२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलको अस्पतालबाट प्रविण बुबालाई सोध्छन्: चाँडै घर आउन मन छ, कसरी आउने ?

हमास लडाकु समूहको आक्रमणमा परि घाइते भई इजरायलको अस्पतालमा उपचाररत छोरा प्रविण कति बेला ‘भिडियो कल’ मार्फत सम्पर्कमा आउलान् भन्ने पर्खाइमा हुन्छन् दाङ दंगीशरण ३ हेकुलीका निमबहादुर डाँगी। प्रविण फेरी आक्रमणमा पर्ने हुन् कि भन्ने पिरलो छ उनको परिवार। भलै बेला बेलामा प्रविणसंग हुने कुराकानीले मन दह्रो बनाउन सकिरहेका छन् निमबहादुरले। शनिबार विहान ११ बजे आफू असुरक्षित रहेको भन्दै परिवारलाई जनाउ दिएका प्रविण त्यसपछि बेखबर बने। त्यो दिन बिहान ६ बजे देखिनै उनी रहेको स्थानमा बमदारी सुरु भैसकेको थियो। बाबु निमबहादुरका अनुसार उनले बिहान ११ बजे घरमा फोन गरेर भनेका थिए ‘मरिन्छ की बाँचिन्छ केहि थाहा छैन।’

आफू निकै असुरक्षित रहेको जनाउ दिएका प्रविण त्यसपछि सम्पर्क विहिनै भए। उनलाई इन्टरनेटका माध्यमबाट जति सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन। परिवार विक्षिप्त बन्दै गयो। सम्पर्क विहीन भएको २४ घण्टा पछि प्रविण बल्ल परिवारको सम्पर्कमा आए। ‘मेरो खुट्टामा गोली लागेको छ, म घाइते भएको छु भनेर अस्पतालबाट भिडियो कल गरेको थियो,’ निमबहादुर भन्छन् ‘छोरो बाँचेकै रहेछ भनेर धेरै खुशी लाग्यो।’

त्यसयता प्रविणले अस्पतालबाट अरु कसैको फोनबाट सम्पर्क गरिरहेका छन्। बुवा निमबहादुरका अनुसार अहिलेसम्म बाबु छोराको ५ पटक कुराकानी भैसकेको छ। ‘छोरो घाइते भएर अस्पताल पुगेपछि मेरो ५ पटक कुरा भएको छ,’ निमबहादुरले भने ‘छिट्टै सन्चो हुन्छु, ठिकै छु भन्छ।’

निमबहादुरका अनुसार इजरायलको अस्पतालमा उपचाररत प्रविणले घाइते अवस्थामा परिवारको साथ खोजेका छन्। अनि तत्काल घर फर्किने इच्छा व्यक्त गरिरहन्छन्। कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन। 

‘कसरी आउने होला, छिट्टै घर आउन पाए हुन्थ्यो बुवा भनेर भन्छ,’ निमबहादुर भन्छन् ‘हामी पनि छोरा भेट्न आत्तिएका छौँ, हामी आत्तिएर मात्रै पनि भएन, नत हामीले ल्याएर ल्याउन सकिने, सरकारले पहल गरिरहेको छ भनेर सम्झाउँछु।’

प्रविण सँग पछिल्लो पटक सोमबार राती निमबहादुरसंग भिडियो संवाद भएको थियो। प्रविणले अस्पतालका डाक्टरलाई अनुरोध गरेर उनको मोबाइलबाट बाबु निमबहादुरसंग कुराकानी गरेका थिए। ‘राती कुराकानी भएको थियो, डाक्टरको मोबाइलबाट फोन गरेको छु भन्दै थियो,’ उनले भने ‘उ घर फर्किन आत्तिएको कुरा गर्छ।’ दुबै खुट्टामा गोली लागेर घाइते भएका प्रविणको खुट्टाको अप्रेसन भएको छ। प्रविणले बाबु निमबहादुरसंगको पछिल्लो पटकको कुराकानीमा खुट्टाको अप्रेसन सफल भएको बताएका थिए। ‘खुट्टाको अप्रेसन सफल भयो भनेको थियो,’निमबहादुर भन्छन् ‘मैले नआत्तिनु सबै ठिक हुन्छ भनेर सम्झाइरहेको छु।’

छोरा प्रविण घर फर्कन आत्तिए जस्तै बाबु निमबहादुर पनि छोरालाई भेट्न आत्तिएका छन्। अहिले पनि आक्रमणको खतरा उच्च रहेको खबर सुनिरहेका निमबहादुरले छोरा चाँडै इजरायल छोडेर नेपाल आइदिए हुन्थ्यो भन्नेमा छन्। ‘अहिले पनि आक्रमणका कुराहरु आइरहेका छन्, फेरी केहि हुने हो कि भन्ने डर मात्रै लाग्छ,’ निमबहादुर भन्छन् ‘सरकारले जति सक्यो छिटो नेपाल फर्काइदिए हुन्थ्यो नि।’

सुदूर पश्चिमाञ्चल विश्व विद्यालयमा कृषि अध्ययनरत प्रविण ‘सिक्दै कमाउँदै’ कार्यक्रम मार्फत एक महिना अघि इजरायल पुगेका थिए। गत शनिबार प्यालेष्टाईन विद्रोही समूह हमासले गरेको बम आक्रमणमा परि प्रविण घाइते भएका थिए।  

प्रकाशित: २३ आश्विन २०८० ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App