१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२९ जेठदेखि मलेसिया–भैरहवा उडान हुने

विमानस्थल खुलेको एक वर्षपछि भैरहवाबाट नेवानिको अन्तर्राष्ट्रिय उडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१८:oo

सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । निगमले २९ जेठबाट भैरहवा–मलेसिया नियमित उडान गर्ने भएको हो । न्यारोबडी एयरबस ३२० विमानबाट काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा चक्रिय उडान गर्न लागेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उडान तालिकाअनुसार टिकट बुकिङसमेत खुलिसकेको छ । हाल भैरहवाबाट सातामा एक उडान गर्ने र बजारको मागअनुसार अन्य गन्तव्यमा समेत थप गर्दै लैजाने निगमले जनाएको छ । 

निगमले प्रमोसन फेयर भन्दै मलेसियाबाट भैरहवासम्मका लागि प्रतियात्रु १२ हजार सात सय र मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्मको प्रतियात्रु १४ हजार सात सय २० रुपैयाँ भाडा तोकेको छ । निगमको जहाज सोमबार साँझ ८ः५० बजे काठमाडौंबाट मलेसियातर्फ उड्नेछ भने मंगलबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने प्रवक्ता पौडेलले बताए । यसअघि निगमले काठमाडौं–नयाँ दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तर, भारतीय नियामक निकायले अनुमति नदिँदा उक्त सेक्टरको उडान अझै अनिश्चित छ । यो सेक्टरको उडान अहिले पनि ‘अन्डर प्रोसेस’मै रहेको निगमले जनाएको छ ।

जग्गा मुआब्जासहित ३१ अर्बभन्दा बढी लगानी भइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठ ०७९ देखि सञ्चालनमा आएको हो । उद्घाटनकै दिनदेखि सातामा तीन उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले हाल भैरहवा उडान रोकेको छ । भैरहवाबाट मलेसियामा चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले हिउँदको खराब मौसमलाई देखाउँदै बन्द गरेको उडान सुचारु गर्ने विषयमा अहिले चासो देखाएको छैन । देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पहिलो वार्षिकोत्सव मनाइरहँदा भैरहवामा अहिले एउटा पनि अन्तर्राष्ट्रिय उडान छैन । 

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि तालुकदार पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दबाब दिँदै आएका थिए । यसअघि क्यानले भैरहवाबाट उडान नराखेको भन्दै निगमको काठमाडौं–दिल्ली सेक्टरको सातामा चार उडान नै कटौती गरिदिएको थियो । पर्यटनमन्त्री सुदन किराँती र नियामक निकायको निर्देशन तथा दबाबबीच निगमले भैरहवा उडान गर्न लागेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका डाइरेक्टर अफ सिभिल एभिएसन अथोरिटी (सिएएएम)सँग मलेसियाबाट भैरहवा नियमित उडानबारे छलफल गरेका थिए । उक्त भ्रमणमा मलेसियास्थित नेपाली दूतावास, ट्राभल एजेन्टहरू, त्यहाँ रहेका नेपाली उद्यमी–व्यवसायी, नेपाली समुदायका विशिष्ट व्यक्तिहरूसँग छलफल भएको निगमले जनाएको छ । 

ad
ad