• ३० वैशाख २०८१, आइतबार

‘रुसी सेनामा हुनेको तथ्याङ्क सङ्कलन हुँदै छ’

blog

काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय नेपाली रुसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको सोमबार आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसबारे तथ्याङ्क सङ्कलन हुँदै गरेको पनि जानकारी दिनुभयो । उहाँले रुसी मात्र नभई युक्रेनको सेनामा पनि नेपाली रहेको जानकारी पाएको बताउनुभयो । 

उहाँले अर्को प्रसङ्गमा इजरायलमा हमासले गरेको आक्रमणका बेला हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले पहल गरिरहेको पनि उल्लेख गर्नुभयो ।

आन्तरिक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुरुदेखि नै सत्ता गठबन्धनबारे विभिन्न टीकाटिप्पणी भए पनि सत्ता गठबन्धन पूरा अवधि जाने बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएको एक वर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । यो गठबन्धन पूरै अवधि जान्छ ।” 

प्रधानमन्त्री प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताका पक्षमा काम गरिरहको छ तर प्रतिक्रियावादी आतङ्कित छन् । झुटा प्रचार भएका छन् । त्यसको प्रतिवाद गरेर जनतालाई सही सूचना दिनु प्रेसको भूमिका हो ।” 


प्रधानमन्त्रीले जनतालाई सुशासन, सामाजिक न्याय र समृद्धि दिने वातावरण बन्दै गएको तर सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताविरुद्ध भ्रम छर्ने कार्य भइरहेकाले दुष्प्रचार चिर्न आह्वान गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लाग्दा हुँदै नभएका दुष्प्रचार गरिएको प्रति प्रधानमन्त्रीले सजग गराउनुभयो । 

सो अवसरमा प्रधानमन्त्रीले अर्थतन्त्र ठुलो दबाबमा रहेको सरकारले लगातार सुधारको प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आउने आर्थिक वर्षमा परम्परागत बजेट हुन दिँदैनौँ, नीति कार्यक्रम नयाँ ढङ्गले आउँछ । जनताका सवाललाई लिएर बजेट परिमार्जन गर्ने तयारी गरिरहेका छौँ ।”

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका जनपक्षीय काम देखेर प्रतिक्रियावादीहरू व्यवस्थाविरुद्धको षडयन्त्रमा लागेको दाबी गर्नुभयो । परिवर्तन र शान्ति प्रक्रिया निष्कर्षमा पु-याउन नचाहने शक्तिले सरकारले गरेका कामको दुष्प्रचार गरिरहेकाले मिडियाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले पार्टीका अभियान र सरकारका राम्रा कामकारबाहीबारे प्रेस सेन्टरले सूचना प्रवाह गरिहरेको बताउनुभयो । उहाँका अनुसार प्रेस सेन्टर विधान सम्मेलनलनमार्फत सङ्गठनलाई चुस्तदरुस्त बनाउने छ । 

बैठकमा विधान संशोधनको मस्यौदा प्रस्तावमाथि छलफल भएको छ । प्रेस सेन्टरको केन्द्रीय समिति ९९ जनाको हुने प्रस्ताव गरिएको छ । केन्द्रदेखि जिल्लासम्मका सदस्य र पदाधिकारीको सङ्ख्या घटाइएको छ ।