२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘युवालाई विदेशिन रोक्न उद्यमशीलता र रोजगारीको वातावरण बनाऔं’

नेपालमा कुनै सम्भावना नभएर होइन, नपहिल्याएर धेरै युवा विदेश पलायन भइरहेका छन् । उद्यमशीलताको वातावरण सिर्जना गर्‍यौं भने पलायन भएकाहरू पनि लगानी गर्न आइपुग्छन् : उद्योगी
सजना बराल

काठमाडौँ — ‘करको दर बढेको बढ्यै छ तर देशको विकास भइरहेको छैन । कलेजहरूले वर्षैपिच्छे शुल्क बढाउँछन् तर गुणस्तरीय र पहुँचयोग्य शिक्षा छैन । भनसुनबिना यो देशमा केही पनि गर्न सकिँदैन । देशको अर्थतन्त्र रेमिट्यान्सले चलेको छ । यस्तो अवस्थामा देश छोडेर नजान मैले यो मनलाई कसरी सम्झाउने ?’ नेपाल ल क्याम्पसमा स्नातक तह अध्ययनरत १८ वर्षीय राहुल सिंहको प्रश्न हो यो ।

‘युवालाई विदेशिन रोक्न उद्यमशीलता र रोजगारीको वातावरण बनाऔं’

उनकै समकक्षीले अर्को प्रश्न तेर्स्याए, ‘उद्योग–व्यवसायको पृष्ठभूमि नभएको मजस्तो युवालाई यो क्षेत्रमा आफ्नो ठाउँ बनाउन नेपालमा नीतिगत रूपमा के पहल भएको छ ? सुधारका कुनै प्रयत्न नै नहुने देशमा हामी युवा किन बसिरहने ?’

बुधबार ‘परिवर्तनका लागि युवा’ संस्थाले आयोजना गरेको ‘युवा आर्थिक मञ्च’ कार्यक्रममा सहभागी विभिन्न कलेजका विद्यार्थीहरूले सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई राखेका प्रश्न हुन् यी । उनीहरूले देशको वर्तमान आर्थिक अवस्था र युवाका लागि गरिएका पहलहरूका बारेमा विभिन्न प्रश्नहरू गरे । सरकार र निजी क्षेत्रका प्रतिनिधि एवं विज्ञहरूले नेपालमा आर्थिक, राजनीतिक, सामाजिकलगायत अनेक समस्या भए पनि यहाँ सम्भावनासमेत प्रशस्तै रहेकाले युवालाई देश नछोड्न सुझाव दिइरहँदा उनीहरूले सम्भावनाका आधार र प्रमाण मागिरहे ।

अपोलो कलेजकी साधना गुरागाईं (२१) ले रोजगारी क्षेत्रमा हुने श्रम शोषण र विभेदको तीतो अनुभव सुनाउँदै आफूहरू किन निराश नहुने आशयको प्रश्न गरिन् । कलेज पढ्दै गर्दा आफूले प्रशिक्षार्थीका रूपमा पारिश्रमिकबेगर नै काम गर्नुपरेको उनको भनाइ थियो । ‘जागिरका लागि अप्लाई गर्दा अन्तर्वार्तामा बोलाउँछन् अनि तिम्रोभन्दा फलानोको धेरै अनुभव रैछ भन्दै रिजेक्ट गर्छन्,’ उनले गुनासो गरिन्, ‘जम्मा १० हजार तलब आउने जागिरका लागि बीबीए गरिसकेको मजस्तो मान्छेले पनि काम गरेको अनुभव लिएर जानुपर्ने यो कस्तो अवस्था हो ?’

बैंकिङ क्षेत्रलाई चाहिने बीबीए, बीआईएममा ग्राजुएटको संख्या बढिरहँदा बैंक तथा वित्तीय संस्थाहरू भने मर्जरमा गएर तिनको संख्या घटिरहेकाले यो असन्तुलनलाई कसरी व्यवस्थापन गर्ने भन्ने उनको थप प्रश्न थियो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पदपूर्तिका विषयमा बैंकिङ क्षेत्रमा रहेका विकृतिहरूको सुधार हुनुपर्ने बताए । सरकारी बैंकमा लोक सेवामार्फत पदपूर्ति हुने भएकाले त्यसमा खासै समस्या नरहे पनि निजी बैंक तथा वित्तीय संस्थाहरू यस विषयमा बिस्तारै नियमनको दायरामा आउनैपर्ने उनको भनाइ थियो । क्षेत्रीले युवाहरूलाई हार नमान्न र जोखिम मोल्ने साहस गर्न सुझाव दिए ।

