कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

विदेश अध्ययनमा बाहिरिने रकम ८३ प्रतिशतले बढ्यो

विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम पनि वृद्धि 
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेश अध्ययनमा बाहिरिने रकम ८३ प्रतिशतले बढ्यो

पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।

यो पनि वार्षिक रूपमा हालसम्मकै बढी हो । नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता झाँगिँदै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीको नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् ।

शैक्षिक जनशक्ति निरन्तर विदेशिइरहँदा पनि तिनीहरूलाई नेपालमै रोक्न र विदेशिएकालाई स्वदेश फर्काउन सरकारसँग कुनै कार्यक्रम छैन । अहिले व्यक्तिले धेरै अवसर जहाँ छ, त्यहाँ जान थुनछेक गर्न नसकिने अर्थमन्त्री प्रकाशशरण महतले बताए । यसअघि कान्तिपुर दैनिकसँगको कुराकानीमा अर्थमन्त्री महतले ठूलो मात्रामा जनशक्ति पलायन हुँदा आर्थिक गतिविधि सञ्चालन गर्न अप्ठ्यारो पर्ला कि भन्ने आफूहरूको सोच रहेको जनाएका थिए ।

‘स्वदेशमै बस्ने माहोल कसरी बनाउने भन्ने हाम्रो चिन्ता हो । नेपालमै अवसर छ भनेर देखाउने दिशामा हामी सबै लाग्नुपर्छ । पछिल्ला दिनमा छात्रवृत्ति नपाए पनि १२ कक्षाबाटै सम्पूर्ण पैसा आफैंले बेहोरेर जाने प्रवृत्ति बढेको छ । यो चिन्ताको विषय हो,’ उनले भने, ‘बाहिर सबै कुरा ठीक छ, यहाँ मात्रै खराब छ भन्ने भाष्यका साथ युवाहरू गएका छन्, यस्तो भाष्य परिवर्तन गर्नुपर्छ ।’

यद्यपि कक्षा १२ बाटै विदेश जाने विषयले सरकारलाई चिन्तित बनाएको उनले बताए । ‘उनीहरूमार्फत नै धेरै वैदेशिक मुद्रा पनि बाहिरिएको छ । नेपालमा विद्यार्थीहरूको आवश्यकता कति हो ? साँच्चै यहाँको शिक्षा नै खराब भएकाले राम्रो शिक्षा पाउन बाहिर गइरहेका हुन् त ?,’ उनले भने, ‘त्यसको तुलना गरौं । सरकारले नीति ल्याएर मात्रै हुन्न, पहिला यस विषयमा राष्ट्रिय बहस चलाउनुपर्छ ।’

बढ्दो रेमिट्यान्स आप्रवाह र घट्दो आयातले अहिले विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा छ । तर हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा दीर्घकालमा मुलुकको विदेशी मुद्रा सञ्चितिमा असर पर्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको भनाइ छ । तत्कालै विदेशी मुद्रा सञ्चिति दबाबमा नदेखिए पनि शिक्षाकै लागि ठूलो रकम बाहिरिनु अर्थतन्त्रको हितमा नभएको उनीहरू बताउँछन् ।

गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाा बाहिरिएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको शिक्षा मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको भन्दा २ हजार ७ सय ५१ जनाले कम हो । आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । यो एनओसी लिएकाको मात्र संख्या हो । अघिल्लो वर्षको तुलनामा एनओसी लिनेको संख्या घटे पनि अध्ययनमा बाहिरिने रकम बढेको हो ।

प्रकाशित : कार्तिक २४, २०८० ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?