+
+

मेरो अमेरिका यात्रा– अस्थिपञ्जर छल्दै जंगलको बाटो

पानामाको जंगलमा यात्रा गर्दा ठाउँ–ठाउँमा मान्छेका अस्थिपञ्जरहरू भेटिन्छन् । ती अस्थिपञ्जर तिनै मान्छेका थिए, जो हिंड्न नसकेपछि उनका साथीहरूले छोडेर गएका थिए । साथीहरूले मलाई पनि छोडेर हिंडेका भए त्यहाँ अर्को अस्थिपञ्जर थपिनेथियो । 

हिमाल (परिवर्तित नाम), रुकुमपश्चिम हिमाल (परिवर्तित नाम), रुकुमपश्चिम
२०८० पुष ६ गते १०:२८

एजेन्टलाई ३० लाख रुपैयाँ बुझाएपछि अमेरिका जाने मेरो यात्रा तय भयो । अरू अमेरिका जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उड्छन् म भने नेपालगञ्जतिर लागें । त्यहाँबाट दिल्ली–मस्को–मेडिट–इकोटरसम्म जहाजमा पुगें । यो २०७७ साल चैततिरको कुरा हो ।

चलनचल्तीको भाषामा अमेरिका जाने तल्लो बाटोको खास यात्रा कोलम्बियाबाट सुरु भयो । त्यहाँबाट टर्बोदेखि कपुरगानासम्मको समुद्रको यात्रा थियो । डोंकर (स्पेनिस भाषामा एजेन्ट) ले हामीलाई मोटर भएको एउटा सानो डुंगामा खाँदेर समुद्रमा दौडायो ।

सुरक्षाकर्मीले देख्ने हुन् कि भन्ने डरले डुंगा वेगसँग कुदाइएको थियो । त्यो यात्रा हरेक किसिमले जोखिमपूर्ण थियो । समुद्रको छालले जतिबेला पनि पल्टाउन सक्थ्यो । सुरक्षाकर्मीले पक्राउ गरेर घर फर्काइदिन सक्थे । तेल सकिएर डुंगा बीचैमा फस्न सक्थ्यो ।

यसको अर्थ हाम्रो ज्यान जुनसुकै बेला पनि जोखिममा पर्न सक्थ्यो । डरले पनि होला हामीसँगै गएका साथीहरूले डुंगा भित्रै दिसा, पिसाब र उल्टी समेत गरे । ठाउँ आफैंमा साँघुरो, त्यसमा पनि दिसा, पिसाब गन्हाएर प्राण नै जाला जस्तो भयो । टर्बाेदेखि कपुरगानासम्मको यात्रा दुई घण्टा थियो, तर हामीलाई त्यहाँ पुग्न ६ घण्टा लाग्यो ।

डुंगाबाट झर्दा पनि उत्तिकै जोखिम हुन्छ । सुरक्षाकर्मीले पक्राउ गर्ने डरले डुंगाबाट हतार–हतार झर्न लगाइन्छ । त्यहाँ हाम फाल्दा ख्याल गरिएन भने चिप्लेर समुद्रमा खस्ने डर हुन्छ । समुद्रमा खसियो भने छालले तानेर लैजान्छ र ज्यानै लिन्छ ।

कपुरगाना त्यो ठाउँ हो, जहाँ नपुगी पानामा जंगल पुगिंदैन । पानामा जंगलपछि मात्रै अमेरिकाको वास्तविक यात्रामा निस्किन्छ ।

कुपरगाना पुगेपछि हामीले अर्को ‘डोंकर’ भेट्यौं । उसले हामीलाई पानामा जंगलतर्फ अघि बढायो । ठाउँ–ठाउँमा यस्ता ‘डोंकर’हरू हुन्छन्, उनीहरूको काम नै हामी जस्ता यात्रुहरूबाट पैसा लिने र निश्चित ठाउँसम्म पुर्याउने हुन्छ ।

पानामा जंगलको यात्रालाई मृत्यु–यात्रा पनि भनिन्छ । किनभने अमेरिका जान सबैभन्दा जोखिमपूर्ण ठाउँ मानिन्छ, यसलाई । धेरैजसो मान्छेको मृत्यु यही जंगलमा हुनेगर्छ । कोलम्बियादेखि यात्रा सुरु गर्दा ६० जनाको समूह पानामा जंगलसम्म आइपुग्दा २० जना थियौं ।

उनीहरूमध्ये कोही अर्को समूहमा बाँडिए, कोही छुट्टिए । केही चाहिं बाटोबाटै फर्किए होलान् । अरू कसैलाई केही भयो कि थाहा भएन । २० जनाको हाम्रो समूहमा पाँच जना नेपाली र बाँकी भारतीय, बंगाली र पाकिस्तानी थिए ।

ठाउँ–ठाउँमा लुटेराहरू बसेका हुन्छन् । यात्राको तेस्रो दिन हामी लुटेराको फेला पर्यौं । उनीहरूले हामीलाई सबै कपडा खोल्न लगाएर हात बाँधे ।

