२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मानव तस्करको दिल्ली ट्रान्जिट

विदेशमा रोजगारीको राम्रो अवसर छ भनेर प्रलोभनमा पार्ने र त्यसका लागि दिल्ली बोलाएर रकम असुल गरेपछि अलपत्र छोडिदिने घटनाबाट सरदर महिनामा ५० देखि ७० नेपाली युवाहरू पीडित
राजेश मिश्र

नयाँदिल्ली — रोजगारीका लागि विदेश जान भनेर रकम बुझाएका नेपाली युवा अहिले दिल्लीमा अलपत्र परेका छन् । गन्तव्य मुलुकमा उड्न नपाई उनीहरू यहाँ अलपत्र परेका हुन् । उनीहरूले मानव तस्करको जालोमा परेर आफूहरू ठगिनुपरेको दुखेसो गरेका छन् ।

मानव तस्करको दिल्ली ट्रान्जिट

कञ्चनपुरका जयदेव (नाम परिवर्तन) त्यस्तै अलपत्र परेकामध्ये एक हुन् । उनी दिल्लीमा अलपत्र परेको ५ महिना भयो । ‘विदेश उड्न पाउने आस गर्दै यता बसेकै महिनौं भयो,’ उनले भने, ‘विदेश उडान त अनिश्चित छ नै, नेपाल फर्किन पनि समस्या छ ।’ मानव तस्करको जालोमा परेर ठूलो रकम गुमाइसकेका उनी परिवारजनले अलपत्र परेको थाहा नपाऊन् भन्नेमा सजग छन् । अर्कोतिर, दलालले लिएको रकम फिर्ता गर्दिन्छ कि भन्ने आस पनि भएकाले उनी आफ्नो परिचय खुलाउन चाहँदैनन् । तर युरोपेली देश पोल्यान्डमा राम्रो जागिरको अवसर रहेको सूचनाको पछि लाग्दा आफ्नो टोली नराम्रोसँग मानव तस्करको जालोमा फसेको उनले बताए । आफैंले अगुवाइ गरेर उनले आफन्तजनसहित ८ जनालाई पोल्यान्ड जान राजी बनाएका थिए । दलालले बोलाएअनुसार गत जेठमै सबै जना दिल्ली आइपुगेका हुन् । अहिले टोली नै यहीं अलपत्र परेको छ । चित्र बुढाथोकी, विकास र डेबिट क्षेत्रीका नामले चिनिने नेपाली दलालको विश्वासमा पर्दा अलपत्र पारिएको उनीहरूको गुनासो छ । उनकै भर परी ८ जनाले एकमुष्ट रूपमा ३५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए ।

‘पासपोर्ट र अन्य आवश्यक डुकुमेन्ट पठाएको केही समयपछि भिसा र टिकट पठाएर हामीलाई दिल्ली बोलाइयो,’ जयदेवले भने, ‘भिसा र टिकट नै आइसकेपछि विश्वास बढ्दै गयो । पैसा पनि बुझायौं । पछि थाहा भयो, भिसा र टिकट नक्कली रहेछ ।’ आधाजति नगद नै र बाँकी दलालले भनेको बैंक खातामै जम्मा गरेको उनले बताए । पोल्यान्ड उड्न नपाएपछि जयदेवलाई आफ्नो र साथीहरूको ३५ लाख रुपैयाँ फिर्ता लिनुपर्ने दबाब छ ।

दिल्लीको पहाडगन्जको होटलमा बसेका उनको खर्च निरन्तर बढ्दो छ । अहिलेको उनी दलाललाई पछ्याउने र रकम फिर्ता गराउने प्रयासमा लागेका छन् । तर, उनी रकम फिर्ता आउला भन्ने सम्भावना क्षीण देख्छन् । अहिले उनलाई अल्बानिया वा कुक आइल्यान्ड पठाइदिने आश्वासन दिन थालिएको छ । ‘पैसा देऊ भन्दा दिँदैन, पर्ख अन्यत्र भए नि पठाउँछु भनेर कुराएको कुरायै छ,’ दिल्लीस्थित नेपाली दूतावासमा भेटिएका उनले सुनाए ।

गैंडाकोटका उमेशको व्यथा पनि जयदेवकै जस्तो छ । आफूलाई कमल चौधरी नामका दलालले दिल्लीसम्म ल्याइपुर्‍याएको उनले बताए । ‘वर्क परमिट’ मा माल्टा पठाइदिने भनेपछि आफूसहित ६ जनाको टोलीले सुरुमा प्रतिव्यक्ति १ लाख १२ हजार रुपैयाँका दरले चौधरीलाई बुझाएको उनले भने । भीएफएक्स (भिसा प्रयोजनका लागि गरिने विभिन्न प्रक्रिया) का लागि उनीहरूलाई दिल्ली बोलाइयो । दिल्ली पुगेपछि मात्र थाहा भयो, भीएफएक्सका लागि दिइएको दिन र समयमा उनीहरूको नाम नै थिएन । अर्थात् दलालले सबै ढाँटेको रहेछ । अहिले चौधरीले नयाँ अफर दिएर आफूहरूलाई झुलाएको उमेशले बताए । ‘दलालले आइसल्यान्ड पठाइदिने भन्दै थप ५ लाखका दरले पैसा असुलिसकेको छ,’ उनले भने, ‘आज, भोलि भन्दाभन्दै महिनौं झुलाइसक्यो ।’

