• १६ जेठ २०८१, बुधबार

गृह श्रमिकको पहिचान स्थापित गर्न जोड

blog

काठमाडौँ, कात्तिक ३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पु¥याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गृह श्रमिक दिवसका अवसरमा होमनेट साउथ एसियाद्वारा बिहीबार राजधानीमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तीकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो । 

उहाँले नेपाललगायत विश्वभरकै महिलाले गृह श्रममार्फत परिवारलाई आर्थिक टेवा पु¥याइरहेको अवस्थालाई स्विकार्दै गृह श्रमिकको श्रमले आर्थिक सशक्तीकरणसहित समानता आउने विश्वास  व्यक्त गर्नुभयो । 

होमनेट साउथ एसियाका अध्यक्ष रेनाना झ्यावलाले यस सम्मेलनले दक्षिण एसियामा गृह श्रमिकको पहिचान र अधिकारको आन्दोलनमा एकजुट हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   

होमनेट साउथ एसियाका क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले दक्षिण एसियाका ६२ वटा गृह श्रमिक सङ्गठनको क्षेत्रीय सञ्जाल होमनेट साउथ एसियाका प्रतिनिधिसहित आयोजित यस तीनदिने सम्मेलनमा गृह श्रमिकलाई श्रमिकको मान्यता दिलाउन र श्रम अधिकारको पहुँच दिलाउने सन्दर्भमा आवाज बुलन्द गरिने बताउनुभयो । 

उहाँले नेपाल, बङ्गलादेश, भारत र पाकिस्तानका गृह श्रमिकले बाँस, माटो, ढाका, मकैका खोस्टा, पराल, काठ, पात, धागोलगायतका कच्चा पदार्थ प्रयोग गरी परम्परागत, विद्युतीय र चिकित्साजन्य उपकरणसमेत निर्माण गर्दै अर्थतन्त्रलाई चलायमान बनाइरहेको बताउनुभयो । 

गृह श्रमिक तथा महिला आन्दोलनका अभियन्ता चाँदनी जोशीले करिब ९५ प्रतिशत महिला संलग्न गृह श्रमिक क्षेत्रको आवाजलाई नीतिगत तहसम्म पु¥याउन आठ देशमा छरिएर रहेका गृह श्रमिकको छाता सङ्गठन होमनेट साउथ एसियामार्फत सङ्गठित भएको बताउनुभयो । 

होमनेट साउथ एसियाका संरक्षक फुन्सोक सी. छिरिङले यस संस्थामार्फत गृह श्रमिकको आवाज, माग, चुनौती र समस्या सामाधानका लागि आवाज बुलन्द गर्ने अभ्यासका लागि सम्मेलनमा जुटेको बताउनुभयो । 

माटो, काठ, ढुङ्गा, ढाका, बाँस, मकैका खोस्टा र पराललगायतका कच्चा पदार्थबाट परम्परागत रूपमा विभिन्न सामानको उत्पादन, निर्माण तथा हाल विद्युतीय र चिकित्साजन्य सामग्रीसमेत उत्पादन गृह श्रमिकले गर्दै आएका छन् । साथै पोते बुन्ने, दुबोको माला बुन्ने, काठका बुट्टा, इम्ब्रोइडरी, साना खाजा घर सञ्चालन, गलैँचा बुन्ने, अल्लो र ढाका बुन्ने काम गर्दै गृह श्रमिकले आर्थिक टेवा पु¥याउँदै आएका छन् ।