• २८ वैशाख २०८१, शुक्रबार

श्रम स्वीकृति लिने घटे

blog

काठमाडौँ, मङ्सिर ८ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो । 

गत वर्ष सो अवधिमा दुई लाख ७० हजार ५२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो वर्ष सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका छन् जुन अघिल्लो कात्तिकमा ७८ हजार ३७० थियो । यो सङ्ख्या हेर्दा गत वर्ष र यो वर्षको कात्तिक महिनामा विदेश जानेको सङ्ख्या करिब आधाले घटेको छ । 

विभागका महानिर्देशक महेश दाहालका अनुसार यो वर्ष दसैँ र तिहार नै कात्तिक महिनामा परेकाले श्रम स्वीकृति लिने घटेका हुन् ।  वैदेशिक रोजगार अध्ययन कर्ता रामेश्वर नेपालले भने विश्वव्यापी आर्थिक मन्दीको असरले यस्तो भएको दाबी गर्नुभयो । अर्कोतिर यो वर्ष सुरुदेखि नै मलेसियामा नेपाली श्रमिकको माग घटेकाले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको उहाँको भनाइ छ । 

वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या वैदेशिक रोजगारको तथ्याङ्क राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो तर यो सङ्ख्या चालु आवमा भने औसत ५० हजारमा सीमित भएको छ ।

साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या ५५ हजार ५७५ छ भने भदौ महिनामा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गत वर्ष साउनमा ७३ हजार ३९ जना, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । 

गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि भएको थियो । हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपाललाई पनि परेको छ ।