१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल वायुसेवा निगमका अधिकृत नक्कली भिसामा विदेश पठाउने धन्दामा संलग्न 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:१९:oo

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न रहेको खुलेको छ । निगममा कार्यरत छैटौँ तहका अधिकृत होमनाथ पोखरेल पक्राउ परेपछि यो तथ्य खुलेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न निगमका अधिकृत पक्राउ परेको जानकारी दिए । ‘नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउने धन्दामा नेपाल एयरलाइन्सका अधिकृत संलग्न रहेको खुलेको छ । उनले ट्राभल एजेन्टबाट रकम बुझेको अनुसन्धानबाट देखिन्छ । उनीसँगै अन्य अभियुक्तलाई पनि पक्राउ गरेका छौँ । अनुसन्धान जारी रहेको हुँदा थप नबोलौँ,’ उनले भने ।

प्रहरीका अनुसार ट्राभल एजेन्ट खनालको मिलेमतोमा विदेश जान चाहने युवाको नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्क्ली बैंक स्टेटमेन्ट बन्थ्यो । सोही कागजातका आधारमा नेपाल एयरलाइन्सका अधिकृत पोखरेलले युवाहरूलाई सजिलै ‘बोर्डिङ पास’ उपलब्ध गराउँथे । र, युवा नक्कली कागजातका आधारमा विदेश जान्थे । विशेषगरी उनीहरूले नक्कली भिसामा नेपाली युवालाई दुबई पठाउँदै आएका थिए । 

उनीहरूसँगै अनुसन्धान कार्यालयले थप पाँचवटा ट्राभल एजेन्टका सञ्चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका राप्रसाद भण्डारी, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे र स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली छन् ।

त्यसअघि कार्यालयले विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङसहित १३ जनाको समूह पक्राउ गरेको थियो । पक्राउ पर्नेमा आशिष थापा, जयराम श्रेष्ठ, भक्तबहादुर थापा, दीपक केसी, विवेक भनिने बलबहादुर रावत, अनिशा अमात्य, गोपाल रिजाल, पशुपति मैनाली, सागर चापागाईं, अजित ज्ञवाली, विपिन ढकाल र सरेश बिसंखे छन् । उनीहरूविरुद्ध सरकारी कागजात किर्ते कसुरसहित संगठित अपराधअन्तर्गत म्याद थप गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

करिब महिना दिनको अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले नक्कली कागजात बनाई विमानस्थलस्थित अध्यागमन, प्रहरी र एयरलाइन्सको मिलेमतोमा दुबईलगायत मुलुकमा मानव तस्करी गर्ने गरेको तथ्य खुलेको हो । यद्यपि, अनुसन्धान कार्यालयले अध्यागमनका कर्मचारी भने पक्राउ गर्न सकेको छैन । यसमा नेपाल वायुसेवा निगमसहित हिमालयन एयरलाइन्स, अलजजिरासहित पाँच एयरलाइन्सका कर्मचारी संलग्न रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा दैनिक दुई सय ५० भन्दा धेरैको तस्करी हुँदै आएको थियो । धन्दा गर्न तस्करले नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली बैंक स्टेटमेन्ट बनाउँदै आएका थिए । सोही कागजातका आधारमा उनीहरूले मानव तस्करी गर्दै आएका थिए । यसका लागि उनीहरूले एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँ बुझाउँथे । त्यस्तै, अध्यागन कार्यालयका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ बुझाउँथे । विमानस्थलस्थित कार्यरत प्रहरीलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँ बुझाउँथे । प्रहरीका अनुसार तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोड रुपैयाँ खर्च गर्ने गरेका थिए । 
 

ad
ad