• ३१ वैशाख २०८१, सोमबार

रुसी सेनामा मर्न थाले नेपाली

blog

रुसी सेनामा भर्ती भएका नेपालीसहितका विदेशी नागरिक । तस्बिर : सामाजिक सञ्जाल

राजेश चाम्लिङ राई

काठमाडौँ, मङ्सिर १४ गते । करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । 

तीमध्ये थपलियाको ११ महिनाअघि नै र बाँकीको केही दिनअघि युक्रेनसँग भएको भिडन्तमा मारिएको बताइएको छ । सम्भवतः रुस–युक्रेन युद्धमा नेपाली मारिएको यो पहिलो औपचारिक जानकारी हो तर सम्बद्ध पक्षले तत्काल ध्यान नदिने हो भने यो सुरुवात मात्र हुने देखिन्छ र आगामी दिनमा यस्ता थुप्रै खबर आउने छन् । 

कारण स्पष्ट छ रुसी सेनामा नेपाली युवादेखि वयस्कसम्म धमाधम भर्ती भइरहेका छन् । तर हालसम्म कति नेपाली रुसी सेनामा भर्ती भएका छन् भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । तर करिब एक महिनाअघि रुसी सेनामा भर्ती भएका एक नेपाली यो सङ्ख्या १० हजारभन्दा बढी भएको अनुमान गर्छन् । “हामी एउटै रुममा मात्र चार जना सँगै छौँ,” नाम उल्लेख गर्न नचाहने ती व्यक्तिले भने, “यस्ता त कति छन् कति ।” 

ती व्यक्तिका अनुसार नेपालबाट पर्यटक (भिजिट) तथा विद्यार्थी भिसामा रुस प्रवेश गरेपछि सेनामा भर्ती हुने गरेका छन् । त्यति मात्र हैन साउदी अरब, कतार, युएईलगायतका देशबाट पनि भिसा मिलाएर रुसी सेनामा भर्ती हुन गइरहेको उनले बताए । बुधबार निधन भएको घोषणा गरिएका स्याङ्जाका प्रितम कार्की पनि दुबई हुँदै रुस पुगेको बताइएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार दुई वर्षयता भिजिट भिसामा रुस जाने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । विभागका अनुसार सन् २०२२ मा एक हजार १७४ जना रुस गएकोमा हालसम्म ४४५ जना मात्र स्वदेश फर्किएका छन् भने सन् २०२३ मा एक हजार ७३२ जना भिजिट भिसामा गएकामा ७३९ जना फर्किएका छन् ।  रुसी सेनामा नेपाली भर्ती हुनु गैरकानुनी हो । नेपाल र रुसबिच यसबारे कुनै औपचारिक सम्झौता छैन । यद्यपि अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्दप्रसाद शर्मा ‘बन्दी’ रुसले नेपालीलाई भर्ती गर्न अन्तर्राष्ट्रिय कानुनले नछेक्ने बताउनुहुन्छ । “कस्तो रोजगारी रोज्ने भन्ने व्यक्तिको इच्छाको कुरा हो । वैधानिक रूपमा हतियार चलाउन पाउने संस्थाका सहभागी हुने विषयलाई कुनै अन्तर्राष्ट्रिय कानुनले बन्देज लगाउँछ जस्तो लाग्दैन,” उहाँले भन्नुभयो, “कतिपय अमेरिकी सेना त कतिपय भारतीय सेनामा छन् । यसलाई व्यक्तिको छनोट मान्नु पर्छ ।”

वैदेशिक रोजगारीका लागि भने रुस नेपालीका लागि खुला गरिएको देश हो । पानीजहाज तथा अन्य विभिन्न कामका लागि नेपाली यसअघिदेखि नै रुस जाने गर्दथे । तर अन्य कतिपय कामभन्दा निकै आकर्षक तलब पाइने भन्दै हाल सयौँ नेपाली रुसी सेनामा भर्ती भइरहेका छन् । भर्ना भएर सम्पर्कमा आएका नेपालीका अनुसार भर्नाका लागि कुनै मापदण्ड तोकिएको छैन । “रुस प्रवेश गर्नासाथ भर्ती भइहालिन्छ, उमेर तथा अन्य कुनै मापदण्ड छैन,” सेना बनिसकेका ती व्यक्तिले भने, “तलब सुरुमा एक लाख ९५ हजार रुबल (करिब दुई लाख ९३ हजार रुपियाँ) दिने भनिएको छ । त्यसपछि विभिन्न प्रक्रिया हुँदै मासिक चार लाखसम्म हुने बताइएको छ ।” 

भर्ती हुनेलाई पर्याप्त तालिमको व्यवस्था छैन । दुईदेखि तीन हप्ता हतियार चलाउने सामान्य तालिम दिएपछि सीधै युद्ध मैदानमा खटाइने उनले बताए । युद्ध मैदानमा भने नेपालीलाई अग्रपङ्क्तिमा खटाउने गरिएको छ । यसअघि रुसी सेना बनेर युद्ध मैदानमा खटिएका बर्दियाका विवेक खत्रीलाई युक्रेनले नियन्त्रणमा लिएको थियो । युक्रेनको बाखमुतबाट कब्जामा परेका खत्रीले एक भिडियोमा नेपाल फर्किन चाहेको बताएका थिए । अहिले उनको स्थिति अज्ञात छ । 

रुसले गत वर्ष (सन् २०२२) मा रसियन सेनामा भर्ती हुन चाहने विदेशी नागरिकलाई एक वर्षभित्रै रुसको नागरिकता दिने कानुन बनाएको छ । जसका कारण नेपाल मात्र हैन अन्य देशका नागरिक पनि जीविकोपार्जनका लागि राम्रो तलब पाउने आसमा भर्ती भइरहेका छन् ।