१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
२o८१ जेठ ११ शुक्रबार o६:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘आजाद’ भिसाले कतारमा जोखिम मोल्दै नेपाली श्रमिक

कतारमा रहेका करिब चार लाख नेपाली श्रमिकमध्ये करिब २०% ‘आजाद’ भिसामा पुगेको अनुमान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o६:२३:oo

वैदेशिक रोजगारीका लागि ‘आजाद’ भिसामा कतार आएका नेपाली श्रमिकहरू जोखिममा पर्न थालेका छन् । कतारमा स्वतन्त्र रूपमा काम गर्न पाइने भएकाले यसलाई आजाद भिसा भनिएको हो । तर, कतार सरकारले भने यस्तो आजाद भिसाको व्यवस्था गरेको छैन । कम्पनी सञ्चालक र एजेन्टले नै यसलाई आजाद भिसा नामकरण गरेका हुन् । 

आजाद भिसाका श्रमिकले आफैँ काम खोज्नुपर्ने हुन्छ । काम छनोट गर्न पाउने हुँदा केही श्रमिकले राम्रै काम पाए पनि अधिकांश अलपत्र पर्ने गरेको गैरआवासीय नेपाली संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले बताए । उनका अनुसार कतिपय श्रमिक नेपालबाट नै आजाद भिसामा कतार आइपुग्छन् भने कतिपयले कतारमा आएपछि आजाद भिसामा परिवर्तन गर्छन् । 

कतारमा कुनै पनि मुलुकका नागरिकले कम्पनी खोल्न पाउने व्यवस्था छ । यसअघि कतारी नागरिकको ५१ र अन्य आप्रवासी नागरिकको ४९ प्रतिशत लगानी हुनुपर्ने व्यवस्था थियो । तर, अहिले कतारको नियमअनुसार प्रक्रिया पूरा गरेपछि आप्रवासीले पनि कम्पनी स्थापना गर्न सकिन्छ । 

यसरी खोलिएका कम्पनीको वार्षिक कारोबारअनुसार कतार सरकारले आप्रवासी कामदार भर्ना गर्नका लागि भिसा स्वीकृति गर्छ । कम्पनी सञ्चालकले सो भिसा दूतावासमा प्रमाणीकरण गरी श्रमिक भर्ना गर्न सक्छन् । कतारबाट आप्रवासी कामदार भर्ना गर्न अनुमति पाएका कम्पनी आफैँले नै कामदार भर्ना गरी  रोजगारी दिनुपर्छ । तर, यस्ता कम्पनीले श्रमिक भरे पनि रोजगारी भने दिँदैनन् ।

श्रमिक भर्ना गरी कतार ल्याइन्छ अनि स्वतन्त्र रूपमा छाडिन्छ । यस्ता आजाद श्रमिक आफँैले काम खोज्नुपर्ने हुन्छ । तर, श्रमिकले भिसाबापत सो कम्पनी सञ्चालकलाई कम्तीमा वार्षिक तीन हजार रियालसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । श्रमिकसँग भिसा एउटा कम्पनीको हुन्छ भने काम अन्य कम्पनीमा काम गर्नुपर्ने हुन्छ । वार्षिक रूपमा भिसा प्रदान गर्ने कम्पनीले श्रमिकको आइडी नवीकरण गरिदिन्छ, जसबापत उसले वार्षिक कमिसन लिन्छ । सो कम्पनीले हरेक महिना श्रमिकको बैंक खातामा पारिश्रमिक पनि हाल्दिन्छ । तर, सो रकम कम्पनी आफैँले श्रमिकबाट फिर्ता लिने गर्छ । कम्पनी अद्यावधिक रहेको देखाउन मात्र डकुमेन्टका लागि पारिश्रमिक दिएको देखाउने गर्छ 

। कतार सरकारले यस्तो कार्यलाई अवैध मानेको छ । तर, यस्ता कम्पनीले कानुनी रूपमा सबै प्रक्रिया पूरा गरेको देखाउने हुँदा पहिचान गर्न कठिनाइ हुने गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) स्वच्छ भर्नासम्बन्धी व्यवस्थाअनुसार जुन कम्पनीको भिसामा गएको हो, सोही कम्पनीमा काम गर्नुपर्ने हुन्छ । यसरी भिसा खरिद–बिक्री गर्ने कार्यलाई आइएलओले मानव तस्कर भनेको छ । तर, कतारमा रहेका नेपालीसहित आप्रवासी श्रमिक नै अवैध रूपमा आजाद भिसाको व्यापारमा संलग्न रहेको पाइएको छ । 

कतारस्थित नेपाली दूतावासको तथ्यांकअनुसार कतारमा करिब चार लाख नेपाली श्रमिक छन् । जसमध्ये करिब १५ देखि २० प्रतिशत नेपाली श्रमिक आजाद भिसामा कतार पुगेको अनुमान छ । कतार तथा नेपाल सरकारले आजाद भिसालाई पहिचान गरेको छैन । त्यसैले आजाद भिसामा कतार आइपुगेका श्रमिक कुनै दुर्घटना परेमा वा कम्पनीले पारिश्रमिक भुक्तानी नगरेमा कानुनी रूपमा कुनै पनि सहयोग नपाउने एनआरएनएका प्रथम उपाध्यक्ष पन्थीले बताए । संघमा अधिकांश आवाज भिसामा आएका नेपाली श्रमिकको गुनासो आउने गरेको उनले बताए । 

