२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

वैदेशिक रोजगारी तथा ‘जब फेयर’

सरकारले विभिन्न आठ मुलुकमा नयाँ दूतावास खोल्ने निर्णय गरेको समाचार आएको छ । बरु इन्डोनेसिया, सिंगापुरजस्ता उदीयमान मुलुकहरूमा दूतावास खोल्न सके नेपाललाई धेरै फाइदा हुन सक्छ ।
मोहनकृष्ण श्रेष्ठ

संघीय राजधानीमा हालै एउटा सकारात्मक दृश्य देखियो । प्रधानमन्त्री प्रचण्डको सक्रियतामा ११ देखि १३ सेप्टेम्बरसम्म नेपालीलाई रोजगारी दिने मुलुकहरूमा कार्यरत १३ नेपाली नियोगका प्रमुखहरूलाई काठमाडौंमा बोलाई अन्तरक्रिया गरियो । प्रधानमन्त्री जस्तो शक्तिशाली व्यक्ति नै लागिपरेर यस किसिमको कार्यक्रम गरिएको यो पहिलो पटक नै हुनुपर्दछ ।

वैदेशिक रोजगारी तथा ‘जब फेयर’

कार्यक्रममा केकस्ता अनुभवहरू आदानप्रदान गरिए, केकस्ता कदम चाल्ने निधो भए, त्यो सबै त बाहिर आएन, तर यसबाट वैदेशिक रोजगारीमा रहिआएका बग्रेल्ती समस्या सल्टाउन योगदान पक्कै हुने देखिन्छ । सरकारले वैदेशिक रोजगारीलाई महत्त्वका साथ हेरेको एउटा प्रमाण पनि हो यो ।

वैदेशिक रोजगारीबाट विप्रेषणका रूपमा खर्बौं रुपैयाँ भित्रिराखेको छ । म्यानपावर व्यवसायमा लागेकाहरूले ‘हामी म्यानपावर होइनौं, मेन पावर हौं’ भनिराखेका छन् । देशको अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान दिने व्यवसायले यस्तोभन्दा कसैले अन्यथा सोच्नुपर्ने कारण छैन । तर यत्रो रकम देशमा कसरी, कुनकुन क्षेत्रमा खर्च हुन्छ भन्नेचाहिँ अवश्यै मननयोग्य विषय हो । यत्रो ठूलो रकमबाट, चाहने हो भने, देशमा सयौं कलकारखाना खोलिन सक्छन्, जसबाट हजारौं रोजगारी सिर्जना हुन सक्छन् । यस्तो अवस्थाबाट देशमा ‘चेन रियाक्सन’ भई अर्थतन्त्र उकास्न ठूलो योगदान मिल्न सक्छ । तर वास्तवमा यस्तो भइराखेको देखिँदैन । यत्रो ठूलो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्नुपर्छ ।

देशमा रोजगारीका अवसरहरू नभएकाले विभिन्न तहतप्काका धेरै नेपाली विश्वभरि छरिएका छन् । यो रहरभन्दा पनि बाध्यता हो । विप्रेषणका सन्दर्भमा राम्रो देखिए पनि यसबाट सृजित समस्याहरू भयावह छन् । गाउँघरमा खेतमा काम गर्ने व्यक्ति, मर्दापर्दा मलामी जाने मानिसहरू पाउन छाडेका गुनासाहरू सुनिन्छन् । गाउँहरूमा खाली बूढाबूढीहरू मात्र बाँकी रहेको पनि सुनिन्छ । देश विकासमा जोतिनुपर्ने दर्बिला हातहरू विदेशमा रगत–पसिना बगाउन गइराखेका छन् । कतिले त असमयमै मृत्युवरण गरी बाकसमा स्वदेश

फर्किनुपरिराखेको छ ।

आर्थिक कूटनीतिको एउटा महत्त्वपूर्ण बुँदा वैदेशिक रोजगारीको प्रवर्द्धन पनि हो । हाल ५० लाखभन्दा बढी नेपाली विभिन्न मुलुकमा विभिन्न पेसामा आबद्ध छन् । धेरैजसो मध्यपूर्वका गरम मुलुकहरू तथा मलेसियामा सामान्य रोजगारीमा छन् भने थोरै प्रतिशत विभिन्न देशमा उच्च स्तरको रोजगारीमा छन् । तर सन्तोष मान्नुपर्ने कुरा के छ भने, नेपालीहरूले कडा मिहिनेत र इमानदारीका बलमा रोजगारदाताहरूको विश्वास आर्जन गर्दै आइरहेका छन् । नेपालीहरूले समस्या कम निम्त्याउने कामदारको पहिचान बनाएका छन् । यो म आफैंले पनि यूएईमा कार्यवाहक राजदूतको हैसियतमा रहँदा अनुभव गरेको हुँ ।

