कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

रुसी सेनामा संलग्न करिब १०० जना नेपाली हराइरहेको र घाइते भएको उजुरी छ : परराष्ट्रमन्त्री

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताएका छन् । 

रुसी सेनामा संलग्न करिब १०० जना नेपाली हराइरहेको र घाइते भएको उजुरी छ : परराष्ट्रमन्त्री

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको बताए । 'रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्,' उनले भने, 'यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पुर्‍याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।'

रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ,' उनले भने ।

सरकारले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरिएको पनि साउदले जानकारी दिए । उनले दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको जानकारी दिए । उनले थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइएको बताए । सरकारले रुसी सेनामा नेपाली नागरिक सहभागी हुन नपाउन् भन्नका लागि सरकारले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको उनको भनाइ थियो ।

युक्रेनमा बन्दी बनाइएका नेपालीलाई नेपाल फर्काउन पहल भइरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । उनले भने, 'युक्रेनमा बन्दी बनाइकाका हकमा हामी युक्रेन सरकारको सम्पर्कमा छौँ । युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।'

त्यस्तै, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि सरकारले पहल गरिराखेको साउदले बताए । हमासले इजरायलमाथि आक्रमण गरेसँगै जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो। हमासले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ पढ्न गएका १० नेपाली विद्यार्थी मारिएका थिए भने जोशीलाई बन्धक बनाइएको थियो । 'विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु । अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ,' उनले भने ।

प्रकाशित : पुस १०, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?