१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

विपिनलाई मुक्त गराउने सरकारको पहल निष्प्रभावी

एक महिनादेखि प्यालेस्टाइनको विद्रोही समूह हमासको नियन्त्रणमा

काठमाडौँ — प्यालेस्टाइनको विद्रोही समूह हमासले एक महिनादेखि गाजा क्षेत्रमा बन्धक बनाएका विपिन जोशीलाई मुक्त गराउन परराष्ट्र मन्त्रालयले गरेको पहल परिणाममुखी बन्न सकेको छैन । गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा १० जना नेपालीको हत्या गरी विपिनलाई बन्धक बनाएर लगेको थियो । 

विपिनलाई मुक्त गराउने सरकारको पहल निष्प्रभावी

परराष्ट्रले जोशीलाई छुटाउन इजरायल, कतार, अमेरिका र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आईएफआरसी) सँग समन्वय गरिरहेको जनाएको छ । ‘जोशीलाई कसरी छुटाउन सकिन्छ भनेर छलफल गर्‍यौं । त्यसपछि सम्बन्धित पक्षसँग त्यसको सहजीकरणका लागि आग्रह गरेका हौं,’ परराष्ट्रमन्त्री एनपी साउदले भने । परराष्ट्रले सबैभन्दा पहिले जोशीलाई छुटाउन हमाससँग लडिरहेको इजरायललाई नै पहल गर्न आग्रह गरेको थियो । त्यसपछि अक्टोबर १५ मा साउदले कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिजसँगको टेलिफोन कुराकानीमा जोशीको खोजीका लागि अनुरोध गरेका थिए । ‘हमास र कतारको सम्बन्धका कारणले पनि नेपालले जोशीलाई खोज्नका लागि कतारलाई आग्रह गरेको हो,’ परराष्ट्रका एक अधिकारीले भने । दोहामा हमासको राजनीतिक सम्पर्क कार्यालय छ ।

कतारलाई अनुरोध गरे पनि सकारात्मक नतिजा ननिस्किएपछि नेपालले गाजासहित प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायताको काम गर्दै आएको आईएफआरसीसँग समन्वय गरेको हो । जेनेभास्थित आईएफआरसीका महासचिव जगन चापागाईंलाई सम्पर्क गरिएको परराष्ट्रको भनाइ छ । अघिल्लो साता अमेरिका भ्रमण क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्दा जोशीलाई पनि ल्याउन आग्रह गरेका थिए । कात्तिक १४ मा साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यही भेटमा उनले जोशीको उद्धारका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले बन्धक बनाइएकालाई मुक्त गराउने छलफल जटिलतातर्फ धकेलिएको बताए । ‘हमासले गाजा क्षेत्रमा राखेकालाई छुटाउन छलफल भइरहेको छ । तर, गाजामा इजरायल सैनिकको प्रवेशले अवस्था थप जटिल बनेको छ,’ फ्रान्सका परराष्ट्रमन्त्रीसँगको भेटपछि दोहामा आयोजित पत्रकार भेटमा प्रधानमन्त्री थानीको भनाइ थियो ।

कतारले बन्धकलाई छुटाउन भइरहेको एजेन्डा विस्तृत रूपमा सार्वजनिक गरेको छैन । हमासले इजरायलको जेलमा रहेका एक हजार प्यालेस्टिनीलाई रिहाइ गरे आफूले पनि बन्धकहरूलाई रिहाइ गर्ने भनेको छ । बन्धकमध्ये ५ जना हमासबाट मुक्त भएका छन् । अक्टोबर २० मा दुई अमेरिकी र २३ मा दुई इजरायली वृद्धालाई हमासले छाडेको थियो । २९ अक्टोबरमा एक जना इजरायली सेना पनि मुक्त भएका छन् ।

इजरायलले जोशीसहित १ सय २१ जना विदेशी नागरिक बन्धक भएको जनाएको छ । बन्धकमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । जोशीसहित उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ । त्यस्तै हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जानिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका १/१ जना हमासको नियन्त्रणमा छन् । थप १ सय १९ जना इजरायली नागरिक पनि हमासको बन्धकमा छन् ।

हमासले आफ्नो नियन्त्रणमा गाजा क्षेत्रमा रहेका मध्ये ५० जना इजरायलको आक्रमणमा परी मारिएको दाबी गरेको छ । यसमा विदेशी नागरिक छन् कि छैनन् भनेर खुलाइएको छैन । आफ्नो नियन्त्रणमा दुई सय जना मात्रै रहेको हमासको दाबी छ । हमास नेता मुसा आबु मारजुकले इजरायलले युद्धविराम नगरेसम्म बन्धकलाई मुक्त नगर्ने वक्तव्य जारी गरिसकेका छन् । ‘अमेरिका, फ्रान्स, स्पेन, इटालीलगायत अन्य देशले आफ्ना नागरिकलाई मुक्त गर्न भनिरहेका छन् । युद्धविराम नभएसम्म उनीहरू मुक्त हुँदैनन्,’ उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघमा भएको युद्धविरामसम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाल पनि युद्धविरामको पक्षमा उभिएको थियो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकलाई मुक्त नभएसम्म युद्धविराम नहुने अडान दोहोर्‍याएका छन् । ‘मैले इजरायलस्थित सबै विदेशी राजदूतलाई बोलाएँ । सबै बन्धकहरूलाई तुरुन्त रिहा गर्न इजरायलको मागमा उभिन आह्वान गरें,’ नेतान्याहुले मंगलबार साँझको वक्तव्यमा भनेका छन्, ‘अपहरण युद्ध अपराध हो । म हाम्रा शत्रु र मित्रहरूलाई समान रूपमा हेर्छु तर हाम्रा बन्धकलाई फिर्ता नगरी युद्धविराम हुनेछैन ।’

सबै बन्धकको स्वास्थ्य अवस्था पत्ता लगाउन रेडक्रसका अध्यक्षलाई आग्रह गरेको प्रधानमन्त्री नेतान्याहुले बताए । ‘हाम्रा बन्धकहरूलाई तुरुन्तै रिहा गर्न अन्तर्राष्ट्रिय कानुनको आवश्यकताअनुसार काम गर्न माग गरें । रेडक्रसलाई आफ्नो दायित्व पूरा गर्न र स्वास्थ्य अवस्था पत्ता लगाउन बन्धकसम्म पुग्न आग्रह गरेको छु,’ नेतान्याहुको वक्तव्यमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २३, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?