• ३१ वैशाख २०८१, सोमबार

राहदानी अनलाइन फारम निःशुल्क

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १४ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो । 

प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिनुभयो । हाल निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका भट्टराईले सेवाग्राहीको सहजताका लागि प्रशासन कार्यालयले राहदानी अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेका बताउनुभयो । 

उहाँका अनुसार प्रशासन कार्यालयले राहदानीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेसँगै सेवाग्राहीले बिहीबारदेखि नै सेवा प्राप्त गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैँले भरी पेस गर्नुपर्ने राहदानीको फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको सेवाले प्रशासन र सेवाग्राहीबिचको सम्बन्ध निकट बनाउने अपेक्षा गरिएको छ । कात्तिक अन्तिम साता मात्र ताप्लेजुङ सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले प्रशासन कार्यालयबाटै राहदानीको फारम निःशुल्क भरिदिने व्यवस्था मिलाउने बताउनुभएको थियो । यसअघि सेवाग्राहीले फोटो पसल तथा साइबर केन्द्रहरूमा शुल्क तिरेर राहदानीको अनलाइन फारम भर्दैआएका थिए ।