नेपालको उद्योग, वित्तीय क्षेत्र र नवप्रवर्तनका विषयमा आयोजित छलफल कार्यक्रमको पहिलो सत्रमा गोल्डस्टर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले अनेक चुनौती र उतार–चढावबीच गोल्डस्टार ब्रान्ड कसरी माथि उठ्न सक्यो भन्नेबारे युवाका जिज्ञासा मेटाउने प्रयास गरिन् । ‘माओवादी द्वन्द्वकालमा गोल्डस्टारमाथि प्रतिबन्ध नै लगाइएको थियो भन्ने सुनियो, त्यो बेला त तपाईंहरूले भारतमा बजार विस्तार गरेर चुनौती झेल्नु भएछ । अहिले बजारमा धेरै प्रतिस्पर्धी आइसकेका बेलामा चाहिँ कसरी अघि बढ्दै हुनुहुन्छ ?’ एन्जलराज तिवारीको प्रश्न थियो ।

विदुषीले द्वन्द्वकाल मात्रै नभएर २०७२ सालको भूकम्पका बेला कामदार अभावले कारखाना चलाउन गाह्रो भएको, सन् २०१६ मा भारतले नोटबन्दी गर्दा जुत्ता निर्यात असहज भएको र नाकाबन्दीका बेला पनि समस्या भएको अनुभव सुनाइन् । ‘अहिलेको मुख्य समस्याचाहिँ नक्कली गोल्डस्टारको बिगबिगी हो, यसले गर्दा भारतमा हाम्रो निर्यात ३० प्रतिशतले घटेको छ,’ उनले भनिन्, ‘नेपालमा पनि चोरी–पैठारीबाट ट्रकका ट्रक भित्रिने जुत्ता, चप्पलका कारण स्वदेशी ब्रान्डहरू मर्कामा परेका छन् ।’ व्यवसायमा यस्ता अनेक चुनौतीहरू आउने भए पनि दिक्क मानेर देशै छोडेर हिँड्न नहुने उनको भनाइ थियो ।

ज्योति समूहका निर्देशक सौरभ ज्योतिले खानदानी व्यवसायहरूलाई झैं अहिलेका उद्यमीलाई व्यवसाय स्थापित गर्न दशकौं समय नलाग्ने भएकाले इन्नोभेटिभ काम गर्न युवाहरूलाई अनुरोध गरे । फेसबुक, ट्वीटर, युट्युब, च्याटजीपीटीजस्ता स्टार्टअपहरूको उदाहरण दिँदै उनले नेपालमा पनि द्रुत गतिमा विकास हुने व्यवसायहरूको खाँचो रहेको औंल्याए । ‘नेपालमा चुनौती छ तर चुनौतीमै त सम्भावना हुन्छ,’ उनले भने, ‘नेपालमा कुनै सम्भावना नभएर होइन, सम्भावना नै नपहिल्याएर धेरै युवा विदेश पलायन भइरहेका छन् । हामी जति पनि यहाँ बाँकी छौं, हामीले उद्यमशीलताको वातावरण सिर्जना गर्‍यौं भने पलायन भएकाहरू पनि लगानी गर्न आइपुग्छन् । त्यसैले व्यवसायमा हात हाल्ने मौका हामीलाई छ ।’ धेरै मानिस बाहिरिँदा यहाँ थोरै प्रतिस्पर्धा हुने भएकाले व्यवसाय गर्नेलाई ठूलो बजार प्राप्त हुने उनको भनाइ थियो ।

नेपाल उद्योग महासंघको स्टार्टअप एन्ड इन्नोभेसन फोरमकी अध्यक्ष जुना माथेमाले नेपालमा परियोजनामा आधारित कर्जा व्यवस्था प्रणाली नभएकाले स्टार्टअपहरूलाई पुँजी जुटाउन समस्या हुने गरेको बताइन् । साथै, कम्पनी दर्ता, नवीकरणलगायतका प्रक्रिया झन्झटिलो हुनु र सरकारी कागजपत्रहरू सबै नेपाली भाषामा हुँदा विदेशमा पढेर नेपालमा उद्यम गर्न आएकाहरूलाई प्रक्रिया र कानुन बुझ्न कठिनाइ हुने गरेको उनको अनुभव छ । यद्यपि, उद्यमशीलतामा लाग्न चाहने युवाका लागि विभिन्न इन्क्युबेसन सेन्टर, भेन्चर क्यापिटलिस्ट, मेन्टरहरूको सहयोग उपलब्ध हुने उनले जानकारी दिइन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी इन्जिनियर सुवेक्षा सापकोटा, सेबोनका पूर्वअध्यक्ष रेवत कार्की, युवा स्वरोजगार कोषका पूर्वअध्यक्ष विष्णु गौतम, एक्यानका अध्यक्ष दीपक पाण्डे, मेरो शिक्षाका संस्थापक अनुप उप्रेतीलगायतले नेपालको अर्थतन्त्र, वित्तीय क्षेत्र र नवप्रवर्तनबारे आफ्ना भनाइ राखेका थिए । युवा एवं विद्यार्थीहरूलाई अर्थतन्त्रबारे जानकारी दिन र व्यवसाय सञ्चालनमा प्रोत्साहन मिलोस् भनेर कार्यक्रम आयोजना गरेको परिवर्तनका लागि युवाका अध्यक्ष हिमाल विष्टको भनाइ थियो ।

प्रकाशित : आश्विन २५, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?