• ३१ वैशाख २०८१, सोमबार

रोजगारीमा बाह्र करोडभन्दा बढीको ठगी

blog

काठमाडौँ, मङ्सिर २१ गते । सुर्खेतका कृष्णबहादुर रानामगर (रिदम भनेर चिनिने) ले क्रोएसियामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै १२ करोडभन्दा धेरै रकम ठगी गरेको खुलेको छ । क्रोएसिया जाने प्रलोभनमा परेर १५० जना पीडितले रिदमलाई प्रतिव्यक्ति आठ लाखदेखि १४ लाख रुपियाँसम्म दिएको भन्दै मिडियामा आएपछि सो विषय खुलेको हो । पीडितले सरकारी निकाय, प्रहरी प्रशासनमा ठगिएको प्रमाणसहित पटक पटक धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै आएका छन् । रिदमसहितका पाँच जनाको गिरोहबाट ठगिएका युवा अधिकांश दोलखावासी रहेको जनाइएको छ । 

ठगीमा परेकामध्ये दोलखाका गोकुलबहादुर कार्कीले क्रोएसियामा होटलमा आकर्षक कमाइ हुने भन्दै पटक पटक गरेर पैसा लिएर एक वर्षसम्म पनि नपठाएको र अहिले आएर बेपत्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार दोलखा जिल्लाबाट मात्रै रिदमले दुई करोड रुपियाँ पैसा असुली गरेका छन् । रिदमबाट ठगिएका १५० जनामध्ये ६०/६५ जना नियमित सम्पर्कमा रहेको पनि पीडितमध्येका कार्कीले जानकारी दिनुभयो ।

रिदम र उनको गिरोहलाई पैसा दिएको बैङ्क डिटेल लिएर आफूसहित २५ जनालाई लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन धाइरहनुभएका कार्कीले सबै प्रमाण उपलब्ध गराउँदा पनि न्याय नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । रिदमको गिरोहमा मीनाकुमारी पुनमगर, देवी लामा, ओमकुमारी खपाङ्गी पनि सक्रिय रहेको आरोप पीडितमध्येका अर्का युवा बलराम पराजुलीको छ । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ नगरिएको भन्दै उहाँले आक्रोश प्रकट गर्नुभयो ।