 स्वतन्त्रताको नाममा आजाद भिसा बन्दै छ पासो 
सर्लाहीका रामकुमार यादव (नाम परिवर्तन) कतार आएको एक वर्ष हुन लाग्यो । आजाद भिसामा कतार आउन उनले म्यानपावर कम्पनीलाई एक लाख २० हजार बुझाएको बताए । कतार आएपछि छानी–छानी काम गर्न सकिने अपेक्षा गरेका उनले सोचेजस्तो काम नपाएको गुनासो गरे । कतार आउनेबित्तिकै उनले एउटा रेस्टुरेन्टमा तीन महिना काम गरे । राम्रो पारिश्रमिक नपाएपछि रेस्टुरेन्ट छाडेर  सेक्युरिटीको काम पनि गरे । त्यहाँ पनि सोचेजस्तो पारिश्रमिक पाएनन् । ‘भिसाबापत कम्पनीलाई वार्षिक शुल्क भुक्तानी गर्नुपर्छ । त्यसका लागि पनि बढी कमाउनुपर्छ । तर, भनेजस्तो काम पाउन त गाह्रो रहेछ,’ उनले भने । 

त्यस्तै, सुनसरीका रमेश ठाकुर (नाम परिवर्तन) पनि आजाद भिसामा नै कतार आएका हुन् । दुई वर्ष काम गरेर ऋण चुक्ता गरेपछि नेपाल फर्कने उनको योजना थियो । तर, उनले पनि कतारमा भनेजस्तो काम पाएनन् । कम्पनीलाई नै कमिसन दिन नसक्ने भएका छन् । विश्वकपपछि आफू बेरोजगार भएको उनले बताए ।

कम्पनी सञ्चालकको दबाबमा बस्नुनपर्ने, आफैँले काम खोज्न सकिने, चाहेअनुसारको पारिश्रमिक र सेवा–सुविधा पाइने प्रलोभनमा श्रमिकहरू आजाद भिसामा कतार आउने गरेको गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य दीपजंग ठकुरीले बताए । कतिपय कतारमा नै श्रम गरिरहेका श्रमिकले कम्पनी सञ्चालकलाई रकम बुझाएर एनओसीसमेत लिने गरेको उनको भनाइ छ । श्रमिक काम खोज्न स्वतन्त्र हुने भए पनि यो भिसा उत्तिकै खतरनाक हुने उनको अनुभव छ । यस्तो भिसा उपलब्ध गराउने कम्पनीलाई श्रमिकले काम नपाए पनि वार्षिक रूपमा निश्चित कमिसन बुझाउनैपर्छ । ‘कमिसन दिएन भने कम्पनी सञ्चालकले अनेक दुःख दिन्छन्,’ उनले भने । त्यस्तै, निश्चित समयमा कम्पनी परिवर्तन गर्न सकिएन भने पनि श्रमिक जोखिममा हुने उनले बताए । 

 कतारमा ५० हजार नेपाली श्रमिक अवैध
 कतारमा रहेका नेपाली श्रमिकमध्ये करिब ५० हजार अवैध भएको हुन सक्ने कतारका लागि नेपाली राजदूत नरेश ढकालले बताए । अवैध कामदारको तथ्यांक दूतावाससँग नहुने हँदा यसको यकिन तथ्यांक भने नहुने उनको भनाइ छ । केही समयअगाडि दूतावासले गरेको अध्ययनले कतारमा तीन लाख ६४ हजार तीन सय ८९ श्रमिक रहेको देखाएको थियो । जसमध्ये महिलाको संख्या करिब १५ हजार छ ।

कुल नेपाली श्रमिकमध्ये कतारको सरकारी निकायमा कार्यरत श्रमिकको संख्या नौ हजार चार सय नौ रहेको छ । अर्धसरकारी निकायमा कार्यरत नेपाली श्रमिकको संख्या चार हजार पाँच सय ४३, निजी क्षेत्रमा तीन लाख ४६ हजार ६६ र अन्यमा तीन हजार सात सय ७३ रहेको उनले बताए । कतार सरकारले आप्रवासी कामदारलाई न्यूनतम एक हजार रियाल पारिश्रमिक र खान–बस्नका लागि तीन सय रियाल तोकेको छ । आजाद नामकरण गरिएको भिसालगायत गैरकानुनी तरिकाबाट विभिन्न प्रक्रियामार्फत कतार पुगेको श्रमिक अवैध हुने राजदूत ढकालले बताए । उनका अनुसार आजाद भिसा आफैँमा अवैध हो । 

त्यस्तै, हाया कार्डमार्फत कतार पुगेका नेपाली युवाहरू पनि धेरै फर्किएका छैनन् । विश्वकपको समयमा कतारले हाया कार्डलाई नै भिसाको मान्यता दिएको थियो । विश्वकपको टिकट, होटेल र फ्लाइट टिकट हुनेले हाया कार्ड पाउने व्यवस्था थियो । त्यसैगरी, कतारले विश्वकपलाई लक्षित गरी छोटो अवधिका लागि पनि नेपाली श्रमिक ल्याएको थियो । यसरी ल्याइएका श्रमिक पनि नेपाल नर्फिएको उनले बताए । यसका साथै पारिवारिक भिसामा आएका श्रमिकले पनि कार्ड नवीकरण नगर्दा अवैध हुने गरेको दूतावासको भनाइ छ ।
 

ad
ad