१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुसमा मारिएका नेपालीका परिवारजनलाई क्षतिपूर्तिको पहल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४o:oo

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत आग्रह गरेको थियो । त्यसपछि नेपाली दूतावासले रुसको विदेश मन्त्रालयमा पहल थालेको छ । 

रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया र राजकुमार रोका, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । रुसी सेनाले नेपाली दूतावासलाई मृतकहरूको मृत्यु प्रमाणपत्र पठाएको छ । रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले क्षतिपूर्तिका लागि पहल भएको जानकारी दिए । ‘मृतकका परिवारजनलाई क्षतिपूर्तिका लागि पहल जारी राखेका छौँ । यसबारे रुस सरकारबाट जानकारी आएपछि सार्वजनिक गर्नेछौँ,’ उनले टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

नेपाल सरकारले उनीहरूको शव नेपाल पठाउन र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । ‘रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही आधारमा नेपाली दूतावासका तर्फबाट रुससँग क्षतिपूर्तिका लागि कूटनीतिक पहल थालिएको तुलाधरले बताए । 

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन अनुरोध गरिसकेको छ । सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्यलाई रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेको छ । उल्लेखित कामबाहेक रुस जानुपर्ने नेपालीले कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने नियम परराष्ट्रले लागू गरेको छ । परराष्ट्रले गत १६ साउनमा विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराएको थियो । रुसी सेनामा नेपालीको भर्ती गर्ने नेपाल सरकारको नीति नभएको भन्दै सेनामा रहेका नेपालीको संख्याबारे नेपालले रुससँग जानकारी मागेको छ । यसबारेमा नेपाललाई रुसबाट जवाफ आएको छैन । 

युक्रेनमा थप बन्धकबारे जानकारी छैन : राजदूत तुलाधर
परराष्ट्रले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको १८ मंसिरमा पुष्टि गरिसकेको छ । तर, उनीबाहेक अन्य कोही नेपाली बन्धक रहेको विषयमा जानकारी नआएको राजदूत तुलाधरले जानकारी दिए । काभ्रेका सिद्धार्थ ढकाललाई पनि युक्रेनको सेनाले नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा आएका वेला राजदूत तुलाधरले दूतावासले यसको पुष्टि गर्न नसकेको बताए । 

‘अहिले रुस र युक्रेनबीच युद्ध भएको हुनाले विभिन्न प्रकारको प्रोपगान्डा चल्ने गरेको छ । हामीकहाँ औपचारिक रूपमा जानकारी नआएको हुनाले अहिले नै पुष्टि गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीलाई परिवारजनले पनि भनेको छैन । यसबारे रुसले पनि जानकारी दिएको छैन ।’ बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँग युद्धका क्रममा असोज अन्तिम सातादेखि रुसी सेनाको नियन्त्रणमा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

ad
ad