१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

रेमिट्यान्स सदुपयोगमा राज्य सहयोगी नभएको आप्रवासी श्रमिकको गुनासो

अमृता अनमोल

बुटवल — राज्यका निकाय सहयोगी नबन्दा आफूले सिकेको सीप र कमाएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकेको भन्दै वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले गुनासो गरेका छन् ।

रेमिट्यान्स सदुपयोगमा राज्य सहयोगी नभएको आप्रवासी श्रमिकको गुनासो

स्थानीय तहले घरघरमा पुगेर तथ्यांक संकलन गर्ने एवं सीप र लगानीमा सहयोग गर्ने भनिए पनि वैदेशिक रोजगारीबाट फर्केको वर्षौंसम्म आफूहरुलाई कसैले सोधीखोजी नगरेको उनीहरुले बताए । यसले गर्दा कमाएको रकम फजुल कुरामा खर्च हुने, व्यक्तिहरुबाट ठगिने र पुन: वैदेशिक रोजगारीमा जान बाध्य हुनु परेको आप्रवासी श्रमिकहरुको गुनासो छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आप्रवासी श्रमिकहरुसँग सुरक्षित आप्रवासनबारे बुटवलमा सामी परियोजनाले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका श्रमिकहरुले वैदेशिक रोजगारी र रेमिट्यान्सको सुदुपयोगबारे हरेक स्थानीय तहले व्यक्तिव्यक्तिलाई सहजीकरण गर्नुपर्ने बताए ।

नवलपरासी पश्चिमका रामु भुसालले वैदेशिक रोजगारीबाट कमाएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सके देशमा रोजगारी बढाउन र आर्थिक मन्दीलाई कम गर्न सकिने दाबी गरे । ‘देशलाई पैसा चाहिएको छ । हामीलाई सुरक्षित किसिमले पैसा कहाँ लगाउने भन्ने ज्ञान र बाटो चाहिएको छ,’ उनले भने, ‘यसर्थ आप्रवासीले कमाएर ल्याएको रकमको सुरक्षा र वृत्तिका लागि सरकारले ध्यान देओस् ।’

वैदेशिक रोजगारीमा गएका व्यक्तिले रकम मात्र नभएर काम गर्ने सीप र सामाजिक रुपान्तरणका आयामलाई पनि बोकेर ल्याउने आप्रवासी श्रमिकहरुले बताए । त्यसका लागि हरेक स्थानीय तहमा सहज किसिमबाट सीप परिक्षणको व्यवस्था गर्न उनीहरुले माग गरे ।

कपिलवस्तुका नसिर गौरीले आप्रवासी श्रमिकलाई स्वदेशी रोजगारीमा प्राथमिकता दिने भनिए पनि उद्योगी व्यवसायीहरुले त्यसलाई बेवास्ता गरेको बताए । यही कारण कतिपय सीप भएका व्यक्ति पनि स्वदेशमा रोजगारीमा जोडिन नसकेको र बेरोजगार बस्नु परेको उनले दुखेसो पोखे । ‘विदेशबाट फर्केकालाई उद्यम गर्न वित्तीय संस्थाले पनि ऋण दिने भनिए पनि हामीलाई यो वा त्यो बहानामा रोकिएको छ । यस्तो सुविधा लिन पाएका छैनौं,’ उनले भने ।

आप्रवासी श्रमिकहरुले विदेश लैजाने नाममा अझै पनि ठगी र ओसारपसारका घटना भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । कैलालीका पूर्णराज तिवारीले नि:शुल्क टिकट र भिसा भनिए पनि श्रमिकले उपयोग गर्न नपाएको बताए । ‘ चारैतिर ठग छन् । गुनासो गर्दा राज्यले सुन्दैन ।वैदेशिक रोजगारीमा हामी कहिलेसम्म ठगिने हो ?’ उनले प्रश्न गरे ।

वैदेशिक रोजगारीसम्बन्धी नीतिगत व्यवस्था राम्रो भए पनि व्यवहारिक कार्यान्वयनको पाटो कमजोर रहेको उनीहरुले औल्याएका थिए । आप्रवासीमध्ये पनि महिलालाई हेर्ने दृष्टिकोण अझै पनि नकरात्मक भएको र जसकारण विभिन्न लान्छना भोग्नु परेको उनीहरुको भनाइ थियो । दाङकी सीता चौधरीले प्रश्न गरिन्, ‘रेमिट्यान्सले राष्ट्र र समाज सजाउने तर आफू सधैँ अपमानित हुने कहिलेसम्म हो ? यो सह्य छैन ।’

मधेश प्रदेशका आप्रवासी संजालका अध्यक्ष जयप्रसाद सिन्हाले एक जनाले वैदेशिक रोजगारीबाट कमाएको रकममा धेरै जना आश्रित हुने भएकाले रेमिट्यान्सको सदुपयोगबारे घरपरिवारलाई समेत सहजीकरण चलाउनुपर्ने बताए । दुई दिनसम्म चलेको कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका करिब एक सय आप्रवासी श्रमिक सहभागी थिए । रेमिट्यान्सको सदुपयोगमा सचेत गराउन आप्रवासी श्रमिकसँगै उनीहरुका परिवारलाई समेत सहभागी बनाएको सुरक्षित आप्रवासनका रुपन्देही संयोजक सीता पन्थले बताइन् ।

प्रकाशित : वैशाख ३१, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?