पानामा जंगल छिरेपछि साँच्चै नै डर लाग्छ । जंगल यति भयानक हुन्छ कि, हिंड्ने बाटो पनि हुँदैन । सुरक्षाकर्मीले पक्राउ गर्ने डरले दिउँसो हिंड्न पाइँदैन । लुक्दै राति–राति हिंड्नुपर्छ । त्यसरी हिंड्दा टर्च लाइट बाल्न पाइँदैन । डोंकरको पछि लाग्दै अन्धाधुन्द हिंड्नुपर्छ ।

पानी परेको परेकै गर्ने, हिलैहिलो, अनि चिस्यानै चिस्यान जमिन । कतै कतै त सिधा उभिएर हिंड्न पनि सकिंदैन । झार पन्छाउँदै, कुर्कुच्चाका भरमा हिंड्नुपर्छ । बाटो पनि धेरै भिरालै भिरालो । हिंड्दै जाँदा बीचमा थुप्रै नदीहरू तर्नुपर्ने हुन्छ । नदी तर्दा ख्याल गर्नुपर्छ, थोरै मात्रै पनि गल्ती भयो भने ज्यानै जान सक्छ ।

पानामा जंगल पार गर्न ३/४ दिन लाग्छ । तर बाटो बिराइयो र हिंड्न सकिएन भने चाहिं ८/९ दिनसम्म पनि लाग्छ । जति छिटो जंगल छिचोल्यो, उति बाँच्ने सम्भावना धेरै हुन्छ । किनभने यहाँ पाइला–पाइलामा मृत्युको डर हुन्छ ।

पानामाको घना जंगल ‘डोंकर’ को साथ विना छिचोल्न सम्भव हुँदैन । उनीहरूलाई पैसा दिंदै पछि लाग्दै अघि बढ्नुपर्छ । एक जना ‘डोंकर’ले एक ठाउँदेखि अर्को ठाउँ पुर्याएको प्रतिव्यक्ति २५ डलर लिन्छन् । जंगलको यात्राभरि ठाउँ–ठाउँमा डोंकरहरू फेर्दै जानुपर्छ ।

बाह्रै महिना पानी पर्ने भएकाले जमिन हिलैहिलो हुन्छ । रेनकोट र बुट नलगाई यात्रा गर्न सकिंदैन । ‘डोंकर’ ले जे गर भन्यो, त्यही गर्नुपर्छ । एक पटक हिंड्न सुरु गरेपछि उसको अनुमति विना रोकिन पाइँदैन । थाके, गले पनि उसले नभनेसम्म हिंडिरहनुपर्छ । बीचैमा रोकिए आफैं छुट्ने हो । एकपटक छुटियो भने फेरि भेट्न मुश्किल पर्छ ।

हामी ६ दिनसम्म जंगलमा हिंड्यौं । लगातारको हिंडाइपछि शरीर असाध्यै गल्दै जान्छ । आफैंले बोकेको झोला भारी लाग्न थाल्छ । झोलामा भएका सामानहरू फाल्दै जानुपर्छ । खुट्टा पूरै सुन्निएका हुन्छन् ।

जति–जति दिनहरू बित्दै जान्छन् खानेकुराहरू पनि सकिन थाल्छ । आधा पेट खाएर हिंड्नुपर्छ । कहिले त भोकै प्यासै हिंड्नुपर्छ । अवस्था यस्तोसम्म आउँछ कि पिउने पानी समेत हुँदैन । जंगलमा जमेको पानी, चाउचाउका खोलमा र पातहरूमा जमेको पानी खानुपर्ने हुन्छ ।

ठाउँ–ठाउँमा लुटेराहरू बसेका हुन्छन् । यात्राको तेस्रो दिन हामी लुटेराको फेला पर्यौं । उनीहरूले हामीलाई सबै कपडा खोल्न लगाएर हात बाँधे । खानतलासी गरे । हामीसँग दुई जना नेपाली र एक जना स्पेनिस महिला पनि थिए । उनीहरूलाई पनि कपडा खोल्न लगाए ।

ती लुटेराहरूले हाम्रो पैसा, मोबाइल र सामानहरू लगे । हामीले आँखा बन्द गर्ने बाहेक केही गर्न सकेनौं । ती महिला खूब रोए । पैसा लुकाएको छ कि भनेर सबै कपडा खोल्न लगाएर खानतलासी गर्दा रहेछन् । जंगलको यात्राभरि हामी तीन ठाउँमा लुटेराको फेला पर्यौं ।

लगातारको हिंडाइले आफैंले लगाएको कपडा पनि भारी लाग्न थाल्यो । जुत्ता भारी लाग्न थालेपछि म चप्पल लगाएर हिंड्न थालें । हिंड्दा हिंड्दा ठाउँ–ठाउँमा खुट्टा काटिएको थियो, काँडा बिझेर दुख्न थाल्यो । कीराहरूले खुट्टा खान थालिसकेका थिए । त्यति हुँदा पनि डोंकरले आराम गर्न दिएन ।

