१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२o:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीका लागि यस्तो कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

वैदेशिक रोजगार बोर्डमार्फत उच्च माध्यमिक विद्यालय तहमा अध्ययनरत श्रमिकका छोराछोरीलाई ‘कमाउँदै पढ्दै’ र माध्यमिक तहका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिने बोर्डका निर्देशक राजन पौडेलले बताए । 

श्रमिकका सन्ततिलाई समेटिनेछ : राजन पौडेल, निर्देशक, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
श्रमिकका सन्ततिले पनि वैदेशिक रोजगारीमा जानुनपरोस् भनेर पनि यो कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । १२ कक्षापछि धेरै युवाहरू वैदेशिक रोजगारीमा जाने योजना बनाउँछन् । तर, विद्यालयस्तरमा नै शिक्षाको साथमा सीप पनि दिइयो भने मुलुकभित्रै बस्ने वातावरण बन्नेछ ।

वैदेशिक रोजगारीमा गएका श्रमिकले गरेको योगदानबापत सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । श्रममन्त्री शरतसिंह भण्डारीले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘श्रमिकका सन्ततिले पनि वैदेशिक रोजगारीमा जानुनपरोस् भनेर पनि यो कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । १२ कक्षापछि धेरै युवाहरू वैदेशिक रोजगारीमा जाने योजना बनाउँछन् । तर, विद्यालयस्तरमा नै शिक्षाको साथमा सीप पनि दिइयो भने मुलुकभित्रै बस्ने वातावरण बन्नेछ,’ उनले भने । वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीमध्ये इच्छुक मात्रै यो कार्यक्रममा समावेश हुन सक्नेछन् । बोर्डले यो कार्यक्रम लागू गर्न सम्बन्धित विद्यालयसँग सम्झौता गर्नेछ । सम्झौताबमोजिम बोर्डले इच्छुक विद्यार्थीका लागि विभिन्न किसिमका तालिम र बिउ पुँजी उपलब्ध गराउनेछ । 

श्रमिकका परिवारको सबलीकरणमा सात करोड विनियोजन
वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्ष ०८०/८१ मा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका परिवारको सबलीकरणका लागि सात करोड विनियोजन गरेको छ । चालू आवमा बोर्डले विभिन्न तीन प्रकारका कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई समेट्ने गरी सामुदायिक विद्यालयबाट पढाइ छाडेका सीमान्तकृत युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि बोर्डले एक करोड ५० लाख विनियोजन गरेको छ । यो कार्यक्रम बोर्डले स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गर्नेछ । 

त्यस्तै, बोर्डले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि पाँच करोड विनियोजन गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका सन्तति जो १० कक्षासम्म अध्ययनरत छन्, उनीहरू यो कार्यक्रममा सहभागी हुन पाउनेछन् । यो कार्यक्रममा सहभागी हुने विद्यार्थीले पढाइलाई प्राथमिकता दिनुपर्नेछ । बाँकी रहेको समयमा इच्छाअनुसारको सीप सिक्न पाउनेछन् ।  

त्यस्तै, ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीका लागि भने बोर्डले वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । यसका लागि बोर्डले ४० लाख विनियोजन गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका सन्तति यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

कार्यविधि निर्माण गरिँदै
वैदेशिक रोजगारी बोर्डले श्रमिकका सन्ततिका लागि पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गर्ने कार्यविधि निर्माणका लागि एक विज्ञ समूह गठन गरेको छ । सो समूहले कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बोर्डका निर्देशक राजन पौडेलले बताए । कार्यविधि निर्माण कार्य सम्पन्न भएपछि कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारे । 

त्यस्तै, बोर्डले चालू आवदेखि नेपाली श्रमिकहरू रहेको मुलुकमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा धेरै नेपाली श्रमिक भएका मुलुकमा शिविर सञ्चालन गर्ने योजना बनाएको छ । बोर्डले सुरुमा जनरल फिजिसियनद्वारा शिविर सञ्चालन गर्नेछ । चिकित्सकहरू नेपालबाट नै पठाउने वा सम्बन्धित मुलुकमा नै भएका चिकित्सकलाई नियुक्त गरी शिविर सञ्चालन गर्ने विषयमा छलफल गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक स्वास्थ्य समस्याबाट गुज्रनुपर्ने अवस्थालाई अन्त्य गर्न बोर्डले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । हाल बोर्डले टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ । यो सेवाका लागि बोर्डले वीर हस्पिटलसँग सम्झौता गरेको छ । हस्पिटलले उपलब्ध गराएको नम्बरमा सीधै सम्पर्क गरी गन्तव्य मुलुकमा रहेको श्रमिकले आफ्ना समस्या राख्न सक्छन् । हाल खाडी, मलेसियालगायत युरोपमा रहेका नेपाली श्रमिकले पनि टेलिमेडिसन सेवा लिएको बोर्डको तथ्यांक छ ।   

 

ad
ad