२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

विदेशी भूमिबाट नेपाल भ्रमणको निम्तो

विराटनगरकी मधु लखोटिया बहराइनमा ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय छन् । विदेशी भूमिमा रहेर नेपाल भ्रमणको निम्तो दिँदै आएकी उनले मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षणसमेत दिने गरेकी छन् । उनका बुद्ध, नेपाली लेडी, मधुवनी, मिथिला र मण्डला आर्ट बहराइनको प्रसिद्ध आर्ट प्रदर्शनीमा तीन पटकसम्म समावेश भइसकेका छन् ।
विनोद भण्डारी

विराटनगर — विराटनगरकी मधु लखोटिया (सारडा) दशकयता बहराइनको बुदैया सहरमा बस्छिन् । ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहँदै आएकी ४५ वर्षीया मधु त्यहाँ मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । त्योसँगै उनले लामो समयदेखि बहराइनका नागरिकलाई नेपाल घुम्नका लागि निम्तोसमेत दिँदै आएकी छन् ।

विदेशी भूमिबाट नेपाल भ्रमणको निम्तो

आफू पनि घुमघाममा रमाउने मधुले २०२३ अप्रिल ११ मा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजेस्को र २०२२ जुन ८ मा अफ्रिकाको किलिमबन्जारो हिमालमा नेपालको झन्डा गाडेकी थिइन् । पर्यटनसम्बन्धी ‘एज एभरेस्ट इन माइहर्ट’, ‘मेनिफेस्टिङ माउन्टेन’ र ‘मुन माउटेन’ पुस्तककी लेखिकासमेत रहेकी मधु हाल बहराइन आइक्स र बहराइन्स ट्राभल एन्ड ट्रेकिङ कम्पनीकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

बहराइन आर्ट सोसाइटीका अध्यक्ष रासिद अलखलियाले पाँच हजार अमेरिकी डलर सहयोग गरेपछि अस्ट्रेलियाको शिखर कोजेस्को आरोहण गरेको मधुले बताइन् । घुमघामका क्रममा मधु बहराइनसहित अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रिया, अस्ट्रेलिया, जर्जिया, अजरबैजान, टर्की, तान्जानिया र श्रीलंकाको भ्रमण गरिसकेकी छन् । भ्रमणका क्रममा उनले आफू जहाँ पुगे पनि त्यहाँका नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएर फर्कने गरेकी छन् ।

विराटनगरका जुगल लखोटियाकी छोरी मधु स्नातकसम्मको अध्ययनपछि भारतको रायगन्जस्थित माल्दहका सन्दीप शारदासँग विवाह गरिन् । त्यसपछि उनी पतिसँगै बहराइन पुगेकी हुन् । उनका पति सन्दीप त्यहाँ चार्टर एकाउन्टेन्ट छन् । मधु भने पेन्टिङ र लेखनमा पनि सक्रिय छिन् । उनी बहराइनमा ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहेकी उनका मामा विराटनगरका नन्दकिशोर राठीले बताए ।

उनी त्यहाँ मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । उनका बुद्ध, नेपाली लेडी, मधुवनी, मिथिला र मण्डला आर्ट बहराइन फाइनान्सेल हार्डवर आर्ट प्रदर्शनीमा तीन पटक सहभागी गरियो । उक्त प्रदर्शनीमा विश्व प्रसिद्ध पेन्टर एमएफ हुसेनका पेन्टिङ पनि राखिएका थिए ।

प्रदर्शनीमा उनका ३६ वटा पेन्टिङ राखिएको थियो । त्यस अवसरमा बहराइनका लागि तत्कालीन नेपाली राजदूत पदम सुन्दास र भारतका राजदूत पीयूस श्रीवास्तवले सम्मान पनि गरे । मधुले भनिन्, ‘त्यस अवसरमा बहराइनका संस्कृतिमन्त्री रेदा फराजले ७ सय बहरानी दिनारमा ४ वटा पेन्टिङ खरिद गरेका थिए ।’ उनी त्यहाँ रेस्टुरेन्टका लागि पनि आर्टको डिजाइन गर्छिन् । मधुले पिजाहाट जिङ्गमा मुरल आर्ट पनि गरेकी छन् । बहराइन पूर्ण विकासका लागि उनले बनाएका सन्देशवाहक पेन्टिङका लागि त्यहाँको सरकारले मधुलाई सम्मान पनि गरेको थियो ।

सेफ विनित भाटियासँग एभरेस्ट बेस क्याम्पमा छोरी बचाउ अभियानमा जाने एकमात्र महिला सदस्य पनि हुन् दुई छोरीकी आमा मधु । ‘आफ्नो योग्यतालाई उमेर र स्थानले छेक्दैन,’ मधुले भनिन्, ‘गृहिणी होस् वा कामकाजी महिलाले आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याउन सक्नुपर्छ ।’ उनी हरेक दिन बिहान एक घण्टा बहराइनीलाई योग पनि सिकाउँछिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल भारत वर्षीय महेश्वरी महिला संगठनले उनलाई सशक्त महेश्वरी ग्लोबल महिलाको उपाधिले सम्मान पनि गरेको छ ।

त्यति मात्र होइन रोजगारीका लागि त्यहाँ पुगेका नेपालीलाई साताको एक घण्टा नेपाली संगीत सुनाउँदै आएकी छन् । कोभिड संक्रमण फैलन थालेपछि बहराइन सरकारले १०४ थोप्लो २ मेघाहर्ज सरकारी रेडियोमार्फत जनतालाई सचेत गराउन विभिन्न भाषामा अभियान सुरु गर्दा मधुलाई पनि त्यहाँको सरकारले साताको एक घण्टा नेपाली भाषामा कोभिडबाट सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि छनोट गर्‍यो । त्यो कार्यक्रम प्रभावकारी भएपछि मधु विदेशी नागरिकलाई नेपाल घुम्ने निम्तो गर्दै पदमार्गमा निस्किन उत्साहित भएको बताउँछिन् ।

त्यसपछि उनले बहराइनमा रहेका नेपालीका लागि नेपाली भाषामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म रेडियोमार्फत नेपाली कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । मधुले वाटसवमा कान्तिपुरसँग भनिन्, ‘त्यो कार्यक्रममार्फत मैले नेपाली भाषामा चेतनामूलक सन्देशमात्र प्रसारण गरिन्, त्यहाँ नेपाली गीतसंगीतको पनि प्रचार गरे अनि यहाँका नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह पनि गर्दै आएको छु ।’ अहिले पनि त्यो कार्यक्रम नियमित छ । सानोमुलुक बहराइनको बुदैया सहरमा मात्र एक हजारभन्दा बढी नेपाली युवायुवती रोजगारी गर्दै आएका छन् । उनीहरूका लागि यो रेडियोको कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यसका लागि उनलाई तत्कालीन नेपाली राजदूत पदम सुन्दासले सम्मान पनि गरेका थिए ।

प्रकाशित : आश्विन २४, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?