२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

दसैंतिहार मनाउन फर्किंदै परदेशी

रोजगारीका लागि भारत छिरेका नेपाली दसैंतिहार नजिकिएसँगै धमाधम घर फर्किँदै।तस्बिर: नागरिक

सल्यान कालीमाटीका ४७ वर्षीया पदमबहादुर विक शनिबार पाँच जनासहित नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै नेपाल भित्रिए। करिब आठ महिनाअघि दुईजना उनका भाइ, उनकी पत्नी र एकजना गाउँले भाइसहित कमाउन भनेर उनी भारत छिरेका थिए। नेपालीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिनै लागेकाले उनी घर फर्किएका हुन्।

पदमबहादुरको मुहारमा दसैंको उमंग दुरुस्तै देखिन्थ्यो। उनीजस्तै दैलेख महाबुका कृष्णप्रसाद शाही पनि शनिबार जमुनाह नाका हुँदै दसैं मनाउन घर फर्किएका छन्। घरपरिवारलाई लत्ताकपडा र केही पैसासहित उनी खुसीसाथ घर फर्किए।

दसैं नजिकिँदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दसैं मनाउन घर फर्किने परदेशीको ताँती लाग्ने गरेको छ। दसैंको उमंग बोकेर रोजीरोटीका लागि भारतीय विभिन्न सहर पुगेका परदेशी धमाधम घर फर्किएका हुन्।

‘दसैं मनाउन घर फर्किएको हुँ,’ रुकुम पश्चिमका विष्णु विकले भने, ‘दसैंतिहार मनाएर फेरि भारततिरै फर्किनेछु।’ उनी भारतको हिमाचल प्रदेशको मनिकरणमा स्याउ टिप्ने काम गर्छन्। जहाँ उनले मासिक ४० देखि ५० हजार रूपैयाँसम्म कमाइ गर्छन्। ‘घरमा काम नपाएपछि घरपरिवार छाडेर बाध्यताले मनिकरण गएको हुँ,’ उनले भने।

उनीजस्तै दसैंको खुसियाली ल्याएर सल्यान कालीमाटीका बिर्खबहादुर केसी पनि घर फर्किएका छन्। ‘परदेशमा एक्लै दसैंतिहार जस्ता ठूला पर्व मनाउन मनले मान्दैन। ‘घरपरिवारले पनि न्यास्रो मान्छन्,’ उनले भने, ‘केही पैसा कमाएर दसैंतिहार मनाउन घर फर्किन्छु।’

तीन वर्षदेखि उनी रोजगारीका लागि भारत जान थालेका हुन्। ‘चार वर्षअघि घरमै थिएँ। रोजगारी थिएन। कमाइ पनि भएन। दसैंतिहारजस्ता पर्वमा खल्लो भयो,’ उनी भन्छन्, ‘त्यतिबेला मैले आफ्ना बच्चाबच्चीका लागि नयाँ कपडासमेत किन्न सकिनँ। मुस्किलले मासुलगायत खानेकुराको जोहो गरेको थिएँ।’

यतिबेला उनले नेपालगन्जबाट छोराछोरी, पत्नी, आमाबुवालाई नयाँ लत्ताकपडा किन्ने योजना बनाएका छन्। दसैंतिहारमा हुने रमाइलोका लागि खर्चपानी जोहो गरी उनी घर फर्किएका छन्।

पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या ठूलो छ। यहाँबाट कति नेपाली रोजगारीका लागि भारत जान्छन् भन्ने यकिन तथ्यांक छैन। तर, पश्चिम पहाडी जिल्लाका ग्रामीण बस्तीबाट अधिकांश मानिस कमाइका लागि भारत गएका छन्। दसैंतिहार जस्ता पर्व मनाउन यतिबेला उनीहरू घर फर्किंदा सीमा क्षेत्र जमुनाहमा घुइँचो नै लाग्छ। दसैंतिहार मनाउन आएका परदेशीका कारण गाउँघरमा दसैंको रौनक छाएको छ।

यतिबेला फर्किएका उनीहरू कोही दसैं मानेर फर्किन्छन् भने कोही तिहारसम्मै बस्छन्। थोरै मात्र तिहारपछाडि खेतीपाती लगाएर पुनः रोजगारीका लागि भारत जाने चलन छ।

जमुनाह नाकाबाट मात्र दैनिक १०/१२ हजार परदेशी घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुहनाले जनाएको छ। दसैंतिहार मनाउन भारत गएका परदेशी फर्किने संख्या बढ्दै गएपछि सीमामा भीडभाड बढेको जमुनाहका वरिष्ठ नायब निरीक्षक मानबहादुर विष्टले जनाए। दैनिक परदेशीको संख्या बढ्दो रहेको उनको भनाइ छ। साथै सीमा क्षेत्रमा भीडभाड बढेपछि सुरक्षा सतर्कतासमेत बढाइएको उनी बताउँछन्।

प्रकाशित: २१ आश्विन २०८० ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App