दिल्लीस्थित नेपाली दूतावासको कन्सुलर शाखामा अहिले विदेश जान आवश्यक पर्ने कागजात पूरा गर्ने युवाहरूको भीड देखिन्छ । अर्कोतिर, त्यही दूतावासमा रहेको नेपाल प्रहरीको एसएसपीको कार्यकक्षमा दलालको प्रलोभनमा परेर ठगिएकाहरू आइरहन्छन् ।

दूतावासका काउन्सुलर एसएसपी उमाप्रसाद चतुर्वेदी गलत मानिस र दलालहरूको फन्दामा परेर ठगिनेहरूको संख्या बढ्दै गएको बताउँछन् । विदेशमा रोजगारीको राम्रो अवसर छ भनेर आकर्षण देखाउने र त्यसका लागि दिल्ली बोलाएर रकम असुल गरेपछि अलपत्र पार्ने घटनाबाट युवाहरू पीडित देखिएको उनले बताए । महिनामा ५० देखि ७० जना युवाहरू दलालको चंगुलमा परेर ठगिएकाको गुनासो लिएर आउने गरेको उनले जानकारी दिए । ‘नक्कली कागजातहरू पठाएर सुरुमा विश्वास आर्जन गर्ने, त्यसपछि आज यो काम भयो, भोलि यो काम हुन्छ भन्दै आशा देखाउँदै पैसा असुल्ने रहेछन्,’ उनले भने, ‘पैसा असुल भइसकेपछि सम्बन्धित दलाल सम्पर्कविहीन हुने घटना देखिएको हो ।’

विदेश जाने चाहना राखेका र त्यसबारे सोधी खोजी गरेका युवाहरुलाई दलालले आफ्नो सम्पर्कमा ल्याउने रहेछन् । त्यसका लागि गाउँ गाउँसम्म उनीहरुले नेटवर्क पुर्‍याएको पाइन्छ । आफन्तजन, चिनेजानको मानिस वा गाउँकै कुनै मानिसको सम्पर्कमार्फत युवाहरु दिल्लीमा रहँदै आएका दलालको सम्पर्कमा आइपुग्ने रहेछन् ।

बागलुङका दुई जना युवालाई बागलुङकै विजय केसीले हंगेरी पठाइदिने भन्दै दिल्ली बोलाएर अलपत्र पारेका छन् । उनीहरूले दलालले नै भनेअनुसार झापाकी एक महिलाको बैंक खातामा १०/१० लाखका दरले रकम जम्मा गरेको बताए । उनीहरूले उक्त बैंक भौचरसहित दूतावासमा आफूहरू ठगिएको निवेदन दिएका छन् । ठेगाना नखुलाईकन १४ जनाले संयुक्त रूपमा दिएको निवेदनमा दलालले कसरी लोभ्याउँछ भन्ने कुरा खुलाइएको छ ।

पासपोर्ट पठाएको केही दिनमा नेपालमै रहेका बेला १४ जनामध्ये ५ जनाको सर्बिया, त्यसको एक सातापछि ७ जनाको पोल्यान्ड र त्यसको केही दिनमा दुई जनाको पोर्चुगलका लागि भिसा लागेको उनीहरुलाई सूचना पुर्‍याइयो । भिसाको फोटो पठाइयो । दलालले भिसा आएपछि मात्रै पैसा दिनुपर्ने भनेका थिए । भिसा नै आइसकेपछि कबुल गरे अनुसार १४ जनाको समूहले पहिलो किस्ता २५ लाख रुपैयाँ केही नगद र बाँकी दलालले भनेको विभिन्न नेपाली खातामा जम्मा गरिदिएको थियो । तर पछि दिल्ली आएर प्रक्रियामा जाँदा सबैको भिसा नै नक्कली रहेको थाहा भयो । कतिपयलाई अमेरिका, क्यानाडा पठाइदिने भनेर पनि ठूलो रकम दलालले कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । तोकिएअनुसार सबैसँग रकम उठाइसकेपछि दलालहरू सम्पर्कविहीन हुने, मोबाइल परिवर्तन गर्नेजस्ता घटना पुनरावृत्ति हुने गरेको एसएसपी चतुर्वेदीले बताए ।

