• २० वैशाख २०८१, बिहिबार

शरणार्थीद्वारा नेपाली नागरिकता माग

blog

हरिप्रसाद कोइराला 

पथरी शनिश्चरे (मोरङ), वैशाख २९ गते । नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौँ रुपियाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यता  मोरङको पथरी शनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका सक्कली शरणार्थी भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् ।

नेपाली नागरिकता पाउने आसमा तेस्रो देश नजानुभएका ८८ वर्षीय बिर्खबहादुर तामाङले भन्नुभयो, “भुटानी शरणार्थी भए पनि म नेपाली हुँ । अब नेपाल सरकारले टाउको लुकाउने माटो र नागरिकको दर्जा दिनुपर्छ ।” तामाङका आफन्त र नातागोता धेरैजसो पुनर्बासमा तेस्रो मुलुक गइसकेका छन् । जेठो छोरो भुटानमै सैनिक जागिरमा छन् । माइलो र कान्छो छोरा अमेरिका गइसके । शिविरमा अरू नातेदार कोही छैनन् ।

भुटानको चिराङ, लामीडाँडाबाट खेदिएर ५७ वर्षको उमेरमा नेपाल आउनुभएका तामाङ अहिले एक्लो हुनुहुन्छ । हजु्रबाबु ताप्लेजुङको दोखु घ्याङ्बारीबाट काम खोज्ने व्रmममा भुटान पुगेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा सबै दाजुभाइ नेपाली हुन्, म पनि नेपाली हुँ कि मलाई भुटान फर्काइदिनुप¥यो कि नेपाली नागरिकता दिएर नेपालमै झुपडी हालेर बस्न दिनुप-यो ।” 

बिर्खबहादुर मात्र होइन, उहाँ जस्ता पाका उमेरका थुप्रै शरणार्थी तेस्रो देश नजाने भनेर शिविरमै बसिरहेका छन् । पुनर्बास गएका आफन्तहरूले पठाएको सामान्य खर्चका भरमा उहाँहरूको दैनिकी चलेको छ । ७७ वर्षीय भगीनन्द गुरुङले आफ्ना बाबु नै धनकुटाको पाख्रिबासबाट कामको खोजीमा भुटान पुगेको बताउनुभयो । आफ्ना नातेदार अझै पनि धनकुटामा रहेको बताउँदै उहाँले भन्नुभयो, “म नेपाली नै हुँ, मेरो देशमा खान नपुगेपछि कामको खोजीमा देश छोडेर निस्किँदा शरणार्थी बन्नुप¥यो ।” आफ्ना तीन छोरा अमेरिका गए पनि आफूलाई स्वदेश छोडेर हिँड्न मन नलागेको उहाँले बताउनुभयो । भुटानमै स्वास्थ्यकर्मी भएर २५ वर्ष काम गर्नुभएका गुरुङ अहिले पनि मेडिकल पसल चलाएर बसिरहनुभएको छ । कान्छी श्रीमती र 

छोरासँग बस्दै आउनुभएका गुरुङले नेपाल सरकारसँग चिहान राख्ने माटो मात्र मागेको बताउनुभयो । भुटानको चिराङ बुडिचुबाट खेदिएर नेपाल आइपुग्नुभएका गुरुङ अहिले सी १ को १४ नं. छाप्रोमा बस्नु हुन्छ । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले २०४५ सालमा बनाइदिएको छाप्रामा दुःखले दिन कटाइरहनुभएका गुरुङ नेपाली नागरिकता पाउनेमा ढुक्क हुनुहुन्छ । शिविरका क्याम्प सचिव चम्पासिंह राईका अनुसार शिविरमा हाल एक हजार ४४१ जना छन् । जसमध्ये २०४ जना शरणार्थी दर्ता हुन बाँकी छन् । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर) बाट सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणीकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्बरसम्म तेस्रो देशमा पुनर्बासको व्यवस्था मिलाइदिएको थियो ।