१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रोजगारी सिर्जना गर्न नसक्ने अर्थव्यवस्था अहिलेको मुख्य समस्या : भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:२९:oo

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने अर्थव्यवस्था अहिलेको मुख्य समस्या भएको बताएका छन् । पुष्पलाल ज्ञानशालाले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपाली समाजको मुख्य अन्तर्विरोध’ विषयक विचार गोष्ठीमा उनले रोजगारी हरेक क्षेत्रसँग जोडिएको बताए ।

‘आजको अर्थव्यवस्थाले रोजगारी सिर्जना गर्दैन । यसबारेमा कम कुरा गरेर शास्त्रीय बहसमा गयौँ भने समाधान निस्कँदैन,’ उनले भने, ‘रोजगारी मान्छे बन्ने–बनाउने प्रक्रिया पनि हो । विकास–अविकसित छुट्याउने पनि रोजगारी हो ।’ भुसालले जीवनभन्दा बाहिर गएर मार्क्सवाद खोज्नेहरू इतिहासको पानामा सीमित हुने बताए । मार्क्सवादी विधिबाट बुझ्ने र बुझाउँदा समाजका अन्तर्विरोध पत्ता लाग्ने र समाधान गर्न सकिने उनले औँल्याए । 

‘मार्क्सवादले सबैको मूल्यांकन गर्छ । आज मार्क्सवादीहरू धेरै कम छन् । हामी एमाले, माओवादी, समाजवादी भयौँ, मार्क्सवादी भएनौँ । नेपालमा पुँजीवाद र सामन्तवादको राम्रोसँग व्याख्या नै भएको छैन । हामीले विश्वास गरेका नेता नै दलाल पुँजीवादको खेलौना भए,’ उनले भने । दलाल पुँजीवादले जहिल्यै शक्ति केन्द्रलाई प्रभावमा पार्ने गरेको उनले बताए । उनले नेतृत्वलाई गाली गरेर मात्रै युवा पुस्ताले औचित्य पुष्टि गर्न नसक्ने भन्दै भुसालले समस्याको समाधानका लागि मार्क्सवाद अध्ययन जरुरी रहेको औँल्याए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य परी थापाले नवउपनिवेश र अर्धसामन्ती अवस्था मुख्य समस्या भएको बताए । तथ्यका आधारमा सत्यमा आधारित भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमा पुँजीवादको बाछिटा मात्रै आएको उनको भनाइ थियो ।  

नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराईले पुँजीवादको हाउगुजीले नेपाली राजनीतिलाई सताएको बताइन् । राजनीतिक रूपमा बुर्जुवा क्रान्ति सम्पन्न भए पनि आर्थिक रूपमा क्रान्ति सम्पन्न हुन बाँकी रहेको उनले औँलयाइन् । ‘बुर्जुवा क्रान्ति पूरा गर्न कम्युनिस्टहरूले युद्ध लड्नुप¥यो । राजनीतिक रूपमा बुर्जुवा क्रान्ति सम्पन्न गरेर गणतन्त्रसम्म आइपुग्यौँ । आर्थिक रूपमा क्रान्ति पूरा गर्न बाँकी नै छ,’ उनले भनिन् । निजी स्वतन्त्रता र समानता सँगसँगै अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् । नेपाली राजनीतिमा सिद्धान्तमा अन्तर्विरोध र व्यवहारमा एकात्मक चिन्तन हाबी रहेको उनले औँल्याइन् ।

कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक संवाद थालनीका संयोजक संगीत श्र्रोताले दलाल पुँजीवादी वर्ग र श्रमजीविवर्गसहितको शोषित–उत्पीडित नेपाली जनताबीचको अन्तर्विरोध मुख्य रहेको बताए । ‘एकातिर दलाल पुँजीपति वर्ग छ, शासनसत्तामा । अर्कोतिर, त्यसको विरोधी पक्षको रूपमा मुख्यतः श्रमजीवि वर्गसहित नेपालको सम्पूर्ण शोषित उत्पीडित जनताको समूह छ,’ उनले भने । 

ad
ad