• १३ जेठ २०८१, आइतबार

पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौं, कात्तिक २१ गते । पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर भक्तपुर नगरपालिका वडा नं. १० भई हाल काठमाडौँको नागार्जुन नगरपालिका – ६ रामकोट बस्ने कर्माचार्यले मदनराज मोक्तनसहित १७ जनालाई पोल्याण्ड जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेकी थिइन ।

उनले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहीन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रहरीले उनलाई काठमाडौँको इन्द्रचोकबाट मंगलबार दिउँसो १ बजे पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।