३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बेलायत जाने सपना : ५० भन्दा बढी ठगिए

बेलायत जाने सपनाले ५० जनाभन्दा बढी युवा ठगीमा परेका छन्। बेलायतमा उत्कृष्ट सेवा–सुविधा र तलबसहितको प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौं रूपैयाँ उठाएको पीडितले दाबी गरेका छन्। उनीविरुद्ध पीडितले बुधबार वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

लामाको फन्दामा पर्ने युवा प्रायः काभ्रेका हुन्। ‘विदेशी सपनाले नराम्रोसँग फसियो। काम गरेर बिहान–बेलुका छाक टार्नुपर्ने गरिबलाई विभाग धाइरहनुपरेको छ। लामाको मिठो बोलीमा सहजै फसेँ। अहिले लामा सम्पर्कविहीन छन्,’ काभ्रेकै एक पीडित भन्छन्, ‘सामाजिक सञ्जालबाट सहजै फस्यौं। फेसबुक चलाउनाले आज चार लाख गयो। सामाजिक सञ्जालकै कारण आज घर न घाटको भइयो। बेलायत जाने सपनाले ऋण काढेर लाखौंलाख पैसा लामालाई बुझाएको आज उनले यो दिन देखाए। न्याय माग्न विभागको ढोकामा आएका छौं, के हुन्छ थाहा छैन।’

आफ्नै काभ्रेवासीसँग त छलकपट गरे–गरे, हुँदा हुँदा ललितपुर, मकवानपुर, भक्तपुर, बारा र बागलुङका युवाबाट डेढदेखि चार लाख रूपैयाँसम्म लामाले उठाएको पीडितको दाबी छ। बेलायतमा कमाइ राम्रो छ, एक घन्टाबराबर १० पाउन्ड हुन्छ, पिर–चिन्ता केही लिनुपर्दैन। बेलायतमा आफ्नै भतिजो रहेको भन्दै लामाले ती युवालाई मक्ख पारेको विवरण पीडितले दिए।

हेर्दा लामा धेरै सोझा थिए। उनको वास्तविकता हामीले पहिचान गर्न सकेनौं। सबैलाई कुराले मक्ख बनाउने उनको बानी थियो। ५०–६० जना युवामाझ लामा साह्रै प्रिय थिए। हामीबीच लामाले शंका गर्ने ठाउँ एक प्रतिशत पनि छाडेनन्। उनको बोलीमा दम थियो। हाम्रो पैसा कसरी फुत्कियो चाल पाएनौं,’ एक पीडितले भने।

पीडितले भनेअनुसार लामा दसैंअगाडि नै उनीहरूबाट सम्पर्कविहीन भएका थिए। कलंकीस्थित खसीबजारनजिक दुईवटा कोठा भाडामा लिई बेलायत पठाउने भन्दै प्रायः युवालाई त्यहाँ बोलाएको जानकारी पीडितले दिए। ‘दसैंअगाडि नै बेलायत उडाउने भनेका लामाले आज तिहार सकिँदा विभागमा धाउने बनाएका छन्,’ मकवानपुरका पीडितले भने, ‘बेलायत पठाउने भन्दै खसीबजारमा खोलिएको त्यो कोठामा दुईवटा सोफा र दुईचारवटा कुर्सीबाहेक अन्य केही थिएन। त्यही कोठामा बसेर पनि लामा ठूलै गफ छाँट्थे। उनले दिएको गफ नेताले दिएको भाषणभन्दा ठूलो थियो। होला त भन्ने पनि लाग्यो। आज यस्तो हालतमा पारी उनी सम्र्पकविहीन छन्।’

लामालाई हेर्दा, बोल्दा र बुझ्दा सबैले सोझो ठान्ने गरेको पीडितले बताए। ‘बेलायत जान दुईचार जनाले मात्र पैसा दिएका भए पनि पत्याउन सकिँदैनथ्यो। ४०–५० जना साथी सबैले पैसा दिँदा कसरी विश्वास नगर्नु ? लामाले फेरि पैसा दिनेजति सबैको धमाधम काम भइरहेको छ भन्दै सुनाउँथे। मैले पनि डेढ लाख दिएको छु,’ लामाकै जिल्लावासी छिमेकी एक पीडितले भने।

