१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध

योगदानकर्ताका सन्ततिले पनि स्वास्थ्य उपचार सुविधा पाउने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषले योगदानकर्ताका पारिवारलाई पनि स्वास्थ्य उपचार सेवा दिइने बताएका छन् । कोष स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनका अनुसार आगामी केही दिनमा नै औपचारिक रूपमा नयाँ सुविधा घोषणा गरिनेछ ।

 कोषले उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचार सुविधाअन्तर्गत हालसम्म योगदानकर्ता र योगदानकर्ताको पति वा पत्नीले सुविधा पाउने व्यवस्था थियो । तर, अब भने १८ वर्ष नपुगेका सन्ततिले पनि यस्तो सुविधा पाउने उनले बताए । ‘मैले विभागीय मन्त्रीमार्फत कोषबारे जानकारी लिँदै आएको छु ।

सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचारलगायत अन्य सुविधा पाउने व्यवस्था थियो । त्यसमा सुविधाहरू थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेको सुन्दा मलाई अत्यन्तै खुसी लागेको छ,’ उनले भने । स्वास्थ्यमा सबैको सहज पहुँच पुर्‍याउन यो कार्यक्रम एक उत्कृष्ट नमुना कार्यक्रम उनले विश्वास व्यक्त गरे । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हालसम्म पाँच लाख श्रमिक कोषमा आबद्ध भइसकेको भन्दै विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समावेश हुन आग्रह गरे ।  

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको बताउँदै उनले कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौती सामूहिक प्रयासबाट सम्बोधन हुने विश्वास राखेको बताए । ‘गत चैत ८ गते मात्रै सुरुवात गरिएको उक्त कार्यक्रममा लाखौँ श्रमिक सूचीकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित छु । यस सन्दर्भमा सरल र सहज रूपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशित गर्दछु,’ उनले भने । त्यस्तै, कार्यक्रममा कोषका कार्यकारी अधिकृत कविराज अधिकारीले भने कोषलाई अझै सुदृढ बनाउन नयाँ अनलाइन भुक्तानी तथा नयाँ स्वास्थ्य संस्थाहरू सम्झौता गरिने बताए ।

 साढे १८ हजार रोजगारदाता आबद्ध
सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाखभन्दा बढी श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार हालसम्म नौ लाख २८ हजार चार सय ५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार सात सय ९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६ सय २२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीनजना श्रमिक आबद्ध भएका छन् । 

सरकारले ११ मंसिर ०७५ मा औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष योजना सञ्चालनमा ल्याएको हो । त्यस्तै, वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि भने ८ चैत ०७९ मा समाजिक सुरक्षालाई अनिवार्य गरिएको हो । साथै, गत साउनदेखि भने अनौपचारिक क्षेत्र तथा स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न थालिएको हो । अनौपचारिक क्षेत्रको कार्यविधि कार्यान्वयका लागि सातवटा पालिकाले कोषसँग सम्झौता गरिसकेको छ । त्यस्तै, कोषमा हालसम्म १८ हजार चार सय ३९ रोजगारदाता आबद्ध भएका छन् ।

संख्यामा दृष्टिकोणमा कोषका अझै पनि धेरै रोजगारदाता र श्रमिक आबद्ध हुन बाँकी रहेको कोषका कार्यकारी अधिकृत अधिकारीले बताए । कोषलाई अनिवार्य गरिसक्दा पनि कोषका आबद्ध हुन आनाकानी गर्नु र सूचीकृत भइसकेको रोजगारदाताले योगदान रकम भुक्तानी नगर्नु कोषको मुख्य चुनौती भएको उनको भनाइ छ । 

 ४४ अर्ब ८५ करोड संकलन
हालसम्म योगदानकर्ताबाट कोषमा ४४ अर्ब ८५ करोड संकलन भएको छ । तर, कोषले हालसम्म दाबीबापत ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार रुपैयाँ योगदानकर्ता र उनका परिवारलाई भुक्तानी गरिसकेको छ । कोषले सञ्चालन गरेको औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा एक लाख ४३ हजार दुई सय ४२ वटा दाबीबापत ७६ करोड २५ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा तीन हजार ६ सय ८५ वटा दाबीबापत आठ करोड ७७ लाख २९ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोे छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत चार सय १४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत पाँच अर्ब ४९ करोड ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजनाअन्तर्गतका सुविधा यसै आर्थिक वर्षदेखि योगदानकर्ताले कोषको प्रणालीसँग आबद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगदरहित रूपमा नै प्राप्त गर्ने व्यवस्था गरिएको छ । हाल कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या ७० रहेकोमा यो संख्या क्रमशः बढाउँदै लाने कोषको नीति रहेको छ ।

 योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज भुक्तान
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । कोषले चालू आर्थिक वर्ष ०८०/८१ का लागि योगदानकर्ताको योगदान रकममा वार्षिक ७.५ प्रतिशतका दरले ब्याजदर तोकेको हो । यसका अतिरिक्त योगदान रकममा प्रतिफलसमेत प्रदान गर्दै आएको छ ।

यस्तो प्रतिफल रकम गत ०७८/७९ मा ब्याजका अतिरिक्त योगदान रकमको १.२५ प्रतिशतका दरले सम्बन्धित खातामा जम्मा गरिएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । यसैगरी योगदानकर्तालाई कोषले धितोमा आधारित घर र शैक्षिक सापटीका लागि वार्षिक ९.२५ प्रतिशत र विशेष सापटीका लागि वार्षिक ८.६ प्रतिशत ब्यजदर कायम गरेको उनले बताए । योगदानकर्ता सापटीअन्तर्गत हालसम्म नौ हजार सात सय ६४ जना योगदानकर्ताले कुल एक अर्ब ७५ करोड ६० लाख सहुलियतपूर्ण ब्याजदरमा सापटी लिएको कार्यकारी अधिकृत अधिकारीले बताए ।  
 

ad
ad