ठगिने र ठग्ने दुवै नेपाली नै छन् । पैसा कलेक्सनका लागि पनि नेपाली खाताको प्रयोग भएको छ । घरबाट विदेश जाने भएर बिदाबारी भइवरी दिल्ली आएर अलपत्र परेपछि उनीहरुलाई घर फर्किन पनि समस्या हुँदै आएको छ । अर्कोतिर, ऋण, सरसापट र सम्पत्ति बेचेर ठूलो रकम दलाललाई बुझाइसकेपछि सके जता, जुन तरिकाले जहाँ भएपनि विदेश गई छाड्ने दबाबमा युवाहरु देखिन्छ । पहाडगन्ज, मजनुका टिला, महिपालपुर जस्ता धेरै होटलहरू रहेका क्षेत्रमा त्यस्ता पीडित नेपालीहरूको हूल सहजै देख्न पाइन्छ । फाटफुट्ट मानिसहरू विदेशका लागि उडेका पनि हुन्छन् । तिनैलाई देखाएर दलालले पैसा लिइसकेकाहरूलाई आशा देखाएर अलमल्याएर राख्छन् ।

दूतावासमा उजुरी र गुनासाहरू बढ्दै गए पनि विदेशको भूमिमा दलालमाथि कानुनी कारबाही चलाउन चुनौती रहेको चतुर्वेदीले बताए । ‘प्रमाणहरूले भारतको बैंकिङ च्यानलबाट ठगी भएको अवस्थामा यता समात्न र मुद्दा चलाउन सकिन्थ्यो,’ उनले भने, ‘तर हुन्डी, नगद वा नेपालकै बैंक खाताको प्रयोग भएकाले यता मुद्दा चलाउन सकिन्न ।’ तर, प्रमाणहरू बलियो रहेको स्थितिमा नेपाल प्रहरीले अनौपचारिक रूपमा दिल्ली प्रहरीसँग समन्वय र सहयोग लिएर कतिपयलाई पक्राउ पनि गरेको छ । अमेरिका पठाइदिने भनेर धेरै मानिसबाट लाखौं रुपैयाँ ठगी गरेका दाङका हस्त गुरुङलाई गत महिना भारतीय प्रहरीकै सहयोगमा पक्राउ गरिएको थियो ।

दिल्ली विश्वविद्यालयबाट मानव तस्करी विषयमै विद्यावरिधि गर्दै गरेकी अस्भिना बस्नेत संस्था वा सरकारी अधिकारीको व्यक्तिगत प्रयासबाट मानव तस्करी नियन्त्रणको क्षेत्रमा भइरहेको प्रयास पर्याप्त नरहेको बताउँछिन् । २०७२ को भूकम्पपछाडि नेपालबाट विभिन्न प्रयोजनका लागि अवैध तरिकाले बालबालिका, महिला र युवाहरूको तस्करी बढेको उनले सुनाइन् । ‘अमेरिका, युरोप वा अन्य देशहरूमा राम्रो रोजगारीको अवसर देखाएर गलत बाटोबाट उता पुर्‍याउने वा त्यो नाममा ठगी गर्ने, भारतमै घरेलु कामदार, यौनधन्दा र जोखिमयुक्त क्षेत्रमा काम गराउने उद्देश्यले बालबालिका र युवतीलाई ल्याउने कार्य भइरहेको छ,’ उनले भनिन्, ‘घरेलु कामदारका लागि प्रतिबन्ध गरिएको खाडी मुलुकमा विभिन्न अवैध तरिका अपनाएर महिलालाई पुर्‍याउने काम भइरहेको छ ।’ ती सबै कामका लागि तस्करले दिल्लीलाई ‘ट्रान्जिट’ बनाएको उनले बताइन् ।

सरकारले घरेलु कामदारमा जान रोक लगाएपछि नक्कली कागजातहरूका आधारमा भिजिट भिसा बनाएर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याउने काम भइरहेका छन् । पछिल्लो समय खाडीमा ‘क्लिनर’ का नाममा महिलालाई पठाउने अनुमति दिइएको छ । बस्नेतको अनुभवमा खाडी मुलुकमा घरेलु कामदारका लागि महिलाको माग अत्यधिक छ । सरकारले त्यसमा रोक लगाए पनि त्यो थामिएको छैन । ‘गलत तरिकाले हुने मानव ओसारपसार रोक्न अध्यागमन, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, गुप्तचर तथा अन्य सरकारी संयन्त्र र सामाजिक संघ/संस्थाबीच कसिलो समन्वय र सहकार्य आवश्यक छ,’ उनले भनिन्, ‘अहिले सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुकजस्ता डिजिटल प्लेटफर्मको प्रयोग गरेर पनि तस्करहरूले युवा–युवतीलाई जालोमा पार्दै आएको देखिन्छ ।’

प्रकाशित : आश्विन २३, २०८० ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?