यी सबै युवालाई ठगी गर्ने लामा मात्र नभएर उनकी पत्नी चमेलीमाया सिङताङ पनि रहेकी छन्। बेलायतको सपना देखाई ठगी गर्दै आएका लामाको बैंक खातामा केही युवाले मोटो रकम हालेका थिए भने प्रायः पीडितले लामाकी पत्नी सिङताङको बैंक खातामा पनि लाखौं रूपैयाँ हालिदिएको बताए।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विदेश पठाउने नाममा अचाक्ली रकम असुल्ने तर नपठाउने गरेका छन्। त्यो मात्रै होइन, धेरै पारिश्रमिक तोक्ने तर न्यून मात्रै उपलब्ध गराउने गरेको उनले बताए। यस्तै एउटा काम भनी अर्कोमा लगाउने, सम्झौताबेगर अर्कै कम्पनीको भिसा दिने, विकसित मुलुक भनेर धेरै रकम असुल गरी त्यहाँ नपठाएको उजुरी परेको उप्रेती बताउँछन्।

‘निवेदक र पीडकबीच छलफल गराउँछौं,’ निर्देशक उप्रेती भन्छन्, ‘दुवैका कुरा सुनी मिलापत्र भए मिलापत्र गराएर टुंग्याउँछौं। पीडितले चित्त नबुझाए मुद्दा दायर गर्छांै।’ धेरै दलाल र म्यानपावरले कमाउधन्दा अँगालेकाले वैदेशिक रोजगारीमा विकृति बढ्दै गएको अधिवक्ता सोम लुइँटेलले बताए। श्रम मन्त्रालयले २०७२ सालमा निःशुल्क भिसा र टिकटको व्यवस्था ल्याएको थियो। यसमा सेवा शुल्क १० हजारभन्दा बढी लिन नपाइने भनियो तर व्यवसायीले २० गुणाभन्दा बढी रकम कामदारबाट असुल्ने गरेका छन्। एक लाख आसपास त प्रायःले तिरिरहेका छन् तर सरकारले व्यवसायीलाई कारबाही गर्न सकेको छैन,’ अधिवक्ता लुइँटेल भन्छन्, ‘प्रभावकारी कार्यान्वयन हुन सकेको भए यसरी ठगी, बाध्यकारी श्रमशोषण, बेचबिखन हुने थिएन।’

अधिवक्ता लुइँटेल पीडितलाई कानुनी अधिकार थाहा नहुँदा पनि धेरै ठगी भएको बताउँछन्। ‘यथेष्ट प्रमाण देखिए मात्रै कार्यान्वयन हुने भएकाले धेरै श्रमिकसँग प्रमाण सुरक्षित नहुँदा ठगिएका छन्,’ उनी भन्छन्।

सूचना अधिकारी उप्रेतीका अनुसार विभागमा धेरै व्यक्तिगत उजुरी आउने गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार पाँच सय उजुरी परेका छन्। ‘वैदेशिक रोजगारीमा अशिक्षितभन्दा शिक्षित युवा धेरै ठगीमा पर्ने गरेका छन्,’ उनले भने, ‘पढेलेखेका युवा खाडीभन्दा युरोप जान इच्छुक हुने गरेका छन्। सामाजिक सञ्जालबाट अत्यधिक युवा ठगिएका छन्। खाडीमा गएका नेपाली युवाले पनि युरोपलाई लक्षित गरिरहेका छन्, जसका कारण ठगीमा धेरै पर्छन्।’

वैदेशिक रोजगारीमा जान लागेका व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगीको सम्भावना नरहने निर्देशक उप्रेतीले जानकारी गराए। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्। वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार यस क्षेत्रमा नियतवश ठगी हुने गरेको बताए।

प्रकाशित: ९ मंसिर २०८० ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App