कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

‘छोरा त फर्किएन, शव फर्काइदिए हुन्थ्यो’

‘हामीले त्यस्तो लडाइँ चलेको छ, खतरा छ भन्दा उसले बाहिर हल्ला भएजस्तो खतरा छैन, मेरो चिन्ता गर्नु पर्दैन भन्थ्यो,’ देवान राईका बुबा धनराजले भने, ‘पहिलो महिनाको तलब भनेर ३ लाख रुपैयाँ पठाएको थियो ।’
दीपक परियार

पोखरा — रुस पुगेका छोरा देवान राईसँग अन्तिमपल्ट असोज १७ मा फोनमा कुरा हुँदा पोखराका धनराज राईको मन अमिलो भयो । आफू बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने र त्यहाँ फोन, इन्टरनेट केही नहुने जानकारी देवानले त्यसैबेला परिवारलाई गराएका थिए ।

‘छोरा त फर्किएन, शव फर्काइदिए हुन्थ्यो’

त्यसपछि उनको फोन आएन । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्दालड्दै २६ वर्षीय देवानको असोज २२ मा निधन भयो । खबर भने परिवारले मंसिर १ मा मात्र पाए ।

उदयपुरबाट ३० वर्षअघि पोखरा आएर ज्याला मजदुरी गर्दागर्दै धनराजले यतै बिहे गरे । पोखरा–१३ कमलपोखरीमा घर बनाएर बसे ।

गत वर्ष कात्तिकमा देवान विद्यार्थी भिसामा रुस पुगे । गत वैशाखमा रुसी सेनामा भर्ती भए । विश्वविद्यालयमा पढ्दा कमाइ नहुने र रुसी सेनामा राम्रै कमाइने भएकाले भर्ती भएको उनले परिवारलाई बताएका थिए । ‘हामीले त्यस्तो लडाइँ चलेको छ, खतरा छ भन्दा उसले बाहिर हल्ला भएजस्तो खतरा छैन, मेरो चिन्ता गर्नु पर्दैन भन्थ्यो,’ बुबा धनराजले भने, ‘पहिलो महिनाको तलब भनेर ३ लाख रुपैयाँ पठाएको थियो ।’

उनका अनुसार देवानको निधन भएको खबर रुसस्थित नेपाली दूतावासबाट परराष्ट्र मन्त्रालय हुँदै उदयपुरको लिङचुङबुङ गाउँपालिका–१ मा पुग्यो । वडाध्यक्षले देवानको निधनको खबर परिवारलाई दिए । छोराको निधनको खबर पाएपछि धनराज परराष्ट्र मन्त्रालय पुगे । छोराको शव ल्याइदिन निवेदन बुझाए । तर शव आउने/नआउनेबारे अझसम्म केही निधो पाएका छैनन् ।

‘नेपाली दूतावासमा फोन गर्दा श्रम स्वीकृति नभएकाले नेपालले खर्च गरेर ल्याउन नसक्ने, रुसले पनि पठाउने कुरै गरेको छैन भन्छ,’ उनले भने, ‘आफैं ल्याउने हो भने ७–८ लाख रुपैयाँ लाग्ने रहेछ । पठाउने बेला १० लाख रुपैयाँ ऋण गरेर पठाएको, अब कुन खर्चले शव ल्याउनु ?’

दूतावासले शव नलगे उतै सतगद् गरेर फोटो र अस्तु नेपाल पठाउने र त्यसका लागि एक महिना लाग्ने जानकारी मृतकको परिवारलाई गराएको छ । ल्याउने/नल्याउने निर्णय छिटो गर्न भनेको छ । ‘अन्धाधुन्ध छ, शोकमा छौं, हामीले ल्याउन नसक्ने भयौं,’ धनराजले भने, ‘छोरा त फर्किएन, अब शव फर्काइदिए हुन्थ्यो ।’

देवानले ३–४ महिनाको तलब १७–१८ लाख रुपैयाँ जम्मा भएको र अहिले निकाल्न नमिलेको बुबालाई सुनाएका थिए । उक्त रकम निकालेपछि घर पठाउने बताएका थिए । त्यो रकम पनि कसरी पाउने भन्नेमा धनराज अन्योलमा छन् । किरात सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राईले नेपाल सरकारले नै देवानको शव ल्याउन पहल गर्नुपर्ने बताए ।

प्रकाशित : मंसिर १९, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?