३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मानव बेचबिखनमा ग्रामीण भेगका युवती धेरै

आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य फस्टाउँदै गइरहेको छ। मानव बेचबिखन समाजको लागि कलङ्क हो। दुर्गम क्षेत्रका कम पढेलेखेका युवतीहरूलाई प्राय दलालहरूले गलत व्यवसायमा लगाउने गरेका छन्। ती युवतीहरू आर्थिकरुपमा कमजोर पनि रहेका हुन्छन्। जसलाई दलालले सहजै परिचालन गर्ने गरेका छन्।

त्यस्तै विभिन्न प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाई गलत वेश्यावृत्तिमा लगाएको आरोपमा सङ्खुवासभाको चिचिला गाउँपालिका १ का ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले जानकार गराए। मङ्सिर १० गते पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पङ्गेनीले जानकारी गराए।

रातोपुलस्थित पौडेल समेतले सञ्चालन गरेको नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती बेश्याबृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले ३ जनाको उद्धार गरेको थियो। त्यसरी उद्धार भएका युवतीहरू मध्ये २ जना नाबालीका रहेको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जानकारी दिएको छ। 

‘दलालले मसाज सेन्टरमा युवतीलाई शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको पाइएको छ,’ उनले भने, ‘युवतीले नमानेको खण्डमा शारीरिक तथा मानसिक यातना समेत दिने गरेको छ। त्यतिमात्र नभई पुरुषहरू सँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफू सँग सुरक्षित राख्ने गरेको हुन्छन्।’ त्यसैगरी युवतीहरू दलालले भने अनुसारको नमान्दा सामाजिक सञ्जाल मार्फत आफन्तलाई फोटो र भिडिया पठाइदिने भनी डर त्रास समेत दिने गरेको उनले बताए।

दलालहरूले आर्थिक अवस्था कमजोर भएका र हेर्दा सुन्दर देखिनुको साथै ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई फसाउन विभिन्न जाल बिछाएका हुन्छन्। त्यस्ता युवतीहरूको कमजोरी पक्षलाई दलालीले केन्द्रबिन्दु पारेका हुन्छन्। दलालले आकर्षक सेवासुविधा देखाउँदै गरिब समुदायका युवतीहरूलाई मसाज मात्र नभई विभिन्न कार्यमा लगाउँदै आएका ब्युरोका प्रहरी उपरीक्षक पङ्गेनीले बताए। 

उनका अनुसार मानव बेचबिखन हुनमा पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरू गरिन्छ। अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको प्रहरी उपरीक्षक पङ्गेनीले जानकार गराए। 

हाल समाजमा फस्टाउँदो गतिमा रहेका अवैध सङ्गठित अपराधहरू लागू औषध, हातहतियार मध्ये प्रमुख मानव बेचबिखन रहेको पङ्गेनीले बताए। ‘मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ,’ उनले भने, ‘दलालहरूले श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँछन्। उनीहरुलाई गलत कार्यहरूमा लगाइन्छ।’

उनले थपे, ‘महिला वा बालिकालाई बेश्याबृत्तिमा लगाउने, यौनदासी बनाउने र आफ्नो मनोरञ्जनका सामान खरिद गरेझैँ युवती राख्ने र विभिन्न शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृत्ति फेरिँदै आएको छ।’ स्वदेशमा अशिक्षा र रोजगारीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएका पङ्गेनीले बताए।    

घरमा श्रीमान् र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण रहेको ब्युरोका अधिकारीहरूले खुलाए। 

आधुनिक सुविधाको उपभोग गर्ने रहर, धन कमाउने र विदेश घुम्ने प्रलोभनले गर्दा ग्रामीण क्षेत्रका युवती बेचिने मुख्य कारण रहेको पङ्गेनी बताए। 

‘हिंसामा परेकाहरू मानिस सधैं अवसरको खोजीमा हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडै त्यस्ता दलालको पन्जामा पर्छन्। जसले गर्दा मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी हुँदैन। मानव बेचबिखनमा लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिने गरेका छन्।’

उनी अघि बढे, ‘पीडितलाई पहिलेजस्तो वेश्यालयमा नै पु¥याउनुपर्छ भन्ने छैन। डान्स बार, क्याबिन रेस्टुरेन्ट लगायतमा पनि बेचिन्छन्। विवाह गरेको नाटक गरी विदेश पुर्‍याउने पनि गरिन्छ। स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन्। आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।’

मानव बेचबिखन रोक्न समाजमा चेतना फैलाउन ठुलो जरुरी रहेको ब्युरोका अधिकारीहरूले जानकारी गराए। विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्छ। पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने कुरा उल्लेख गराउन जरुरी रहेको ब्युरोको सुझाव रहेको छ।  

‘रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउनुको साथै व्यक्तिगत तवरबाट आफू सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने। यसैगरी ग्रामीण क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने,’ ब्युरोका प्रहरी उपरीक्षक पङ्गेनीले मानव बेचबिखनका उपाय बताए।

प्रकाशित: १३ मंसिर २०८० ०५:४५ बुधबार

आधुनिक युग मानिस बेचबिखन दुर्गम क्षेत्र आर्थिकरुपमा कमजोर दलाल वेश्यावृत्ति