कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

नेपाल र रोमानियाबीच श्रम सम्झौता

युरोपियन महादेशमा नेपालसँग श्रम सम्झौता हुने रोमानिया पहिलो मुलुक
होम कार्की

काठमाडौँ — संस्थागत रूपमा सबैभन्दा बढी नेपाली श्रमिक गएको युरोपको रोमानियासँग नेपालले शुक्रबार श्रम सम्झौता गरेको छ ।

नेपाल र रोमानियाबीच श्रम सम्झौता

पछिल्लो तीन वर्षमा मात्रै १० हजार नेपाली श्रमिक रोमानिया पुगिसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग रोमानियाको राजधानी बुखारेस्टमा द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरे । युरोपियन महादेशमा श्रम सम्झौता हुने रोमानिया पहिलो मुलुक हो ।

‘यो श्रम सम्झौताले नेपालबाट रोमानिया आउने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित बनाउनेछ । यसले मर्यादित भर्ना प्रक्रियाले प्रोत्साहन गर्नेमा विश्वास लिएका छौं,’ श्रममन्त्री भण्डारीले कान्तिपुरसित भने, ‘रोमानियासँग श्रम बजारको फराकिलो सम्भावना छ । दुई देशबीच सम्बन्धलाई यो सम्झौताले श्रम कूटनीतिमार्फत थप बलियोमा लगेको छ ।’

नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष भयो । रोमानियामा धेरै नेपाली होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा जाने गरेका छन् । विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका हुन् । स्थानीय नागरिक अन्य विकसित मुलुक जाने गरेका कारण रोमानियाका कम्पनीले सस्तो ज्यालामा काम गर्ने नेपाली लैजान थालेको हो ।

द्विपक्षीय वार्तामा रोमानियाका श्रममन्त्री ओप्रेक्स्कुले नेपाली श्रमिकको हकहित सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । ‘रोमानियाको श्रम बजारमा ठूलो संख्यामा नेपाली श्रमिकको माग छ । पारदर्शी रूपमा श्रमिक छनोट गर्नुका साथै छोटो अवधिमा श्रमिकको भर्ना प्रक्रियामा समन्वय र सहकार्य गर्नेछौं,’ उनले भनिन् । नेपालले श्रमिक भर्ना प्रक्रियालाई सरलीकृत र छरितो बनाउन छिट्टै नेपाली दूतावास खोल्ने जानकारी रोमानियालाई दिएको छ ।

गत भदौ २५ मा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षामा बसेको उच्चस्तरीय बैठकले तीन सदस्यीय टोली रहने गरी ड्राइपोस्टिङ अवधारणा अनुसार रोमानियासहित १० मुलुकमा नेपाली दूतावास खोल्ने निर्णय गरेको थियो । ‘आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ,’ श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रोमानियामा नेपाली श्रमिकहरूका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने रोमानियाले बताएको छ । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपजस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ ।

रोमानियामा रहेका नेपाली श्रमिकमध्ये ३३.३ दक्ष, ८.१ अर्धदक्ष र ५८.४ प्रतिशत अदक्ष रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । रोमानियाले आफ्नो नागरिकका लागि न्यूनतम ज्याला ६ सय डलर निर्धारण गरेको छ । नेपालीले भने मासिक ५ सय ५० डलर मात्र पाउने गरेका छन् । रोमानियाले ठूलो संख्यामा आप्रवासी कामदारहरूको माग रहेकाले कार्य स्वभाव, इमान्दारिता, लगनशीलताका कारण नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने सम्भावना रहेको बताएको छ । रोमानियाले नेपालबाट कामदार छोटो समयमा ‘इथिकल रिक्रुटमेन्टु’ मार्फत ल्याउने कानुनी प्रावधान तथा व्यवस्थापनका बारेमा चासो व्यक्त गरेको छ ।

दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिबद्धतासमेत व्यक्त भएको छ ।

प्रकाशित : आश्विन २०, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?