• १३ जेठ २०८१, आइतबार

बोयर बाख्रापालनमा रमाएका धन श्रीस

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), कात्तिक १९ गते । बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ । 

उहाँले श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रालिमार्फत बोयर बाख्राको स्रोत केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । बोयर जातका बाख्राबाट राम्रो आम्दानी गर्न सकिने उहाँको १२ वर्षको अनुभव छ । 

श्रीसले जिल्लामा परिश्रमी र लगनशील किसानको पहिचान बनाउनुभएको छ । आधुनिक खोर निर्माण गरेर उहाँले व्यवस्थित रूपमा बाख्रापालन गर्दै आउनुभएको छ ।   

अस्ट्रेलियाबाट उन्नत जातको बोयर बोका खरिद गरी श्रीसले शतप्रतिशत शुद्ध बोयरका पाठापाठी उत्पादन गरेर देशभरका किसानलाई बिक्री गर्नुहुन्छ । बाख्राका लागि आवश्यक पर्ने पूर्वाधारसहित करिब दुई करोड रुपियाँ लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले ६० रोपनी जमिनमा घाँस खेती गर्नुभएको छ । 

अहिले पाँच महिनादेखि एक वर्षभित्रका बोयरका पाठापाठीलाई ८० हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको श्रीसले बताउनुभयो । “दुई/चार वर्षअघि माग अनुसार पु¥याउन सकिएको थिएन,” श्रीसले भन्नुभयो, “बोयरका बोका र पाठी दुई लाख रुपियाँमा सजिलै बिक्री हुन्थ्यो । अहिले ८० हजार रुपियाँमा पनि बिक्री गर्न समस्या छ । बाख्रापालनतर्फ किसानको आकर्षण घटेका कारण उत्पादन भएका बाख्रा कसरी बिक्री गर्ने भन्ने चिन्ता छ ।”

श्रीसको बाख्रा फार्ममा माउ र पाठापाठी गरेर ३५ वटा बाख्रा छन् । अहिले पनि वार्षिक रूपमा ३० देखि ४० वटासम्म पाठापाठी बिक्री गर्दा वार्षिक रूपमा १२ लाख रुपियाँ आम्दानी हुने श्रीसले बताउनुभयो ।