• २६ जेठ २०८१, शनिबार

विश्व नेपाली स्वास्थ्य सम्मेलन : प्रवासीको स्वास्थ्यबारे २० बुँदे घोषणापत्र जारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । पाँच विश्व नेपाली स्वास्थ्य सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार आप्रवासी नेपालीको स्वास्थ्यका विभिन्न सवालसहित २० बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । 

डा. सापकोटाले ‘प्रवासीहरुको स्वास्थ्य चासो, स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच’ विषयमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा स्वास्थ्य विश्वव्यापी मानव अधिकारको रूपमा व्यक्ति, समुदाय, राज्य र राष्ट्रहरूको प्राथमिकतामा पर्ने उल्लेख छ । विश्वभरिका स्वास्थ्य सूचना र सेवाहरूको पहुँचमा कुनै पनि नेपाली पछाडि नरहने कुरा सुनिश्चित गर्ने भनिएको बताउनुभयो । 

उहाँले नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई हामी (नेपाली) आप्रवासीहरूका लागि आधारभूत विश्वव्यापी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आह्वान गरिएको बताउनुभयो । उहाँले द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू र संघहरूलाई प्रवासीहरूको स्वास्थ्य आवश्यकताहरूलाई पहिचान गर्न र सम्बोधन गर्न पनि आग्रह गरिएको बताउनुभयो । 

उहाँले प्रवासीहरूले फरक किसिमका स्वास्थ्य चुनौतीहरूको सामना गरिरेहको बताउँदै ती चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कडा कदम आवश्यकता रहेको ठहर उक्त सम्मेलनले गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आप्रवासीहरुको बढ्दो आत्महत्या र यसको आर्थिक–सामाजिक प्रभावबारे ध्यानाकर्षण भएको छ । विश्वभर रहेका नेपालीहरु जो मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेका छन् उनीहरुलाई एकताबद्ध भएर प्रभावितहरू (पिडितहरु) लाई सहयोग गर्न सम्मेलनले आह्वान गरेको छ ।”

सम्मेलनले स्वास्थ्य सेवामा सहभागी, साझेदार, व्यक्ति, एजेन्सी र संस्थाले महत्त्वपूर्णरुपमा विश्वव्यापी रूपमा रहेका नेपालीलाई प्रदान गरेको स्वास्थ्य सेवाप्रति आभार व्यक्त गरेको छ । साथै नेपाली प्रवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरू भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु रहेको प्रष्ट्याएको छ । 

घोषणापत्रमा भनिएको छ, “यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीहरूको लागि स्वास्थ्य सेवा सुधार गर्न आप्रवासीहरूका लागि काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरु र सम्बन्धित विशेषज्ञहरू बीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्वपूर्ण कदम चाल्छ ।”

स्वास्थ्य क्षेत्रको विकासमा अनुसन्धानको महत्त्वलाई प्रकाश पार्दै विश्वभरका नेपाली अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने वाचा समेत सम्मेलनमार्फत गरिएको छ ।

यसैगरी, बिरामीहरूको जीवन बचाउने र तिनीहरूको दीर्घजीवन सुनिश्चित गर्ने चिकित्सकहरूलाई सुरक्षित काम गर्ने वातावरणको आवश्यकता पर्नेमा जोड दिइएको छ । 

घोषणापत्रमा “स्वास्थ्यकर्मीमाथि हुने कुनैपनि प्रकारको हिंसाको विश्वभरि रहेका नेपाली समुदायले निन्दा गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रले मात्रै विश्वव्यापी स्वास्थ्य सेवाका लक्ष्यहरु हासिल गर्न सक्दैन । हामी विश्वभरका नेपालीहरूलाई सहकार्य र साझेदारीको लागि जोड दिन्छौँ’ भनिएको छ । 

डा. सापकोटाले प्रवासी नेपालीलाई विभिन्न कारणले आइपर्ने समस्याका कारण स्वास्थ्य सेवा लिन समस्या भएका कारण यस सन्दर्भमा परामर्श गर्दै अघि बढ्ने बताउनुभयो । ग्लोबल नेपाली हेल्थ कन्फरेन्स आयोजक समिति अध्यक्ष डा. एलिजा केसी भण्डारीले नेपाल बाहिर रहेका नेपालीको स्वास्थ्यका विषयमा संवाद सुरुवात गर्न र उनीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन सबैतिरबाट लाग्नुपर्ने निष्कर्षमा पुगेको बताउनुभयो । 

कार्यक्रममा साइन्टिफिक कमिटी अध्यक्षमा डा. लुशुन चालिसे, सहअध्यक्षमा डा. सागर पौडेल, डा. प्रकाश श्रेष्ठसहित जापान, अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यकर्मीको सहभागिता थियो ।