पाँचौं दिनमा पुग्दा म पूरै गलिसकेको थिएँ । दुई दिनदेखि केही खाएको थिएन । पानी पनि थिएन । खान केही नपाएर होला शरीर कमजोर भएको थियो । एक पाइला चाल्दा पनि ठूलै यद्ध जिते जस्तो लाग्थ्यो ।  भोक र पीडाले रन्थनिएर म हिंड्न नसक्ने भएँ । मेरो चेतना हराउँदै गयो । त्यसपछि लाग्यो, बाँच्नु यत्ति नै रहेछ ।

यहाँबाट बाँचेर फर्कन्छु भन्ने थिएन । यहीं मर्ने भएँ भनेर भित्रभित्रै रोएँ । देखिने गरी रुनलाई त मसँग ताकत पनि थिएन । त्यो बेला थाहा पाएँ रुन पनि तागत चाहिंदो रहेछ । बाँच्नु यति नै रहेछ भनेर घरपरिवार सम्झिएँ, श्रीमती सम्झिएँ, ६ वर्षको छोरा सम्झिएँ । भगवान सम्झिएँ । आँखा खोल्न पनि ताकत नभएपछि म त्यहीं ढलेछु ।

पानामाको जंगलमा यात्रा गर्दा ठाउँ–ठाउँमा मान्छेका अस्थिपञ्जरहरू भेटिन्छन् । त्यो देख्दा मन नै सिरिङ्ग हुन्छ । ती अस्थिपञ्जर तिनै मान्छेका थिए, जो हिंड्न नसकेपछि उनका साथीहरूले छोडेर गएका थिए । म पनि झण्डै त्यही अवस्थामा पुगेको थिएँ । मेरा साथीहरूले छोडेर गएको भए त्यहाँ अर्को अस्थिपञ्जर थपिने थियो ।

तर म भाग्यमानी रहेछु । मलाई मेरा साथीहरूले छोडेर गएनन् । यात्रामा ताप्लेजुङका राजेन्द्र राई भन्ने दाइ थिए । यात्राभरि उनले मेरो साथ छोडेनन् । उनले छोडेको भए म बाँचेर फर्किन्नथें ।

म ढलेपछि उनले नै सम्हालेछन् । दुई घण्टा पछि उनले पानी छम्किएर मलाई बिउँझाएछन् । थोरै होश आएपछि उनले मलाई सानो बिस्कुटको प्याकेट दिए । उनी भोकै थिए, तर मेरो लागि बिस्कुट खोजेर खान दिए ।

त्यो बिस्कुट खाएपछि मेरा आँखा खुले । रुन सक्ने जति आँट आएपछि उनलाई अँगालो हालेर धेरै बेरसम्म रोइरहें । सायद बाँचेर फर्कन्छु भन्ने आशा जागेर होला । उनले ‘तिमीलाई मर्न दिन्नँ भाइ’ भनेर सम्झाए ।

उनले सम्झाएपछि मभित्र आँट आयो । यतिकै मर्दिनँ भनेर भित्रैदेखि शक्ति बटुलें । त्यही दिन थाहा पाएँ जीवनमा सबैभन्दा ठूलो कुरा आत्मविश्वास रहेछ । आत्मविश्वास नै मान्छेको शक्ति रहेछ । त्यसपछि अरू चार घण्टा कसरी हिंडे भन्ने थाहै भएन ।

चार घण्टा पछि हामी एउटा क्याम्पमा पुग्यौं । जंगलमा ठाउँ–ठाउँमा हामी जस्तै आप्रवासीहरूका लागि क्याम्पहरू राखिएका हुँदारहेछन् । क्याम्पमा खान पाइयो । त्यसपछि शरीरमा ताकत फर्कियो । अब जसरी पनि अमेरिका पुगेरै छोड्छु भन्ने लाग्यो । क्याम्पबाट अरू एकदिन हिंडेपछि पानामा जंगल काट्यौं । अनि मैले मृत्यु जितें ।

त्यहाँबाट २० दिनपछि दक्षिण अमेरिकाका देशहरू होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका छिर्यौं । टेक्सासमा सुरक्षाकर्मीले पक्राउ गरेर डिटेन्सन क्याम्पमा राखे । तर, ८ महिनापछि मेरो शरणार्थी मुद्दा अस्वीकार गरिदियो र मलाई फिर्ता पठाइदियो ।

मृत्युको मुखबाट जोगिएर अमेरिका छिरेको थिएँ, तर त्यति गर्दा पनि त्यहाँ बस्न पाइनँ । मेरो सपना सबै टुट्यो ।

नेपाल फर्केपछि म डिप्रेसनमा गएँ । घर फर्किन पनि सकिनँ । मसँग अमेरिका जान नसकेर फर्केको पीडा मात्रै थिएन, ऋण पनि थियो । ऋण बढेर अहिले दोब्बर बढी भइसक्यो । जसरी पनि ऋण तिर्नुछ । यहाँको कमाइले ऋण तिर्न पुग्दैन । त्यसैले अहिले अर्को दलाल खोजेर विदेश जाने चक्करमा छु ।

(रुकुमपश्चिमका हिमाल (परिवर्तित नाम) कै आग्रहमा उनको परिचय गोप्य राखेका छौं । उनीसँग २०८० कात्तिक दोस्रो साता अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?