जो गरिब छन्, उनै झन् शोषित छन् । गरिबी तथा आवश्यकताअनुसार घरखेत बन्धकी राखेर वैदेशिक रोजगारीमा जान खोज्ने व्यक्तिहरूमध्ये कतिपय खराब म्यानपावर व्यवसायीहरूबाट शोषित छन् । दिवास्वप्न देखाई अलपत्र पारेर रकम कुम्ल्याइएका घटनाहरू प्रायः दिनहुँ सुनिन्छन् । सबै प्रक्रिया पुर्‍याएर विदेशमा रोजगारीमा पुगेका व्यक्तिहरू पनि विभिन्न घटनाबाट प्रताडित छन् । कतिपय गलत व्यक्तिहरूका कारण यो व्यवसायको बदनामी भइराखेको छ ।

वैदेशिक रोजगारीलाई मर्यादित, शोषणरहित तथा समस्यारहित बनाउनु अपरिहार्य छ । यसका लागि सरकारले बनाएका नीतिनियमहरूलाई अत्यन्त प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ । गलत काम गर्ने म्यानपावरहरूलाई कडाभन्दा कडा कारबाही गरी उत्तरदायित्व बहन गराउनुपर्दछ । म्यानपावर कम्पनीहरूको ट्र्याक रेकर्ड राखी ग्रेङिड गर्नुपर्दछ । राम्रो काम गर्ने म्यानपावरहरूलाई सरकारका तर्फबाट संरक्षण तथा बढावा दिई खराब काम गर्नेलाई तुरुन्त बन्द गराई त्यस्तो खराबीको जिम्मेवारी बहन गराउनुपर्दछ । विदेशस्थित नेपाली दूतावासहरूले नेपालीहरू जुन व्यवसायमा रहिआएका भए पनि आवश्यक परेका बेला अत्यन्त सकारात्मक तवरले सहयोग दिनुपर्दछ । उनीहरूको रक्षा गर्नुपर्दछ । श्रम तथा रोजगारी अब देशको कूटनीतिमा आबद्ध भइसकेको छ ।

सरकारले विभिन्न आठ मुलुकमा नयाँ दूतावास खोल्ने निर्णय गरेको समाचार आएको छ । ती सबै मुलुकमा हजारौं नेपाली कार्यरत छन् । आउँदा दिनहरूमा ती मुलुकमा झन् बढी नेपाली रोजगारीको खोजीमा पुग्ने आकलन गर्न सकिन्छ । ती मुलुकमध्ये दुइटा भूगोल र जनसंख्याका हिसाबले साह्रै साना छन्, जहाँ दूतावासको आवश्यकता छैन । तर ती मुलुकमा कार्यरत नेपालीलाई अर्कै प्रभावकारी व्यवस्था गरी संरक्षण गर्न सकिन्छ । बरु इन्डोनेसिया, सिंगापुरजस्ता उदीयमान मुलुकहरूमा दूतावास खोल्न सके नेपाललाई धेरै फाइदा हुन सक्छ । साथै अब नेपालीहरूलाई विश्वका १७८ मुलुकमा जान पाउने गरी खुला गरिएको पनि सुनिएको छ । यसले विदेशमा रोजगारीका अवसरहरू प्राप्त हुनुका साथै समस्याहरू पनि धेरै उब्जिने सम्भावना रहन्छ । वैदेशिक रोजगारीलाई सबल तथा प्रभावकारी तरिकाले प्रवर्द्धन सकिएमा विप्रेषणका रूपमा ठूलो धनराशिका साथै सीप, ज्ञान तथा नयाँ प्रविधि पनि भित्रिन सक्छ ।

सेप्टेम्बर २००६ देखि जुन २००९ सम्म युएईमा कार्यरत रहँदा नेपाली कामदारहरूका समस्या सल्टाउन आफू सक्रिय रूपमा लागेको मैले भुल्न सकेको छैन । मध्यपूर्वका ६ मुलुकमा मात्र नेपालीको संख्या झन्डै १५ लाख पुगिसकेको अनुमान गर्न सकिन्छ । मैले गल्फ को–अपरेसन काउन्सिलका ६ वटै मुलुकको भ्रमण गरिसकेको छु । नेपालीहरू जुन देशमा जुन तहमा कार्यरत रहे पनि रोजगारदाताहरूको राम्रो धारणा रहेको पाएको छु । यही सन्दर्भमा एउटा अनुभव साझा गर्न चाहन्छु ।

