• ३० वैशाख २०८१, आइतबार

सात महिनामा तेइस करोडभन्दा बढी ठगी भएको दाबी

blog

काठमाडौँ, मङ्सिर २६ गते  । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कठिन छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा वैदेशिक रोजगारीबाट २३ करोड रुपियाँभन्दा बढी ठगी भएको दाबीसहित उजुरी परेका छन् । विभागमा सो अवधिमा ८६१ वटा उजुरी परेका छन् । उजुरीमध्ये २३० वटामा मिलापत्र हुँदा पीडितले चार करोड १५ लाख रुपियाँ फिर्ता तथा क्षतिपूर्ति पाएको वैदेशिक रोजगार विभागले जनाएको छ । जसमा संस्थागततर्फ २६९ र व्यक्तिगततर्फ ५९२ रहेका छन् । विभागका अनुसार विभागमा सो अवधिमा संस्थागत उजुरीतर्फ १६२ वटा मिलापत्र गराएबापत दुई करोड ९२ हजार रकम फिर्ता गराउन सफल भएको छ भने व्यक्तिगत उजुरीतर्फका ६८ वटा उजुरीमा मिलापत्र गराएबापत दुई करोड १४ लाख ९६ हजार रुपियाँ फिर्ता गराएको छ ।

ठगिएकाको मनोबल बढेको

वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या बढेसँगै यो क्षेत्रमा हुने ठगीका घटनाको प्रकृति परिवर्तन हुन थालेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । उहाँले विभागले गरेको तीव्र अनुगमन तथा अनुसन्धानका कारण वैदेशिक रोजगारीपीडितको उत्साह र मनोबल बढ्दै गएको दाबीसमेत गर्नुभयो । महानिर्देशक दाहालले आफूले नेतृत्व गरेपछि वैदेशिक रोजगारीका नाममा गलत गर्ने १६ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा विभागले अनुगमन वा उजुरीका आधारमा गलत ठहर भएका ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ भने दुई वटा म्यानपावर कम्पनीको दर्ता खारेज गरेको छ । 

विभागका महानिर्देशक दाहालले विदेश जाने बेला सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । 

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक दाहालले विभागका उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताउनुभयो ।

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ ।  विभागका अनुसार चालु आवमा व्यक्तिगतका ५९२ वटा उजुरी आएकामा ६० वटा मुद्दा अदालतमा दायर भएका छन् । जममा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् भने चार/पाँच वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका रहेका छन् ।