२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने

पाँचको पहिचान अझै हुन सकेन
होम कार्की

तेलअभिभ — दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै पहिचान खुलेको थियो । ती शव स्वदेश पठाउने प्रक्रिया भने अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने

दूतावासका अनुसार तीन दिनभित्र ती शवहरू नेपाल पठाइनेछ । मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो ।

हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ । ‘पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शव पहिचान गर्न स्थानीय एक जनालाई खटाएका छौं,’ उनले भनिन्, ‘तिनले शवको व्यवस्थापन गर्ने र पहिचान गर्ने निकायसँग समन्वय गरिरहेका छन् ।’ प्रतिनिधिसभाको संसदीय समितिले इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । हमासले अपहरण गरी बन्धक बनाइएकाहरू १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । अर्का एक घाइते उपचारपछि डिस्चार्ज भएर नेपाल फर्किसकेका छन् । अर्का एक जनाको भने नेपाली दूतावासले आफ्नै निगरानी तथा हेरचाहमा राखेको छ । सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो ।

त्यस्तै इजरायलबाट थप १८ नेपाली नागरिकको मंगलबार उद्धार गरिएको छ । भारत सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकको पनि उद्धार गरिएको हो ।

इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एड्भाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।

प्रकाशित : कार्तिक १, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?