२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रोमानियासँग श्रम सम्झौता

वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने नीतिअनुरूप युरोपेली देश रोमानियासँग नेपालले शुक्रबार श्रमसम्झौता गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरे। नेपालका तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो। युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकका लागि आकर्षक र सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्ण भुसालले बताए।

नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम सम्झौता भएको उनको भनाइ छ। सम्झौतामा नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने उल्लेख छ।

रोमानियामा नेपाली श्रमिकहरूका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै श्रमिक महिलाहरूलाई समेत सुरक्षित तवरले रोजगार दिलाउन संयोजन गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राख्ने सम्झौतामा उल्लेख छ। दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिपजस्ता विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने दुई देशबीच सहमति भएको छ।

रोमानियामा कार्यरत कुनै पनि आप्रवासी कामदारहरूले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी रोमानिया पक्षले गराएको छ। आफ्नो देशमा नेपाली कामदारको माग रहेको र पारदर्शी रूपमा कामदारको छनोट गरी छोटो अवधिमै कामदार लाने प्रक्रियाका लागि समन्वय र सहकार्य गरिने रोमानियाका प्रतिनिधिले बताए।

सम्झौतापछि मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावबारे जानकारी गराए। रोमानियामा ठुलो संख्यामा आप्रवासी कामदारहरूको माग छ।

नेपाली कामदारको कार्य स्वभाव, इमानदारी र लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गरेकाले नेपालबाट कामदार छोटो समयमै रोमानिया लाने कानुनी प्रावधान मिलाउने बताइएको छ।

दुवै देशका श्रमसम्बद्ध निकायबीच समन्वय र सहकार्य गरी समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्वता दुवै पक्षले व्यक्त गरेका छन्। पछिल्लो समय नेपाली युवाहरूको श्रम गन्तव्यका रूपमा रोमानियामा आकर्षक बन्दै गएको छ।

हालसम्म नेपालसँग श्रम सम्झौता भएका गन्तव्य मुलुक रोमानियासहित ११ वटा पुगेका छन्। असोज २४ गते जर्मनीसँग पनि श्रमसम्झौता गर्ने तयारी भइरहेको श्रम मन्त्रालयका सूचना अधिकारी भुसालले बताए। उनका अनुसार अब तत्कालै स्पेन र पोर्चुगलसँग पनि नेपालको श्रम सम्झौता हुनेछ।

प्रकाशित: २० आश्विन २०८० ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App