• १२ जेठ २०८१, शनिबार

चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध

blog

काठमाडौँ, कात्तिक ३ गते ।  सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि हालसम्म लगभग चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएको तर यसको निरन्तरतामा चुनौती देखिएको बताइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ सम्मेलनमा ‘वैदेशिक रोजगारी र सामाजिक सुरक्षा’ विषयक छलफलमा सो कुरा बताइएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमलाई विदेशमा प्रभावकारी रूपमा कार्यान्वयनका लागि एनआरएनएलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक आबद्धतामा त समस्या छैन, भएर गइरहेका छन् । यसको निरन्तरताका लागि यहाँहरूले आआफ्नो देशबाट सहयोग गर्नुहोस् ।” 

छ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । 

कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ८० लाख योगदान रकम कोषमा जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कृष्ण अधिकारीले वैदेशिक रोजगार जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको कोषको उक्त योजनामा उत्साहजनक सहभागिता भए पनि यसको निरन्तरतामा समस्या देखिएको बताउनुभयो । कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा आबद्ध गर्न थालेको छ महिना मात्रै भएको छ । यस अवधिमा करिब चार लाख श्रमिक कोषको योजनामा आबद्ध भइसकेका छन् । जसमा तीन हजार पाँच सय जना विदेशमा स्वरोजगार रहनेहरू छन् । कोषमा अहिलेसम्म ७७ अर्ब रुपियाँ जम्मा भएको छ । जसमा ८० करोड मात्रै वैदेशिक रोजगारीमा गएको योगदान रहेको छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष आरके शर्माले नेपालको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई डेनमार्क र नर्वेको मोडेलमा लैजानु पर्छ भन्नुभयो । उहाँले ती देशमा श्रमिकको थोरै पैसा लगानी गरेर धेरै सेवासुविधा दिने व्यवस्था गर्नुुपर्ने बताउनुुभयो । उपाध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषका जम्मा भएको पैसा सामूहिक लगानी प्राधिकरण स्थापना सरकारसँग माग गर्नुभयो । गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष डिबी क्षेत्रीले वैदेशिक रोजगारीमा गएका श्रमिकसँग थोरै पैसा लिएर धेरै स्किम दिने व्यवस्था गर्न आग्रह गर्नुभयो ।