अबुधाबीमा कार्यरत रहँदा एक दिन फिलिपिन्सका राजदूत लिब्रान न्वेभेस काबाकटुलानसँग एउटा पार्टीमा भेट भयो । उहाँ सहृदयी तथा मिलनसार हुनुहुन्थ्यो । उहाँसँग कुरा हुंदै जांदा थाहा भयो— फिलिपिन्सले समयसमयमा ‘जब फेयर’ को आयोजना गर्दो रहेछ । आफ्नो देशमा कुन किसिमका, कुन तहका, कस्ताकस्ता अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरू उपलब्ध छन् भनेर ‘जब फेयर’ मार्फत रोजगारदाता कम्पनीहरूलाई देखाउने, बुझाउने गरिँदो रहेछ । वैदेशिक रोजगारीका सम्बन्धमा फिलिपिन्सलाई अग्रणी मुलुक नै मान्नुपर्दछ । फिलिपिन्सले यो व्यवसायलाई निकै चुस्त तथा सबल बनाईसकेको छ । बिनाप्रशिक्षण कसैलाई पनि रोजगारीका लागी बाहिरी मुलुकहरूमा जान दिइँदो रहेनछ । त्यही क्रममा राजदूत काबाकटुलानले सुझाउनुभयो, ‘नेपालले पनि यस्तो जब फेयर गर्नु उपयुक्त हुन्छ ।’ यसलाई लिएर ममा निकै कौतूहल जाग्यो । आफ्नो कार्यकालमा केही राम्रो काम गर्न सके आत्मसन्तुष्टि हुन्छ भन्ने लाग्यो । संयोगवश त्यो बेला, ६ मार्च २००७ मा नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष एलपी साँवा लिम्बूसँग दुबईमा भेट भयो । मैले उहाँलाई फिलिपिन्सका राजदूतको कुरा सुनाएँ, बुझाएँ । उहाँ ‘कन्भिन्स्ड’ हुनुभयो । राजदूतावास तथा महासंघको संयुक्त आयोजनामा ‘जब फेयर’ आयोजना गर्ने निधो भयो । राजदूतावासले व्यवस्था मिलाउने, लाग्ने सबै खर्च महासंघले बेहोर्ने सल्लाह भयो । उहाँले प्रेम कटुवाल र मदन महतलाई यस कार्यका लागि खटाउनुभयो । काम निकै द्रुत गतिमा अगाडि बढिहाल्यो । दुबईको प्रतिष्ठित ग्रान्ड हयात होटलमा ६ जुन २००७ मा अत्यन्तै भव्य रूपमा ‘जब फेयर’ को आयोजना गरियो । नेपालबाट विशेषज्ञ डा. गणेश गुरुङले देशमा उपलब्ध हुन सक्ने अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरूको फेहरिस्त नै प्रस्तुत गर्नुभएको थियो । त्यसअघिसम्म नेपालमा कामदारहरू अदक्ष मात्र उपलब्ध छन् भन्ने सोचाइ प्रायः रोजगारदाताहरूमा रहिआएको थियो । तर ‘जब फेयर’ बाट यस्तो विषम परिस्थितिलाई चिर्न सफल भयो, जसलाई निकै ठूलठूला कम्पनीका उच्चपदस्थ व्यक्तिहरू अवलोकन गरेका थिए । २६ कम्पनीले स्टल राखेर आआफ्ना सूचनाहरू प्रवाह गरेका थिए । एकदिने कार्यक्रम निकै रोमाञ्चक तथा सफल भएको थियो । निकै भव्य रात्रिभोज र सांस्कृतिक कार्यक्रमसमेत राखिएकाले यूएईका रोजगारदाता कम्पनीहरू तथा कार्यरत नेपालीहरू प्रभावित भएका थिए । यूएईका परराष्ट्र तथा श्रम मन्त्रालयका उच्चपदस्थ अधिकृत तथा नेपालका श्रम राज्यमन्त्री रमेश लेखकको उपस्थितिले पनि कार्यक्रममा रौनक थपेको थियो । पाँचकोठे सानो अपार्टमेन्ट, सीमित कर्मचारी तथा अति सीमित बजेटमा चलिराखेको दूतावास दुबईको त्यस्तो प्रतिष्ठित होटलमा ‘जब फेयर’ को आयोजना गर्न कस्सिनु चानचुने कुरा थिएन । तर देश तथा जनताका लागि केही गरूँ भन्ने हुटहुटीले त्यो आँट गर्न सकिएको थियो ।

हाल गल्फ को–अपरेसन काउन्सिलका ६ वटै मुलुकमा हाम्रा दूतावासहरू छन् । कर्मचारी तथा बजेटको व्यवस्थामा पनि परिवर्तन भइसकेको छ । दुबईमा ‘जब फेयर’ आयोजना गरेको पनि हेर्दाहेर्दै १६ वर्ष नाघिसकेको छ । यस्तो कार्यक्रमको उपादेयता निकै देखिन्छ । यस्तो कार्यक्रम फेरि गर्न हाम्रा दूतावासहरूले पहलकदमी लिनु उपयुक्त हुन्छ ।

श्रेष्ठ यूएईका लागि पूर्व कार्यवाहक राजदूत हुन् ।

प्रकाशित : कार्तिक २१, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?