नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री साउदको टोली गयो इजरायल

नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री साउदको टोली गयो इजरायल
सुन्नुहोस्

काठमाडौं : इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली विद्यार्थी लिन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो। उक्त निर्णय भएसँगै बुधबार राति ११ बजे इजरायल जाने तयारी थियो। तर उनको टोली बिहीबार बिहान करिब ३:३० बजे मात्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज लिएर इजरायलको तेल अबिबतर्फ प्रस्थान गरेका हुन्।

विमान दुबई ‘ट्रान्जिट’भएर जहाज इजरायल पुग्ने छ। यदि समय अनुकूल रहेको खण्डमा जहाज बिहीबार बिहान ९ बजे इजरायल पुग्नेछ। त्यहाँ करिब आधा घण्टा पर्खेर बिहीबार राति साढे आठ बजे नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ। त्यहाँ रहेका ३ सय ५० जना नेपाली तेल अबिबस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्। त्यसमध्ये २ सय ८८ जना स्वदेश फर्कन इच्छुक छन्। 

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेको पाँचौं दिन बुधबारसम्म करिब १ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। आक्रमणमा परी २ हजार ७ सयभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रतिकारात्मक हवाई हमलाहरू सुरु भएयता ११ सय भन्दा बढी मारिएका र ५ हजार १ सयभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि गाजामा घाइते हुनेमा झन्डै ६० प्रतिशत महिला र बालबालिका रहेका जनाएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी थाई नागरिक २० जना छन्। त्यसैगरी अमेरिकी २२, नेपाली १०, फ्रान्सेली ८ लगायत अन्य देशका छन्। बीबीसीका अनुसार १७ जना बेलायती नागरिक इजरायलमा बेपत्ता वा मृत्यु भइसकेका छन्। यस्तो बीभत्स परिस्थितिमा मानवीय उद्धारमा खटिएका संयुक्त राष्ट्रसंघका ९ अधिकारीले समेत ज्यान गुमाइसकेका छन्।

१० जना नेपालीको शव ल्याउन केही समय लाग्ने

इजरायलमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन्। ‘मृतकहरूको शव ल्याउन एउटा कानुनी प्रक्रिया हुन्छ, त्यो पूरा भएपछि आउँछ,’ प्रवक्ता लम्सालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘शवका लागि प्रोटोकल हुन्छ। इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ। ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो।’ 

जतिसक्दो चाँडो शव हस्तान्तरण गर्न इजरायल सरकारसँग आग्रह गरिएको प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘इजरायल युद्ध र आपत्कालीन अवस्थामा भएकाले पोस्टमार्टमलगायत प्रोटोकलहरूलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन,’ उनले भनिन्, यस्तो अवस्थामा हामीले अनुरोध गरेका छौं। दबाब दिने अवस्थामा छैनौं।’

इजरायली निकायहरूले हस्तान्तरण गरेलगत्तै शव ल्याउन सरकार जतिबेलै तयारी अवस्थामा रहेको प्रवक्ता लम्सालले बताइन्। हमास समूहको आक्रमणबाट धेरै मानिसको मृत्यु भएकाले पोस्टमार्टममा ढिलाइ भइरहेको जानकारी इजरायल सरकारले दिएको प्रवक्ता लम्सालले बताइन्।

‘मृत्यु भएकाका परिवारले लास भए पनि छिट्टै आइदिए हुन्थ्यो भन्ने आसमा हुनुहुन्छ हामीलाई थाहा छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘इजरायलले तिम्रो देशको नागरिकको शव लैजाउ भनेर बुझाएपछि हामीले ल्याउने हो। त्योभन्दा अगाडि हाम्रो प्रयासमा केही नै हुँदैन।’ आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन्। ‘भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी आएको छ,’ प्रवक्ता लम्सालले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.