१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३० आइतबार १२:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेशमा बढ्दै मानव बेचबिखन, तीन वर्षमा ४१ घटना दर्ता, ५४ जना पक्राउ

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:२४:oo

पाँच महिलालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले सप्तरीका दुईजना गेस्टहाउस सञ्चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले १० मंसिरमा राजविराज नगरपालिका– ३ मा रहेको लक्ष्मी गेस्टहाउसका सञ्चालक अरुणचन्द्र मिश्र र सप्तरी महादेवा गाउँपालिका– २ का रामप्रकाश मण्डललाई पक्राउ गरेको थियो । मिश्र र मण्डलले २५ देखि ३५ वर्ष उमेर समूहका पाँच महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन लामो समयदेखि गेस्टहाउसमा राखेका थिए । जसमा एकजना सुनसरी र बाँकी चारजना सप्तरीका हुन् ।

मिश्र र मण्डलमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । आर्थिक प्रलोभन देखाई महिलाहरूलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

फेसबुक, इमो, ह्वाटसएपलगायत सामाजिक सञ्जालका कारण पछिल्लो समय मधेश प्रदेशमा मानव बेचबिखनलगायत घटना बढ्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयमन अनुसार पछिल्लो तीन वर्षमा विभिन्न जिल्लामा ४१ मानव बेचबिखनका घटना दर्ता भएको छ । आर्थिक वर्ष ०७७/७८ मा १२, आव ०७८/७९ मा ११, आव ०७९/८० मा १३ वटा मानव बेचबिखनका घटना दर्ता भएका हुन् ।

चालू आवको कात्तिक मसान्तसम्ममा पाँचवटा घटना दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । मानव बेचबिखनका घटनामा संलग्न रहेको आरोपमा आव ०७७/७८ मा १६, आव ०७८/७९ मा १०, आव ०७९/८० मा १२, चालू आव ०८०/८१ को कात्तिक मसान्तसम्म गरी ५४ जना पक्राउ परेका छन् ।

मधेश प्रदेशमा मानव बेचनबिखन न्यूनीकरणका लागि माइती नेपाल, आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, साना हात नेपाललगायत संघसंस्थाले काम गरिरहेका छन् । ती संस्थाका अनुसार मधेश प्रदेशमा वार्षिक रूपमा करिब एक हजार महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गर्ने गरिएको छ ।

माइती नेपालले पर्साको वीरगन्ज, धनुषाको बसपार्क र सर्लाहीको मलंगवानजिक सीमावर्ती क्षेत्रहरूबाट भारततर्फ बेचिन लागिरहेकालाई उद्धार गर्ने गरेको छ । माइती नेपालका एक कर्मचारीका अनुसार जनकपुर बसपार्कबाट मात्रै महिनामा १५ देखि २० महिलालाई उद्धार गर्ने गरिएको छ । माइती नेपालले वार्षिक रूपमा साढे दुई सयदेखि तीन सयसम्मलाई उद्धार गर्ने गरेको छ ।

प्रहरी उपरीक्षक महतो मधेश प्रदेशमा मानव बेचबिखनको घटना प्रहरीमा दर्ता कम भए पनि अवस्था त्योभन्दा फरक रहेको बताउँछन् । आर्थिक प्रलोभन, वैवाहिक प्रलोभन, विदेश पठाउने बहाना, यौन शोषण, श्रम शोषणलगायत कारण मानव बेचबिखनको घटना बढेको उनको भनाइ छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देविका खत्रीले मधेश प्रदेशमा मानव बेचबिखनको घटना प्रहरीमा दर्ता भएभन्दा फरक अवस्था रहेको बताइन् । प्रदेशमा मानव बेचबिखनको घटना बढिरहे पनि प्रदेश सरकार भने यसमा खासै गम्भीर देखिएको छैन । उपसचिव खत्रीले पटक–पटक मन्त्रालयको नाम फेरिने भएकाले पनि खासै काम गर्न नसकेको बताइन् ।

ad
ad