• २ जेठ २०८१, बुधबार

कामपाको श्रम बैङ्कमा चार सयको आवेदन

blog

काठमाडौँ, असोज ८ गते  । काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ । 

महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् । 

महानगरपालिकाका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत नै महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार गत भदौदेखि महानगरले श्रम बैङ्कको आवेदन माग गरेको हो । 

श्रम बैङ्कमा आएका सिपयुक्त बेरोजगार जनशक्तिलाई सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा कामका लागि सूचीकरण गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रशासन प्रमुख सरिता राईले महानगरको श्रम बैङ्कमा महानगरका ३२ वटै वडामा आवेदन आएको जानकारी दिँदै महानगरले श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेका छौँ भन्नुभयो । श्रम बैङ्कमा सङ्कलन भएका आवेदनबाट सिप भएका बेरोजगार जनशक्तिको प्राथमिकीकरण र वर्गीकरण गर्ने काम पनि महानगरले गरिरहेको उहाँको भनाइ छ । 

बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको जानकारी दिँदै प्रशासन प्रमुख राईले महानगरले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम, श्रमिकको पारिश्रमिक, कामको प्रकार, सम्पर्क नम्बर र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको पनि जानकारी दिनुभयो । 

यस कार्यक्रमको उद्देश्य सहज रूपमा श्रमिक उपलब्ध गराई सिप क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्नु रहेको महानगरले जनाएको छ । महानगरपालिका अनुसार चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ । 

महानगरका अनुसार श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहजीकरण गर्ने काम गर्छ । 

कार्यविधिले गरेको व्यवस्था अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने छ ।