• ३१ वैशाख २०८१, सोमबार

वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

blog

काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।”

छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनामा सबै क्षेत्रका श्रमिक आबद्धता गराउने बताउनुभएको हो । 

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय नारासाथ गत चैत ८ गते वैदेशिक रोजगार र स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षाको सुरु गर्नुभएका प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानेबेलामा अनिवार्य गरेपछि एक पटक गरेर गएका श्रमिकलाई कोषको योजनामा निरन्तरतामा चुनौती देखिएको बताउनुभयो । साथै उहाँले कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या हालसम्म चार लाख ६६ हजार ६२२ रहे पनि यसमा नियमित गर्ने थोरै रहेकाले नियमित गर्ने व्यवस्था मिलाउन विभागीय मन्त्री, सचिव र कोषका कर्मचारीलाई निर्देशन दिनुभयो ।  

औपचारिक क्षेत्रका निजी सङ्गठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको कोषको योजनामा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिने अवसर प्राप्त हुनुलाई आफूले ठुलो उपलब्धिका रूपमा लिए पनि आबद्ध सङ्ख्याप्रति निराशा प्रकट गर्नुभयो । 

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रूपमा लिँदै स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानुनी आधार तयार गर्न आग्रह गर्दै यसमा सङ्घीय सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रूपियाँसम्म पेन्सन लिन थाल्नु आफैँमा महत्वपूर्ण रहेको प्रधानमन्त्रीले बताउनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा योजना योगदानकर्तामैत्री, स्थायी र गुणस्तरीय बनाउँदै तिनको प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा लगानी मानव पुँजी निर्माणमा महत्वपूर्ण भएकाले यसमा लगानी गर्दा सरकार, रोजगारदाताको पनि आर्थिक दायित्व कम हुने बताउनुभयो । 

संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटयुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा आबद्ध गराउने कार्यक्रमलाई तीन दशक लामो टे«ड युनियन आन्दोलनको उपलब्धि रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषमा आबद्धता भएकाको हालको सङ्ख्या निराश मान्ने नभएर क्रमशः सुधार हुँदै गएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रमान मल्ल र नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कोषमा जम्मा भएको पुँजीलाई देशको विकास निर्माणमा लगानी गरेर पुँजीको परिचालन गर्न सकेमा मात्रै यसमा आबद्ध हुने श्रमिक र रोजगारदाता दुवैले फाइदा लिन सक्ने बताउनुभयो । 

कोषका अनुसार २०७६ साउन १ गतेदेखि हालसम्म कोषमा कोषका हालसम्म १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध भएका छन् । यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ । 

करारलाई आबद्ध गर्न सुरु

सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउन सुरु गरेको छ । सामाजिक सुरक्षा कोषमा कार्यरत करार वा अस्थायी सेवामा कार्यरत कर्मचारीलाई यही मङ्सिरदेखि आबद्ध गराउने तयारी पूरा भएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिनुभयो । उहाँले सरकारका विभिन्न क्षेत्रमा करारमा रहेका कर्मचारीलाई कोषमा आबद्ध गराउन कार्यविधि तयार गरी अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।