२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विपिनलाई छुटाउन सम्भव सबै पहल गर

सम्पादकीय

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच चलिरहेको युद्धको चपेटामा नेपाली विद्यार्थी पनि परेका छन् । इजरायलको दक्षिणी क्षेत्रमा हमासले बमबारी र गोली चलाउँदा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो, त्यति बेलैदेखि बेपत्ता रहेका एक विद्यार्थी विपिन जोशी अहिले हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

विपिनलाई छुटाउन सम्भव सबै पहल गर

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत उनीहरू सिक्दै कमाउने कार्यक्रमअन्तर्गत भदौ अन्तिम साता मात्र इजरायल पुगेका थिए । इजरायली सेना र हमासबीच निरन्तर युद्ध भइरहेको र यो क्रम कहिलेसम्म चल्ने निश्चित नभएको अवस्थामा विपिनलाई सकुशल मुक्त गरेर स्वदेश फर्काउन सरकारको प्रभावकारी कूटनीतिक पहल चाहिएको छ ।

हमास लडाकुले अक्टोबर ७ (असोज २०) का दिन एकसाथ सयौं रकेट प्रहार गर्नुका साथै आकाश र जमिनबाट इजरायली क्षेत्रमा प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यस क्रममा हमासले १ सय १८ इजरायली र १ सय २२ विदेशी नागरिकलाई बन्धक बनाएर लगेको इजरायलको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ । त्यसमध्येमा एक विपिन पनि हुन् । विपिन उनै हुन्, जसले हमासले नेपाली विद्यार्थीको समूहतिर प्रहार गरेको ग्रिनेड टिपेर फ्याँकिदिएका थिए । साथीहरूको ज्यान जोगाइदिएका विपिन भने त्यसपछि बेपत्ता थिए ।

इजरायल सरकारले उनी हमासको नियन्त्रणमा रहेको पुष्टि त गरेको छ तर उनलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने विषयमा केही खुलेको छैन । युद्धसँग कहीँकतै सम्बन्ध नजोडिएको मुलुकको विद्यार्थीलाई यसरी बन्धक बनाइनु निन्दनीय छ । इजरायली सेनाले हमासलाई नै सिध्याउने भन्दै गाजा क्षेत्रमा आक्रमण तीव्र पारिरहेकाले बन्धक बनाइएका अरू नागरिकको सुरक्षाबारे चिन्ता झन्–झन् बढ्दै गएको छ ।

सुरुमा हवाई हमला मात्र गरिरहेको इजरायली सेनाले केही दिनयता गाजाको उत्तरी क्षेत्रमा स्थलगत आक्रमण पनि गरिरहेको छ । दुवैतर्फको आक्रमणमा बालबालिका, महिलालगायतका निहत्था नागरिकको पनि मृत्यु भइरहेको छ । निसानामा अस्पताल, विद्यालय, प्रार्थनास्थलहरूसमेत परिरहेका छन् । मंगलबार र बुधबार मात्रै उत्तरी गाजास्थित जबलिया शरणार्थी शिविरमा इजरायलले हवाई आक्रमण गर्दा डेढ सयभन्दा बढीको मृत्यु भयो । गाजाको उत्तरी क्षेत्रलाई घेरेर इजरायली सेनाले स्थलगत र हवाई आक्रमण गरिरहेका कारण बन्धकलाई त्यही क्षेत्रमा राखिएको भए उनीहरूको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको अनुमान गर्न सकिन्छ ।

त्यसमाथि इजरायलले इन्धन, खाद्यान्न, पानी, औषधिलगायतका अत्यावश्यक सामग्री गाजा प्रवेशमा अवरोध गरेको छ । चौतर्फी दबाब बढेपछि भने इजिप्ट र गाजाबीचको राफह नाकाबाट केही दिनयता मानवीय सहायताका सामग्री सीमित मात्रामा आपूर्ति भइरहेको छ । करिब २० लाख जनसंख्या भएको गाजामा युद्धका कारण आधाभन्दा बढी विस्थापित भएको अवस्थामा अहिले आपूर्ति भइरहेको सामग्रीले धान्ने अवस्था छैन । इजिप्ट आफ्नो मुलुकमा प्रवेश दिन तयार नभएकाले र अन्य नाकामा इजरायलको नियन्त्रण हुनाले गाजापट्टीमा रहेका प्यालेस्टिनीलगायत सबै नै अहिले बन्धकको अवस्थामा छन् र उनीहरूको जीवन दिन प्रतिदिन संकटग्रस्त बन्दै गएको छ । हमासलाई निमिट्यान्न पार्ने नाममा निहत्था व्यक्तिको ज्यान लिनु, उपभोग्य वस्तुको अभाव सिर्जना गरेर शारीरिक र मानसिक रूपमै घिडघिडोमा पुर्‍याउनु मानवीय विवेकसम्मत कदम हुँदै होइन, विश्वभर भइरहेका प्रदर्शनले पनि यही भनिरहेका छन् ।

हमासले बन्दीलाई मुक्त गर्नका लागि इजरायलका जेलमा रहेका प्यालेस्टिनीलाई छाड्नुपर्ने सर्त राखिरहेको छ । इजरायल भने हमासको यस्तो सर्त सुन्न तयार देखिँदैन । तर, पछिल्लो समय राफह नाकाबाट सीमित मात्रामा भए पनि सहायता सामग्रीको आपूर्ति, बुधबारबाट घाइते–बिरामी प्यालेस्टिनीका साथै तेस्रो देशका नागरिकले गाजाबाट इजिप्ट प्रवेश सुरु र हमासद्वारा केही बन्दीको रिहाइले सकारात्मक आशा जगाएको छ । युद्धको चार सातापछि कतारको पहलबाट घाइते–बिरामीका साथै तेस्रो देशका नागरिकको इजिप्ट प्रवेश खुलेको हो । कतार नेपालको बलियो श्रम कूटनीति रहेको मुलुक हो । कतारले बन्धकहरू छुटाउन मध्यस्थता गर्दै आएको छ । त्यसैले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले कतारसँगको सम्बन्धलाई उपयोग गर्न सक्नुपर्छ ।

युद्ध सुरु भएपछि परराष्ट्रमन्त्री एनपी साउद जसरी नेपालीलाई लिन इजरायल पुगेका थिए, उसरी नै कतार पुग्न सके विपिन रिहाइको पहल प्रभावकारी हुन सक्थ्यो । सँगसँगै, संयुक्त राष्ट्रसंघलगायत निकायको पनि सहयोग लिनुपर्छ । विपिनका विषयमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफैं जानकार छन् । नेपाल भ्रमणमा आएका बेला गत आइतबार उनले विपिन सुरक्षित रूपमा फर्किने कामना गरेका थिए ।

यस्तो अवस्थामा विपिनको रिहाइका लागि सक्रिय पहलकदमी लिइदिन राष्ट्रसंघलाई घचघच्याइरहनुपर्छ । विपिनलाई राखिएको स्थान पत्ता लगाउन सके रिहाइका लागि पहल गर्न सहज हुन सक्छ । त्यसैले उनी रहेको ठाउँ पत्ता लगाउन सम्भव सबै संयन्त्र जतिसक्दो छिटो परिचालन गराउन सक्नुपर्छ । सबैभन्दा उत्तम त युद्धविराम नै हो ।

प्रकाशित : कार्तिक १७, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?