कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी

दुर्गालाल केसी

दाङ — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एजेन्टले १ लाख ३० हजार रुपैयाँ ठगेपछि तुलसीपुर उपमहानगरपालिका–१ भमकेका २१ वर्षीय थामप्रसाद भण्डारी अन्ततः भदौ ४ मा काम खोज्न भारतको केरला भासिए । खोजखन्तर गरेर बुझाएको रकम सबै एजेन्टले खाइदिएपछि सोही साँवाब्याज उठाउन पनि भण्डारी बाध्यताले केरला हान्निएका हुन् । 

वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी

आर्थिक अभावका कारण आठ कक्षा पढेर छोडेका भण्डारीलाई केही समयअघि गाउँकै चिनजानका दाजु नीमप्रसाद धितालले मलेसिया पठाउने आश्वासन दिएका थिए । वैदेशिक रोजगारीमा जान पाइने आसले उनले दुई पटक गरेर रकम बुझाए । तर भोलि भोलि भन्दाभन्दै महिनौं झुलाएका नीमप्रसादले रकम ठगेर सम्पर्कविहीन भए । अनेकतिर गरेर जुटाएको रकम नौ महिना बित्दा पनि आउने छेकछन्द नदेखेपछि उनलाई गाउँमै बस्न कठिन भयो । ४० हजारजति ब्याज र साँवाको भारी बोकेर उनी केरला हान्निए ।

गाउँमा श्रीमती रञ्जिता कुमाललाई कहिले भारतबाट पैसा आउला र ब्याज तिरुला भन्ने छ । ‘साहुले पैसा मागिरहेका छन्, पैसा आउने बेला अझै भएको छैन,’ उनले भनिन्, ‘विदेश पठाउँछु भनेका मान्छेले पैसा फिर्ता दिन्छु भनेको पनि धेरै समय बितिसक्यो । पैसा कतैबाट आउने अवस्था छैन ।’ केही समयअघि उनीहरू ठगविरुद्ध कारबाही चाल्न सकिन्छ कि भन्ने आसमा इलाका प्रशासन कार्यालय तुलसीपुर पनि पुगेका थिए । कुमालले भनिन्, ‘हामी ठगियौं भनेर इलाका प्रशासन पुग्दा पनि केही गर्न सकिँदैन भन्नुभयो ।’

बबई गाउँपालिका–५ बुद्धनगर टोलका रामकृष्ण गाहाले १३ महिनाअघि मलेसिया जानकै लागि धिताललाई नै ५० हजार रुपैयाँ बुझाएका थिए । उनी पनि मलेसिया जान पाएनन् । लामो प्रयासपछि २५ हजार रुपैयाँ फिर्ता पाए । लामो समय ताकेता गरे पनि बाँकी रकम भने नपाएको गाहाले सुनाए । धितालले बुद्धनगर टोलकै जीवन पुन, घनश्याम मगर, भीमसेन घर्ती र बेलबहादुर वीरकट्टा मगरको २ लाख ४० हजार रुपैयाँ ठगेको बेलबहादुरका बुवा गोविन्दबहादुर वीरकट्टा मगरले बताए । अन्य ठाउँका पनि ६ जनाको २५ हजार ठगिएको छ । ऋण तिर्न नसकेपछि थप ऋण लिएर छोरालाई फागुन ९ गते मलेसिया पठाएको उनले बताए । भीमसेन पनि थप ऋण लिएर मलेसिया गए । ‘ऋण र ब्याजले बस्न नसक्ने भएपछि छोराहरू अरू उपाय खोजेर मलेसिया पुगेका छन्,’ गोविन्दले भने, ‘ठगिएको पैसाको ब्याज तिर्न लागेको एक वर्ष भइसक्यो ।’

धितालबाट ठगिएको भनेर जिल्ला प्रशासन कार्यालयमा आठ वटा उजुरी आएको निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । जसमा २० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म ठगिएको भनी उजुरी परेको उनले जानकारी दिइन् । यसमा प्रहरीमार्फत आरोपितलाई उपस्थित गराउने प्रयास भइरहेको उनले बताइन् । ‘उजुरी परेका छन् । आरोपितलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेका छौं,’ उनले भनिन्, ‘सम्पर्कमा आएपछि छलफल गराएर पीडितलाई रकम दिलाउन पहल गर्छौं । नआए थप कारबाही प्रक्रिया अघि बढ्छ ।’

रकम ठगेको आरोप लागेका धितालले भने आफूले म्यानपावर कम्पनीलाई विश्वास गर्दा गाउँकै युवाहरू ठगिएको बताए । विश्वज्योति एचआर सोलुसन म्यानपावर कम्पनीमार्फत पठाउन खोजेकोमा कम्पनी सञ्चालकहरू नै भागेपछि आफू समस्यामा परेको उनले बताए । ‘बसुन्धरास्थित कम्पनीको कार्यालयमा ताला लागेको छ । ममार्फत ५० लाख बढी रकम ठगिएको छ । कम्पनीले २१ लाख र १८ लाखका चेक दिएको छ तर पैसा पाएको छैन,’ उनले भने, ‘ममार्फत आफ्ना गाउँका मानिसहरूले दिएको रकमको जिम्मेवारी म लिन्छु । मैले धेरैको फिर्ता गरिसकेको छु । अब ६ लाख जति बाँकी छ । घडेरी बेचेर भए पनि तिर्ने योजना बनाएको छु ।’

सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श गर्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा स्थानीय तहमार्फत परामर्शकर्ताहरूको व्यवस्था गरिएको छ । जसमा वैदेशिक रोजगारका क्रममा ठगिएको भन्दै गुनासो गर्न आउनेहरू पनि छन् ।

धितालबाट ठगिएको भन्दै २२/२३ जना मानिसहरू गुनासो गर्न आएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तुलसीपुरकी परामर्शकर्ता प्रीति घर्तीले बताइन् । जिल्लामा पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै ४ सय ३२ पुरुष र २१ महिला सम्पर्कमा आएको सामी कार्यक्रमकी जिल्ला संयोजक बसन्ता पुनले बताइन् । जसमध्ये १ सय ४४ पुरुष र ७ महिला विदेशमा पुगेर ठगिएका थिए भने २ सय ८८ पुरुष र १४ महिला विदेश जान नपाएरै नेपालमै ठगिएका थिए ।

वैदेशिक रोजगारीका नाममा ठगिने र अन्य समस्या भोग्नेहरू दिनदिनै सम्पर्कमा आउने गरेको पुनले बताइन् । पछिल्लो एक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ३ सय ८७ जना विभिन्न समस्यामा परेको उनले जानकारी दिइन् । ठगी गर्नेहरूले उल्टै पीडितलाई कसले के गर्छ भनेर धम्काउने गरेको उनले बताइन् ।

प्रकाशित : भाद्र २६, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित मधेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सांसदले परिचालन गर्ने गरी ५ र डेढ करोड बजेट दिने निर्णय भएकोबारे तपाईंको के राय छ ?