२८ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अमेरिकाको सपना त्यागेर नेपालमै उद्यमी बनेका विशाल बिष्ट

तस्बिरमा विशाल बिष्ट (बायाँबाट) दोस्रो। तस्बिर: योगेश रावल

अमेरिका पुग्ने सपना अधिकांश नेपालीको हुन्छ। अझ त्यहाँ पुगेर नाम चलेको विश्वविद्यालयमा अध्ययन पश्चात् अमेरिकामै जागिर खाने चाहना कसको नहोला। टीकापुरका एक युवा भने यस्तो अवसर त्यागेर जन्मथलोमै केही गरौँ भनी अमेरिकाबाट फर्किएका छन्।

टीकापुर नगरपालिका वडा नं. १ का ३० वर्षका विशाल बिष्ट सन् २०१६ मा अमेरिका गएका थिए। उनी त्यहाँ ५ वर्ष बसे। उनले क्यालिफोर्नियास्थित लिङ्कन युनिभर्सिटीबाट एमबिए उत्तीर्ण गरे। उनले ३ दशमलव ८ जिपिएसहित विशिष्ट श्रेणीमा एमबिए उत्तीर्ण गरेका छन्।

एमबिए उत्तीर्ण गरेपछि उनी पिएचडीका लागि भर्ना भए। दुई सेमिष्टार अध्ययन गर्दै गर्दा कोरोना महामारी फैलियो। कोरोनाका कारण नेपालबाट परिवारले पैसा पठाउन सकेनन्। उनले अध्ययनका लागि पैसा जुटाउन नसके पछि पिएचडी गर्ने सपना अधुरै छोडी स्वदेश फर्किनु पर्‍यो।

‘मेरो नामको अघि डाक्टर लेखेको देख्ने बुबाको सपना थियो। दुर्भाग्य त्यो पूरा गर्न सकिन’ उनले भने, ‘एक अधुरो सपना छोडेर घर फर्किनु पर्‍यो।’ उनले नामको अघि डाक्टर लेख्ने सपना सपनामै सीमित भएको बताए।

अमेरिका बस्दा कहिल्यै त्यहाँको पिआर लिने सोच आफूले नबनाएको उनी बताउँछन्। उनीसँगका केही साथीहरूले अहिले ग्रिन कार्ड समेत प्राप्त गरिसकेका छन्। तर उनको मनमा भने अमेरिकामै बस्नुपर्छ भन्ने कुरा कहिल्यै आएन। 

उनले चाहेको भए अमेरिकामै राम्रो जागिर पाउँथे। त्यसतर्फ पनि उनले चासो दिएनन्। उनको मनमा अमेरिका पढ्ने र फर्किने भन्ने मात्रै थियो। ‘मैले त्यही बस्नुपर्छ भन्ने कुरा कहिल्यै सोचिन’ उनले भने, ‘किनकि म त्यहाँ पढ्न मात्रै गएको थिए। मेरो मन मस्तिष्कमा जन्मथलो मात्रै थियो।’

उनी सन् २०२१ मा  जन्मथलो टीकापुरमै फर्किए। उनी टीकापुर फर्किदा टीकापुरको परिचय फेरिएको थियो। अशान्त, कुनै सम्भावना नभएको मृत सहरका रुपमा टीकापुर चिनिन थालेको थियो। खास गरी २०७२ को घटना पश्चात् टीकापुरको यस्तो परिचय स्थापित भएको थियो। 

उनी टीकापुरमा सम्भावना खोज्दै हिँडे। उनलाई लाग्यो टीकापुरमा कुनै न कुनै उद्योगधन्दा सुरु गर्नुपर्छ। यदि सबैले सम्भावना छैन भन्ने हो भने कुनै दिन टीकापुर साँच्चै मृत सहरमा परिणत हुनेछ।

उनले गत वर्ष डेढ करोडको लागतमा खप्तड ब्रिकेट उद्योग सञ्चालनमा ल्याएका छन्। जसले इट्टा उद्योगमा कोइलाको विकल्पको काम गर्छ। उद्योगले रोजगारी समेत सिर्जना गरेको छ। उनको सो उद्योगमा आंशिक र नियमित गरी १७ जनाले रोजगारी पाएका छन्।

उनले हालै एक अर्को उद्योग सञ्चालनमा ल्याएका छन्। ४ करोडको लागतमा भागेश्वर फुड एण्ड वेभरेज इण्डष्ट्रिज सञ्चालन गरेका छन्। जसले प्रतिघण्टा चार हजार लिटर पानी उत्पादन गर्न सक्छ। उनले केशरी नामक पानी बोतल र जार दुवैमा उपलब्ध हुने जानकारी दिए। पानी उद्योग स्थापनाका लागि विगत एक वर्ष देखी अध्ययन गरेको उनको भनाइ छ।

नेपालगञ्जदेखी धनगढीसम्मको बजारलाई लक्षित गरेको उनले बताए। ‘बजारको कुनै समस्या छैन’ उनले भने, ‘दैनिक दुई हजार लिटर खपत गर्न सकिन्छ।’ उनको पानी उद्योगमा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

उनले आगामी एक वर्ष भित्र थप अर्को उद्योग स्थापनाको लक्ष्य राखेका छन्। ‘म हरेक उद्योगलाई आम मानिसको दैनिक जीवनसँग जोड्न चाहन्छु’ उनले भने, ‘आम मानिसको दैनिक जीवनसँग जोड्न सके मात्रै उद्योग फस्टाउने छ।’

उनी जन्मथलोमा रोजगारी सिर्जना गर्ने सोचले नै अमेरिका त्यागेर फर्केको बताउँछन्। उनको पारिवारिक माहौल पनि व्यवसायिक छ। उनका बुबा सुरतबहादुर बिष्टले विगत लामो समयदेखी इट्टा उद्योग सञ्चालन गर्दै आएका छन्। उनको बिष्ट आयल स्टोर समेत सञ्चालनमा छ। अङ्कल टेकराज बिष्ट कपडा व्यवसायी हुन भने दाइ विवेक बिष्ट सरिया सिमेन्टको व्यवसाय गर्छन्।

उनले व्यवसायका माध्यमबाट समाजमा रचनात्मक काम गर्न समेत सहज हुने बताए। पानी उद्योगको खुद नाफाको एक प्रतिशत असहाय मानिसहरूका लागि खर्च गर्ने सोच रहेको उनले सुनाए।

बिष्टसंग नेपालमा रहँदा नबिल बैंकमा छ महिना जागिर गरेको अनुभव छ। उनले अमेरिकामा निम्न स्तरको जागिर गरेको अनुभव समेत सुनाए। ‘क्यालिफोर्नियामा दुई महिना शौचालय सफा गर्ने र भाँडा माझ्ने काम गर्नुका साथै केही समय वेटरको काम पनि गरे’ उनले भने ‘त्यो काम मैले जीवन बुझ्नका लागि गरेको थिए।’

प्रकाशित: ३० आश्विन २०८० १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App