२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित

घरफिर्ती चाहने ३५० भन्दा बढीको सूची दूतावाससँग
विद्यार्थीलाई उद्धार गर्न विश्वविद्यालयसँग समन्वय गरिँदै
होम कार्की, गंगा बीसी

काठमाडौँ — दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित

इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुको आक्रमणमा परी १० जना विद्यार्थी शनिबार मारिएका थिए । चार जना घाइतेको उपचार जारी छ भने एक जना बेपत्ता छन् । घरफिर्तीका लागि

३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ (एग्रिकल्चर ट्रेनिङ सेन्टर) बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भने, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन ।’

विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताए । ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भने, ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्‍यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्‍यो ।’

नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो ।

विद्यार्थीहरू आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताए । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ ।

‘हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भनिन्, ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन् । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ उनले भनिन् ।

धनगढीका कल्पना जोशीले आफूहरूलाई जसरी पनि नेपाल जान चाहेको बताइन् । ‘हामीलाई खाना पाएका छौं ? बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरू गुमाइसक्यौं,’ उनले भनिन्, ‘हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरू साथीहरूलाई गुमाउनु छैन । जीवित भएको चाहनुहुन्छ भनेर तुरुन्तै उडान पठाइदिनु होला । हामी जीवितै घर जान चाहन्छौं ।’ तेलअविवस्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई नेपाल पठाउन विश्वविद्यालयसँग समन्वय गरिरहेको जनाएको छ । ‘जोखिम क्षेत्रमा रहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भयौं । उनीहरूलाई इजरायल ल्याउने विश्वविद्यालयसँग एक्जिटका लागि समन्वय भइरहेको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भनिन्, ‘अहिले राखिएको ठाउँ सुरक्षाको हिसाबले उचित छ ।’

उनले नेपाल जान इच्छुक विद्यार्थी र कामदारसँग फाराम संकलन भइरहेको बताइन् । ‘विश्वविद्यालयसँग विधिवत् रूपमा एक्जिट गर्ने विषयमा छलफल गरेको छ । अर्कोतर्फ विद्यार्थीहरूलाई सार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘अब कसरी उडानमा पठाउने भन्ने विकल्पमाथि छलफल भइरहेको छ । बुधबारसम्म केही विषयमा स्पष्ट आइसक्छ ।’


इजरायलको जेरुसेलमस्थित जेडेक अस्पतालमा उपचाररत दाङका प्रवीण डाँगी । उनलाई दुई गोली लागेको थियो । तस्विर सौजन्य : प्रभा घिमिरे

शनिबार (असोज २०) यता १० नेपालीसहित इजरायलमा ९ सय जनाको मृत्यु भइसकेको छ । २६ सय घाइते भइसकेका छन् । गाजातर्फ ८ सय ३० जना प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेलअभिभमा कार्यरत गैरआवासीय नेपाली संघका युवा संयोजक रमेश जोशीले अत्यावश्यक पसलबाहेक सबै खुलेको बताए । ‘हामी ड्युटी गएका छैनौं । सडकमा मान्छेहरूको चहलपहल एकदमै कम छ । अत्यावश्यक काम नपरी निस्किएको छैन,’ उनले भने, ‘अहिले सबै नेपालीहरू एकआपसमा जोडिएका छौं । एकजुट भएका छौं ।’ १६ वर्षदेखि जेरुसेलममा कियरगिभरको काम गरिरहेकी चितवनकी प्रभा घिमिरेले आफूले नेपालमा रहेको घरपरिवारलाई सान्त्वना दिइरहेका बताइन् । ‘नयाँ आउने साथीहरू अलि डराएका छन् । परिवारले चिन्ता गरेका छन्,’ उनले भने ।

घिमिरेले जेरुसेलममा थप उपचारका लागि सअरे जेडेक अस्पतालमा ल्याइएको दाङका प्रवीण डाँगीलाई भेटेकी थिइन् । जेरुसेलमबाट तीन घण्टाको मोटर दूरीमा रहेको नेभेगबाट डाँगीलाई उपचारका लागि ल्याएको हो । ‘डाँगीको खुट्टाको अप्रेसन भयो,’ उनले भनिन्, ‘अहिले स्वास्थ्य अवस्था धेरै सुधार भइरहेको छ ।’

‘हवाई रुटको अनुमति अझै पाएको छैन’

सरकारले भने इजरायलबाट फर्कन चाहने नेपाली र त्यहाँ मारिएका १० विद्यार्थीको शव ल्याउन केही समय लाग्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्रयोग हुने हवाई रुटको प्रक्रिया पूरा गर्न अझै एक/दुई दिन लाग्ने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपालीको सुरक्षित उद्धार गरी घर फर्काउन सहयोगका लागि आग्रह गरेका थिए ।

इजरायली विदेशमन्त्री कोहेनीले आ–आफ्नो देश फर्काउन सरकारले सहयोग गर्ने बताएको साउदले जानकारी दिए । ‘जोखिमयुक्त क्षेत्रमा फसेकालाई सुरक्षित स्थानमा सारेर इच्छुकलाई स्वदेश फर्काउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा उद्धार गरेकामा इजरायल सरकारलाई धन्यवाद दिँदै अझै कोही जोखिम क्षेत्रमा भए उद्धारका लागि थप पहल गरिदिन आग्रह गरेको छु ।’

इजरायलमा मारिएका १० नेपालीको शव ल्याउने आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर जतिसक्दो छिटो स्वदेश पठाउने व्यवस्था मिलाउने मन्त्री कोहेनीले बताएको पनि साउदले जानकारी दिए । पर्यटनमन्त्री सुदन किरातीले जहाज पठाउने हवाई रुटको प्रक्रिया मंगलबार बेलुकासम्म पूरा भई नसकेको बताए । ‘उताबाट हवाई रुटको अनुमति आइसकेको छैन,’ उनले भने । सरकारले इजरायल विमान पठाउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज पठाउने निर्णय सोमबार गरेको थियो ।

प्रकाशित : आश्विन २४, २०८० ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?