२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

इजरायलबाट फर्किएका नेपाली भन्छन्– ‘अब नजाने गरी आयौं’

भवानी भट्ट

कञ्चनपुर — मंगलबार राति दिल्लीबाट हिँडेका कैलाली टीकापुरका नन्दराम भूल बुधबार बिहान गड्डाचौकी नाकामा पुगे । नाकामा पुग्नेबित्तिकै उनले घरमा फोन गरेर दिउँसोसम्म पुग्ने खबर गरे ।

इजरायलबाट फर्किएका नेपाली भन्छन्– ‘अब नजाने गरी आयौं’

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट मंगलबार भारतले आफ्ना नागरिकसँगै उद्धार गरेका १८ नेपालीमध्ये भूलसहित सात जना बुधबार गड्डाचौकी नाका हुँदै आएका छन् । उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले गाडीको व्यवस्था गरेर घर पठाएको हो । महेन्द्रनगरबाट पनि उनीहरू बुधबारै घरतर्फ लागेका छन् ।

सन् २०१६ मा केयर गिभरका रूपमा इजरायल पुगेका भूल तेल अभिभमै काम गर्थे । हरेक वर्ष आउजाउ गरिरहने उनी पछिल्लो पटक एक वर्षअघि मात्रै घर आएका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका कारण असुरक्षा बढेपछि उनलाई पनि घर फर्कन परिवार र आफन्तबाट दबाब थियो । गाजा क्षेत्रमा नियमित रूपमा भइरहने आक्रमणका घटना उनलाई सामान्यझैं लाग्छन् । सात वर्षको अवधिमा उनी अभ्यस्त पनि भइसकेका थिए । ‘तर यो पटक भने ठूलै रूपमा आक्रमण भयो, क्षति पनि धेरै भयो,’ भूलले भने, ‘घरबाट पनि धेरै चिन्ता र फर्किन दबाब भयो ।’ उनले अब इजरायल नफर्किने गरी आएको बताए । गाउँघरमै स्वरोजगारमूलक काम गर्ने उनको योजना छ ।


बुधबार दिल्लीबाट आएका मध्ये नुवाकोट लिखु गाउँपालिकाका राजकुमार मानन्धर पनि केयर गिभरकै रूपमा एक वर्षअघि मात्रै इजरायल पुगेका थिए । उनी रनाना भन्ने ठाउँमा काम गर्दै आएका छन् । इजरायलमा नियमित रूपमा आक्रमणका घटना हुन थालेपछि उनी पनि मंगलबार राति दिल्ली आएका हुन् । ‘हामी भएको ठाउँमा त त्यति धेरै गाह्रो छैन,’ मानन्धरले भने, ‘मिडियामा देखाएजस्तो जताततै त्रसित हुने पनि छैन, शान्त पनि छैन ।’ उनले अवस्थामा सुधार आए फेरि जाने/नजाने विषयमा सोच्नुपर्ने बताए । तर अहिलेकै अवस्थामा भने इजरायल नजाने उनले बताए । दिल्ली हुँदै बुधबार गड्डाचौकी नाका भएर आएका मोरङ उर्लाबारीका निश्चलकुमार श्रेष्ठ पनि अब इजरायल नजाने बताउँछन् । डेढ वर्षअघि केयर गिभरकै रूपमा इजरायल पसेका उनी पछिल्लो समय जोखिम बढ्दै जान थालेका कारण घर फर्किएका हुन् ।


७ जनालाई गड्डाचौकी नाकामा छाड्न दिल्लीमै यातायात व्यवसाय गरिरहेका वीरबहादुर महरा आएका छन् । ‘दूतावास र हाम्रो सहकार्यमा इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई छाड्न आएका हौं,’ महराले भने, ‘महेन्द्रनगरसम्म पुर्‍याएर सबै आआफ्नो घरतर्फ लागेका छन् ।’ महराका अनुसार दिल्ली आएका मध्ये ११ जनाले आफ्नै हिसाबले हवाई यातायात तथा अन्य तरिकाबाट जाने भनेपछि ७ जनालाई दूतावासले व्यवस्थापन गरेर पठाएको हो । ७ जनामा कोही रोजगारीका लागि र कोही घुम्न गएका हुन् । गड्डाचौकी हुँदै आउनेमा कैलाली टीकापुरका नन्दसिंह भूल, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ छन् ।

कञ्चनपुर प्रहरीका अनुसार काठमाडौं, ललितपुर र स्याङ्जालगायत ठाउँका ५ जना धनगढीबाट विमानमार्फत गएका छन् भने मोरङ र टीकापुरका एक/एक जनालाई बसबाट पठाइएको छ । ‘सबैका लागि हामीले यातायात व्यवसायीसँग समन्वय गरेर घरसम्म पुर्‍याउने व्यवस्था गरेका थियौं,’ कञ्चनपुरका एसपी कमल थापाले भने, ‘काठमाडौं र आसपासकाले हवाई यातायातबाट जाने भनेपछि उहाँहरूलाई एयरपोर्टसम्म छाडिदियौं, अरूलाई यातायात व्यवसायीसँग समन्वय गरेर बसमै पठाइदियौं ।’

प्रकाशित : कार्तिक २, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बक्यौता रकम नपाउँदा दूध किसान फेरि आन्दोलनमा उत्रिएका छन् । यसबारे तपाईंको राय के छ ?