सके यिनलाई यसतर्फको यात्रामा साथ दिऔं, नसके उनीहरूको आफ्नो भविष्यतर्फको यात्रामा दृढ भई अघि बढ्न बाटो छोडिदिऔं । यसैमा हामी सबैको कल्याण छ ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?