१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विदेशबाटै मतदाता सूचीमा नाम दर्ता कार्यविधि मस्यौदा

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ।

बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को प्रारम्भिक मस्यौदा आयोगको वेबसाइटमार्फत् सार्वजनिक गरिएको हुँदा सरोकारवालाले सुझाव उपलब्ध गराउन सक्ने जनाएका हुन्।

‘विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०को मस्यौदा तयार भई सुझाव संकलनका लागि आयोगको वेबसाइटमा राखिएको छ,’ उनले भने, ‘मस्यौदामा रहेका विषयहरूमा थपघट गर्न चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले कार्तिक मसान्तभित्र राय सुझाव उपलब्ध गराउनुहुन अनुरोध छ।’

सो प्रारम्भिक मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी सो मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरिएको छ।

मतदाता नामावली दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको छ।

सो मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्ने उल्लेख छ।

जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदामा रहेको छ। अनलाइनमार्फत दरखास्त प्रणालीमार्फत आवेदन गरी स्वीकृत भएका तथा ऐनको दफा ६ बमोजिम योग्यता पुगेका व्यक्तिको नाम आवेदनसाथ सम्बन्धित देशको लागि प्राप्त प्रवेशाज्ञा वा श्रम स्वीकृति, बसाइसराइको प्रमाणपत्र वा विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि र स्वघोषणापत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था मस्यौदामा गरिएको छ।

नाम दर्ता अधिकारी वा दर्ता अधिकारीले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन, एकभन्दा बढी स्थानमा नाम रहेको भए एक ठाउँको नाम कायम राख्न, मतदाताको नाम मतदाता नामावलीबाट हटाउन, विवाह वा बसाइँ सरी अन्यत्र गएका वा मृत्यु भएका नागरिकको विवरण सच्याउन वा हटाउनुपरे आयोगको वेबसाइटमा सम्बन्धित अनलाइन फाराम भरी आवश्यक प्रमाण प्रविष्ट गरी विवरण अद्यावधिक गर्न सकिने व्यहोराको सूचना सम्बन्धित व्यक्ति वा सरोकारवालालाई दिनुपर्नेछ।

आयोगले आगामी २०८४ सालमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतदान गर्न पाउने गरी विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्न लागिएको हो।

नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था गरेको छ।

आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी सो कार्यविधि तयार गरेको हो। आयोगले मस्यौदामा मतदाता नामावलीमा कुनै मतदाताको नाम वा विवरणमा त्रुटि सच्याउने, झुटो विवरण दिई मतदाता नामावली दर्ता भएको अवस्थामा उजुरी दिने, उजुरीउपर कारबाही गरिने, दोहोरो नाम हटाउने, मतदाता नामावलीबाट नाम हटाउने तथा प्रमुख नाम दर्ता अधिकारीले ऐनको दफा १९ बमोजिम मतदाता नामावली आयोगमा पठाउनेलगायत ऐनबमोजिमको प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली आयोगले वेबसाइटमा प्रकाशन गर्ने उल्लेख गरिएको छ।

आयोगले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक’ मा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने व्यवस्थासहित उनीहरूको मतदाता नामावली संकलनका लागि कार्यविधि बनाएर सरकारलाई बुझाएको थियो।

हाल कार्यान्वयनमा रहेका ७ वटा ऐनका प्रावधानहरूलाई एकीकृत गरी आयोगले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक’ अघि सारेको हो। आयोगले यसअघि नयाँ ‘निर्वाचन व्यवस्थापन विधेयक’ संसद्मा दर्ता गरी मस्यौदा पेस गरिसकेको छ।

आयोगले पहिलो चरणमा मध्यपूर्व देशहरूमा बस्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गरी मतदानको व्यवस्था मिलाउने जनाइसकेको छ। ‘पहिलो चरणमा मध्यपूर्व देशहरूमा बस्ने नेपाली नागरिकहरूले मतदान गर्न पाउने व्यवस्थाको लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘कानुन संशोधनलगत्तै मतदाता नामावली संकलन सुरू हुनेछ। यसलाई संसारभरका विभिन्न देशमा बस्ने नेपाली नागरिकसम्म विस्तार गरिनेछ।’

प्रकाशित: २६ आश्विन २०८० ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App